१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

म रेकर्डको पछि होइन रेकर्ड मेरो पछाडि दौडिन्छः रोनाल्डो

काठमाडौं– युभेन्टसका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफू रेकर्ड (कीर्तिमान)को दौडमा नरहेको स्पष्ट पारेका छन्। रेकर्डले आफूलाई पछ्याउँदै आएको उनको भनाई छ। 

आफ्नो देश पोर्चुगलको राष्ट्रिय टिमबाट युक्रेनविरुद्ध गोल गर्दै करियरमा ७ सय गोल पुरा गरेपछि रोनाल्डोले भने, ‘रेकर्ड स्वभाविक रुपमा आउँछ। म रेकर्डको पछाडि दौडिन्न। रेकर्डले मलाई पछ्याउँछ।’ ९८७ खेलबाट ७ सय गोल पुरा गरेर कीर्तिमान कायम गरेका रोनाल्डोको सोमबार राती युक्रेनविरुद्धको १ गोल राष्ट्रिय टिमबाट ९५ औं गोल हो।

रोनाल्डोले ७ सय गोलको संख्या कसैसँग प्रतिस्पर्धा नभएको स्पष्ट पार्दै आफूलाई सफल खेलाडी बन्न सहयोग गर्ने टिमका सदस्य, सहकर्मी, प्रशिक्षकलाई धन्यवाद समेत दिए। 

यद्यपि रोनाल्डाले आफ्नो कीर्तिमान भए पनि टिम हारेकोमा दुःख व्यक्त गरे। सोमबार रातीको खेलमा पोर्चुगल युक्रेनसँग २–१ गते पराजित भएको थियो। ‘कीर्तिमान बन्नु मेरो करियरको एक उत्कृष्ट क्षण हो। तर त्यहाँ कडा स्वाद पनि थियो, किनभने हामीले जित्न सकेनौं’, उनले भने, ‘हामीले राम्रो खेलेका छौं। तर, जित्न सकेनौं। हामीले सकेजति सबै गर्यौं। हामीसँग प्रशस्त अवसरहरु थिए।’ 

७ सय गोल पुरा गर्ने रोनाल्डो छैठौं खेलाडी हुन्। यसअघि पेलेसहित ५ खेलाडीले ७ सय गोलको आँकडा पार गरेका छन्। यसमा जोसेफ विकनले त ५३० खेलबाट ८०५ गोलको कीर्तिमान कायम गरेका छन्। उनले सन् १९३१ देखि १९५५ सम्मको अवधिमा यो रेकर्ड कायम गरेका हुन्। उनको यो कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन। 

रोनाल्डोका प्रतिद्वन्द्वीका रुपमा हेरिएका लियोनल मेस्सीको भने ८५५ खेलबाट ६७८ गोल पुगेको छ।

प्रकाशित: २८ आश्विन २०७६ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App