१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संशोधनमा प्रस्तावमा राप्रपाको पूर्ण समर्थन: राणा

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन्। सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय अध्यक्ष राणाले मधेशको मुद्दा सम्बोधन गर्नकालागि पनि संविधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै सरकारले ल्याउन लागेको संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका हुन्।

उनले संशोधन प्रस्तावमा धेरै भन्दा धेरै दलहरुको सहमति जुटाउनकालागि केही ढिलाई भएपनि प्रस्ताव चाँडै दर्ता हुने विश्वास व्यक्त गरे। राष्ट्रिय अध्यक्ष राणाले ४ वटा महत्वपूर्ण विषयमा संशोधन हुन गैरहेको उल्लेख गरे। उनका अनुसार प्रदेशको सीमांकनमा सहमतिको आधारमा संशोधन गर्ने, भाषाको विवाद समाधानकालागि अहिलेभन्दा केही फराकिलो बनाउने, माथिल्लो सदनमा जनसंख्याको आधारमा र नागरिकताको सवालमा अंगीकृतलाई संवैधानिक पदबाहेक अरुमा स्थान दिने गरी संशोधनको तयारी भैरहेको छ।

उनले आफ्नो पार्टीले हिन्दूराष्ट्रकालागि जनमतसंग्रह गर्नुपर्छ भन्ने माग अघि सारिरहेको भएपनि अहिलेको संविधान संशोधनमा यो विषयमा कुनै कुरा नहुने स्पष्ट पारे। उनले थपे, ‘अहिले हामी संसदमा थोरै संख्यामा छौं, पास नहुने संशोधन हामी हाल्दैनौं, हिन्दुत्वको लागि हामी जनमतसंग्रहका लागि संघर्ष गरिरहेका छौं, यसको पक्षमा व्यापक जनमत बनिरहेको छ।’

राणाले हिन्दुराष्ट्रको पक्षमा ठूला पार्टीमा पनि व्यापक बहस भैरहेको जिकिर गरे। राष्ट्रिय अध्यक्ष राणाले अहिले राप्रपा सरकारमा भएकोले राप्रपा नेपालसँगको एकतापछि आफ्नो पार्टीको संख्या वृद्धि भएकाले सरकारमा रहेको पार्टीको प्रतिनिधित्व केही फराकिलो हुने दाबी गरे ।

प्रकाशित: १३ मंसिर २०७३ ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App