पूर्वीय दर्शन र सार्वजनिक जीवन

सोमबार, १३ मङि्सर २०७३, ११ : ४३ गोपीनाथ मैनाली

चेतना, विवेक, शीरस्वभावका कारण नै मानिस प्राणीभन्दा उच्च मानिएको हो। मानव सभ्यता र प्रगतिको आजसम्मको उपलव्धि यही चेतना र विवेकका कारण सम्भव भएको हो। मानवीय चेतना र विवेकले मानव मूल्य वा आदर्श स्थापना गर्छ जुन सामाजिक आवश्यकता र अपेक्षा पूरा गर्न आवश्यक मानिन्छ। मानिसलाई नैतिक साहस र आन्तरिक शक्ति दिने गुणका रूपमा मानव मूल्य रहने गर्छ्, जसलाई सम्झौता गरेर मानव 'मानव' बन्न सक्तैन। मानव मूल्यले प्रत्येकलाई प्रत्येकप्रति जिम्मेवार, सहिष्णु, विवेकी, सद्भावी, संयमी, हार्दिक बन्न प्रेरित गर्छ, यसका लागि आन्तरिक शक्ति दिन्छ। मानव मूल्यको केन्द्रविन्दुमा जीवन, प्रेम र खुसी रहन्छ। यसले सम्बन्ध, सुविधा, विश्वास र व्यवहारलाई सकारात्मक बनाउने गर्छ। यो मानवता सम्वर्द्धनका लागि अनुभूति अनि आधार पनि हो।

मानव मूल्य सबैका लागि समान हुन्छन्। परिवेश, पृष्ठभूमि, राष्ट्रियता,, संस्कृति, भाषा, धर्म र वैयक्तिक स्तरभन्दा यो माथि हुन्छ र सबैमा समान अर्थवत्ता राख्छ, सबैबाट समानरूपमा धारण गरिन्छ। अर्को अर्थमा यसले सबैका लागि समान सामाजिक मानकका रूपमा काम गर्छन्। जस्तो कि सत्य, अहिंसा, प्रेम, आदर, विनम्रता, इमानदारी, निष्ठा, न्याय, संयम, साथित्व, समझदारी, माया, दया, शान्ति, स्वतन्त्रता आदि। 

समकालीन विश्वमा मानव मूल्यको महत्व झनै बढ्दै गएको छ किनकि यसको परिपालन सामाजिक अपेक्षाअनुसार भएको छैन।

मानव मूल्यकै जगमा सङ्गठन र पेशागत आचरण स्थापित गरिन्छन्। सार्वजनिक जीवन अवलम्वन गर्ने व्यक्तिका लागि मानव मूल्यका आधारमा नै साङ्गठनिक र पेशागत मूल्य कायम गरिएका हुन्छन्। प्रत्येक व्यवस्थापक वा पदाधिकारीको उद्देश्य संगठनको मूल्यलाई उसको कार्यव्यवहारमार्फत संस्थागत गर्नु हो। यसले सांगठनिक विश्वास, साझा मान्यता र कार्यसंस्कृति निर्माणमा सहयोग पुर्‍याउँछ। सार्वजनिक व्यवहारमा यस कारण यो महत्वपूर्ण हुन्छ कि यसले सार्वजनिक व्यवहारमा सम्झौता गर्न नसकिने मानक स्थापना गर्छ। यो आन्तरिक मान्यता र आदर्शका रूपमा रहन्छ। जस्तो कि उत्साह, आदर, जिम्मेवारी, विश्वास, आत्मअनुशासन र निष्पक्षता।

