१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्वदेशमा उत्पादन बढ्दा फूल आयातमा कमी

काठमाडौं – विगत वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको मात्रामा कमी आउने भएको छ। पछिल्लो समय व्यावसायिक रूपमा फूलखेती गर्नेको संख्या बढेको र यस वर्ष ठीक समयमै तिहार परेकाले आयात गरिने फूलको मात्रामा कमी आउने भएको हो। गत वर्ष भारतबाट ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो।

यस वर्षको तिहारका लागि कति फूल ल्याउने भन्ने यकिन नभए पनि खपत हुने फूलको बढीमा सात प्रतिशत मात्रै आयात गरिनने फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ। गत वर्ष १७ लाख माला खपत भएको थियो।

सोमध्ये २० प्रतिशत भारतबाट ल्याइएको हो। बाँकी  स्वदेशी उत्पादन हो। तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ। यस वर्ष पनि गत वर्षकै हाराहारीमा माला खपत हुने एसोसिएसनको अनुमान छ।

व्यावसायिक फूलखेती गर्नेको संख्या बढेकाले हरेक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरेको एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए। फूल उत्पादन बढेसँगै उपभोक्ताको माग पनि बढेको छ। यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य ६० देखि ७० सम्म तिर्नुपर्ने देखिन्छ।

स्वदेश र विदेशमा गरी वार्षिक रूपमा एक अर्ब ८५ करोडको फूलको कारोवार हुँदा तिहारमा मात्रै एक करोड फूलको कारोबार हुन्छ। तिहार आउनुभन्दा एक साताअघिबाट मात्रै फूल आयात सुरु गरिन्छ।

६० प्रतिशत माला उपत्यकामा खपत  
चाडबाड र अन्य समयमा पनि काठमाडौं उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको छ। तिहार र अन्य मौसममा गरी ११ करोड बराबरको फूल वार्षिक रूपमा विदेशबाट आयात गरिँदै आएको छ। मुख्य गरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ।

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ। अष्ट्रेलिया र मलेसियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए।

विशेष गरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ। व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल नेपालमा उत्पादन हुन्छ। यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष लाभ लिएका छन्। नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले यसको व्यावसायिक खेती गरिरहेका छन्। 

नेपालमा २००७ सालदेखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ। फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६ सय ७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ।रासस

प्रकाशित: २८ आश्विन २०७६ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App