१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धादिङमा प्राविधिक शिक्षालय

नवनिर्मित शिक्षालयको उद्घाटन गर्दै प्रदेश ३ मुख्यमन्त्री डोरमणि पौडेल र जर्मन उपमन्त्री नोर्बर्ट बार्थ। तस्बिरः सरिता/नागरिक

धादिङ - धुनीबेसी नगरपालिका–५ ढकालखोलामा जर्मन प्राविधिक शिक्षालय निर्माण गरिएको छ। शेषकान्त फाउन्डेसनले जर्मन एनजीओ जुकुन्फट फर नेपाल अस्टुर्टेम्बर्ग (जेटएफएन) सँगको सहयोगमा टेक्निकल र भोकेसनल शिक्षा दिने उद्देश्यले सो शिक्षालय निर्माण गरेको हो। जर्मन टेक्निकल स्कुल (जीटीएस) पूर्ण प्रविधियुक्त संस्था हो।

शिक्षालयको मेटल वर्कसप हल जर्मन आर्थिक सहयोग र विकास मन्त्रालयको डेभलप डी कार्यक्रमअन्तर्गत वित्तीय सहयोगमा निर्माण भएको हो। त्यसमा जर्मन प्रविधि कम्पनी भोइट्थले पनि सघाएको छ। शिक्षालयमा बेसिक ३ महिने कोर्स पढाइनेछ। त्यसपछि बिस्तारै ३ वर्षे डिप्लोमा कोर्स पनि सञ्चालन गर्ने कार्यक्रम रहेको शेषकान्त फाउन्डेसनका सचिव ऋषिराम ढकालले बताए।

‘धेरै युवा प्राविधिक शिक्षा पढ्न विदेश धाउने गरेका छन्, अब नेपालमै यस्ता प्राविधिक शिक्षालय स्थापना भएका छन्,’ उनले भने, ‘ऊर्जा क्षेत्रमा आवश्यक व्यावसायिक र दक्ष जनशक्ति उत्पादन गर्ने अपेक्षा लिएका छौं।’ शिक्षालयले नेपाली युवालाई व्यावसायिक तालिम दिन कोसेढुंगा साबित हुने उनले बताए।

जर्मन उपमन्त्री नोर्बर्ट बार्थले नेपालमा जलस्रोतको उपयोग गरी ऊर्जा क्षेत्रमा उन्नति गर्न सकिने वातावरण भए पनि अझै अन्धकारमा बस्नुपर्ने परिस्थितिप्रति दुःख व्यक्त गर्दै यो अवसरलाई सदुपयोग गर्न आग्रह गरे।

जर्मनका उद्योग तथा व्यवसायका क्षेत्रमा उपयोगी मानिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टिभिइटी) लाई नेपालमा पहिलोपटक भित्र्याउने लक्ष्यका साथ जर्मन प्राविधिक शिक्षालयको स्थापना गरिएको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट पहिलो चरणमा छोटो अवधिका तालिम सञ्चालनका लागि सम्बन्धन लिएको छ। छोटो अवधिका तालिमपछि फाउन्डेसनले छिट्टै नै लामो अवधिका तालिमसमेत सञ्चालन गर्ने लक्ष्य राखेको छ।

कुल १९ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने प्राविधिक शिक्षालयमा तत्कालका लागि प्राविधिक सामान र पढ्ने कक्षा निर्माण गरिएको छ। होस्टेल, क्यान्टिङ र भूकम्पअघि भत्किएको विद्यालय भवन निर्माण धमाधम भइरहेको छ। विभिन्न चुनौतीका बाबजुत पनि विद्यार्थीको रोजाइअनुसार विद्यालयले प्राप्त गरेका कोटामा राम्रो पठनपाठन हुने अपेक्षा शिक्षालयले लिएको छ। फाउन्डेसनका सचिव ढकालले शिक्षालयमा २० जनाको कोटा रहेको जानकारी दिए।

शिक्षालय सुरुवातसँगै छोटो अवधिको सहायक वेल्डरको कक्षा सञ्चालनमा आइसकेको छ भने डिप्लोमा तहको इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स तथा हाइड्रोपावर मेन्टेनेन्स तालिम सञ्चालन गर्ने लक्ष्य शिक्षालयले लिएको छ। फाउन्डेसनले युवा लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको सचिव ढकालले बताए।

जर्मन उपमन्त्री नोर्बर्ट बार्थले नेपालको प्राविधिक शिक्षामा जर्मन सरकारको तर्फबाट सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। जलस्रोतको उपयोग गरी ऊर्जा क्षेत्रमा उन्नति गर्न सकिने वातावरण भएर पनि नेपाल अझै अन्धकारमा बस्नुपर्ने परिस्थितिप्रति दुःख व्यक्त गर्दै यो अवसरलाई सदुपयोग गर्न आग्रह गरे। ऊर्जा क्षेत्रमा आवश्यक व्यावसायिक र दक्ष जनशक्ति उत्पादनमा योगदान पुग्ने विश्वास गरिएको छ।

सो शिक्षालयको एक कार्यक्रमबीच प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र जर्मन उपमन्त्री नोर्बर्ट बार्थले संयुक्त रूपमा उद्घाटन गरेका थिए। प्रत्येक स्थानीय तहमा एउटा प्राविधिक शिक्षालय सञ्चालनका लागि सरकारले पनि कदम चालिरहेको मुख्यमन्त्री पौडेलले बताए।

प्रकाशित: २८ आश्विन २०७६ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App