सवल मूल्य प्रणालीले कार्य मापदण्डका रूपमा पनि काम गर्छ। संगठनहरुका साझा मूल्य समान रहे पनि कतिपय मूल्य आदर्श भने संगठनपिच्छे फरक हुन सक्छ्, उद्देश्य र कार्यप्रणालीअनुसार हुने गर्छ। जस्तो कि लोक सेवा आयोगको प्रमुख मूल्य निष्पक्षता, वस्तुपरकता र वैधता हो जसका आधारमा योग्यता प्रणाली संस्थागत भएको हुन्छ। तर नेपाल विद्युत् प्राधिकरणको वा दूरसञ्चार प्राधिकरण जस्ता सार्वजनिक उपयोगिता प्रदायक निकायको मूल्य ग्राहक सेवा, शीघ्रता र मूल्य सार्थकता हो। व्यापारिक कम्पनी म्याक डोनल्डले आफ्नो मूल्यलाई स्तरीयता, सेवा, सफाइ र सन्तुष्टि भनी घोषणा गरेको छ। यी मूल्य नै संगठन बाँच्ने र पहिचानका आधार पनि हुन्। किनकि यसैले कार्यसम्पादन स्तर, मितव्ययिता, ग्राहक व्यवहार, कार्यवातावरण र समस्त कार्यप्रणाली निर्धारण गर्छ। यो नै कार्यसंस्कृति निर्माणको आधार हो। यसले स्रोत, साधन र शक्ति अभ्यासलाई पनि मार्गदर्शन गर्छ र निर्णयका आधारका रूपमा पनि काम गर्छ। त्यसैले आधुनिक संगठनहरु कसरी आफूलाई मूल्यवोधी बनाउने भन्ने चापमा छन्। राज्य बहुउद्देश्यीय, आमनागरिकको विश्वासको अन्तिम धरोहर र नैतिक संस्था पनि भएकाले यसलाई मूल्यबोधी बनाउने आवश्यकता अरुभन्दा बढी नै रहन्छ। सर्वसाधारणका प्रगति र हितरक्षाका लागि घोषणा गरिएका नीति (जो राज्यइच्छा कहलाइन्छन्) मूल्य संस्थागत गर्ने संरचना हुन् भने सार्वजनिक जिम्मेवारी बोक्ने व्यक्ति त्यसका पार्टपुर्जा।

महान् चिन्तक, दार्शनिक र सुधारकका व्यवहार, सिद्धान्त र निष्कर्षले मानव मूल्यलाई विस्तृतीकरण, व्याख्या र संस्थागत बनाउन योगदान पुग्ने गर्छ। महानता त्यत्तिकै प्राप्त हुने उपलब्धि होइन, आधारभूत मानव मूल्य अवलम्बनका कारण नै व्यक्ति महान् बन्छ, त्यसलाई अवलम्बन गर्न नसक्दा ऊ नीच बन्छ। प्राचीन तथा पौराणिक कालदेखि आजसम्मको मानव सभ्यताको इतिहास नियाल्ने हो भने महानता आधारभूत मानव मूल्यको अवलम्बनबाट नै प्राप्त भएको देखिन्छ। सामाजिक अभियन्ता तथा सुधारकहरु पनि यिनै आधारभूत मानव मूल्यलाई व्यावहारिक जीवनमा उतार्ने सरल मार्ग पहिचानमा रहेका देखिन्छन्। प्रशासक एवम् राजनेताहरु यसलाई सार्वजनिक जीवनमा संस्थागत गनर्ेे संरचना र प्रणाली बसाउने अभियानमा रहन्छन्। यस्ता चिन्तक र सुधारकका व्यवहार र कार्यशैली समाजका लागि असल अभ्यास पनि बन्ने गर्छ।

पूर्वीय दार्शन र नीति मानव सभ्यता, सामाजिक व्यवस्था र राज्य प्रणालीलाई मार्गदर्शन गर्ने आदर्श आधार हो तर पश्चात्य जस्तो प्रचारमा यो छैन। पूर्वीय दर्शन हिन्दु नीतिव्यवस्था (हिन्दु गभर्नेन्स) मा आधारित छ। अर्को अर्थमा यो पुराणमा आधारित सामाजिक व्यवस्था हो जो धर्म, संस्कृति, जातीयता, वर्ण परम्परा, आदरभाव, कर्तव्य र नैतिकतालाई जोड दिन्छ। हिन्दु शास्त्रव्यवस्थाको उल्लेख संस्कृत साहित्य, जस्तो कि वेद, पुराण, गीता, रामायण, प्राचीन स्मृति तथा श्रुति हुन्। मर्यादा पुरुष भगवान रामका सद्व्यवहार र अभिव्यक्तिलाई पूर्वीय परम्परामा आदर्शका रूपमा लिइन्छ। श्रीकृष्णले गीतामा दिएका उपदेशले समाज, राज्य, परिवार, सम्बन्ध, संगठन र अर्थतन्त्र सञ्चालनमा मार्गदर्शन गर्छ। उनले भनेका थिए– 'ठूलाका वाणी नीति बन्छ।' यसको मतलव ठूला व्यक्तिहरु स्वभावैले समाज व्यवस्थालाई प्रभाव पार्ने हैसियतमा हुन्छन् र उसको अभिव्यक्तिले समाजको प्रतिनिधित्व गर्नुपर्छ भन्ने हो। गीतामार्फत भगवानले शास्त्र (नीति), कर्म (काम) र धर्म (आचरण) लाई महत्व दिएका थिए जो  मानव समाजका आधारमूल्य हुन्। गीताका वाणीहरु सर्वकालीन छन्।

