१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कानुन सबैलाई समान : अदालत

काठमाडौं - संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

असोज १९ गते पक्राउ परेका महरालाई मंगलबार अदालत लगिएको थियो। उनलाई पक्राउ परेको दिनदेखि लागू हुनेगरी १३ दिन हिरासमा राख्न अनुमति दिइएको हो। महरा पक्राउ परेको १० दिन पुगेको छ। अदातलको अनुमति अनुसार अब बाँकी तीन दिनमा महरामाथि अनुसन्धान प्रहरीले टुंग्याउनुपर्ने छ। अनुसन्धान नसकिए फेरि म्याद थपका लागि उनलाई अदालतमा प्रस्तुत गरिने छ।

जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालले म्याद थप बहसमा अनुसन्धानका लागि थप समय दिने आदेश गरेका हुन्। ‘सबैलाई एउटै कानुन लागू हुने हुँदा समान व्यवहारले हेरिनुपर्ने’ न्यायाधीश दाहालको आदेश उद्धृत गर्दै जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने, ‘व्यक्तिको आधारमा मुद्दालाई हेर्न नहुने’ आदेशमा उल्लेख छ। बहस क्रममा महरा पक्षका कानुन व्यवसायीले ‘हाई प्रोफाइल’ को विषय उठाएकाले अदालतको आदेशमा सबैलाई कानुन समान हुने उल्लेख गरिएको हो।

महराको पक्षबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, अधिवक्ताहरू लक्ष्मी शर्मा देवकोटा, चन्द्र सापकोटा, मुरारी सापकोटालगायतले बहस गरेका थिए। बहस क्रममा कानुनव्यवसायीले अदालतको अनुमतिले २४ घण्टाभित्र अदालतमा पेस गर्नुपर्ने कानुनअनुसार नगरिएकाले महरालाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गरेका थिए।

उच्चपदस्थ व्यक्तिलाई गम्भीर खालको आरोप लगाइएको विषयमा पनि अनुसन्धानको क्रममा संवेदनशीलता नदेखिएको दाबी उनीहरूले गरेका थिए। गम्भीर विषयको अनुन्धानका सबै कुरा मिडियामा आउनु गोपनीयताको हकविरुद्ध भएको बहसको क्रममा कानुन व्यवसायीको दाबी थियो।

सरकारी वकिलले महरालाई अनुसन्धानका लागि १३ दिनको म्याद थप्नुपर्ने माग गरेका थिए। सरकारी वकिल उमाकान्त पौडेलले ‘महराको शारीरिक अस्वस्थाका कारण बयान गर्न नसकिएकाले म्याद थप्नुपर्ने’ माग बहसको क्रममा गरेका हुन्। अबको तीन दिनभित्र बयान सबै सकियो भने प्रहरीले अभियोगपत्र दर्ता गर्न सक्छ। बयान, अनुसन्धान नसकिएमा फेरि म्याद थप्नुपर्ने कानुनी व्यवस्था छ।

कानुन अनुसार आरोपितलाई तीन पटकसम्म अदालत उपस्थित गराएर म्याद थप्न सकिन्छ। अदालतले तेस्रो पटकसम्म २५ दिन अनुसन्धानका लागि म्याद थप्दै अनुमति दिनसक्ने व्यवस्था छ।

दसैं बिदापछि पहिलो दिन मंगलबार खुलेको काठमाडौं जिल्ला अदालतमा कडा सुरक्षा प्रबन्ध र निकै भीडभाड देखिन्थ्यो। खैरो रङको टिसर्ट र पाइन्टमा रहेका महरालाई नर्भिक अस्पतालबाट काठमाडौं जिल्ला अदालत लगिएको थियो। हतकडी नलगाई महरालाई अदालतमा उपस्थित गराइएको थियो। भागेर जाने सम्भावना नभएकाले हत्कडी लगाउन जरुरी नहुने अदालतले जनाएको छ। अदालत परिसर वरिपरि प्रहरीको उपस्थिति बाक्लो थियो।

यौन दुव्र्यवहारको आरोप लागेपछि महराले असोज १३ गते सभामुखबाट राजीनामा दिएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि पक्राउ परेको तीन दिनमा महरालाई नर्भिक अस्पताल भर्ना गरिएको हो। संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले असोज १२ मा महराले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन्। महरामाथि यस्तो आरोप लागेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले सांसद सदस्य र सभामुख पदबाट राजीनामा दिन भनेको थियो।

प्रकाशित: २९ आश्विन २०७६ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App