कर्मण्येबाधिकारस्ते मा फलेसु कदाचन

मा कर्मफलहेतुर्भुमा ते सङ्सोक्स्वकर्मणि। (अध्याय २, श्लेाक ४७)

मानिसको कर्म गर्नैमात्र अधिकार छ, के प्राप्त गरिन्छ भन्ने आशा गरेर काम गर्नुहुन्न। कर्म नगरे सिद्धि प्राप्त हुँदैन तर आशक्तिमा लिप्त भएर काम गर्नुहँुदैन। आधुनिक संगठन विज्ञानमा कामप्रतिको निष्ठा र समर्पणको स्रोत गीताका श्लोक हुन्। अर्को प्रसंगमा भगवानले भनेका थिए– इन्द्रियहरु शरीरभन्दा बलवान हुन्छन्। इन्द्रियभन्दा मन बलवान हुन्छ, मनभन्दा बुद्धि बलवान हुन्छ, फेरि बुद्धिभन्दा पनि अत्यन्त बलवान आत्मा हो। त्यसैले आत्मिक अनुशासन सबैभन्दा ठूलो आचरण हो र सार्वजनिक जीवनमा यो अझै महत्वपूर्ण हुन्छ।

एशियाका ज्योति गौतम बुद्ध अहिंसा र सत्कर्म शिक्षाका अद्वितीय दार्शनिक, साधक र सिद्धात्मा हुन्। उनले मानव समाजका लागिमात्र अहिंसा सिद्धान्त प्रतिपादन गरेनन्, समस्त प्राणीका पुजारी बने। चार सत्य, अष्ठ मार्ग, पञ्चशील बुद्ध दर्शनका निष्कर्ष हुन्। खराब नगर्नु, सत्य गर्नु, मन स्वच्छ राख्नु बुद्ध वाणी हो जसले मानव सभ्यता सम्बर्द्धन गर्न बल दिन्छ। गौतम बुद्धका अनुसार यदि वाणी सही र दयालु छ भने यसले विश्व बदल्न सक्छ। आफ्नो दियो (प्रकाश) आफैँ बन्नुपर्छ। बुद्ध दया, सत्य र अहिंसाका प्रचारक र प्रयोक्ता पनि बने। त्यसैले बुद्धवाणीहरु दया र सत्यका खानी हुन्, ती व्यावहारिकमात्र होइनन्, शाश्वत पनि छन्।

पूर्वीय नीतिशास्त्रका प्रकाण्ड विद्वत् व्यक्तित्व चाणक्य पूर्वीय राज्यदर्शनका स्रोत हुन्। कार्यक्षेत्रअनुसार नाम र पहिचान भएका विष्णु गुप्तलाई आर्थिक दर्शनमा कौटिल्य, नीतिशास्त्रमा चाणक्य र न्याय अनि कामशास्त्रमा वात्सायन भनेर पनि चिनिन्छन्। प्राचीन तक्षशीलाका अर्थशास्त्रका मेघावी प्राध्यापक र मगध सम्राट चन्द्रगुप्त मौर्यका महामन्त्री चाणक्य शास्त्रशक्ति र शस्त्रशक्तिलाई राज्यकौशल मान्थे, असम्भव भन्ने शब्दलाई कातरको शब्द मान्थे अनि वीर र बुद्धिमानले आफ्नो मार्ग आफैँ बनाउँछ भन्ने मान्यता राख्थे। उनका विचार र दर्शनबाट आधुनिक संगठन र समाजले थुप्रै कुरा सिक्न सक्छ। जस्तो कि खास पदहरुमा त्यस्ता मानिसलाई नियुक्त गर्नुपर्छ जसले राजकीय कार्यहरु विशेष योग्यतापूर्वक सम्पन्न गर्न सक्तछ। त्यस्तै 'कुनै पनि पुरुषको सामर्थ्यको स्थिति उसका कार्यको सफलतामाथि निर्भर गर्छ अनि उसको त्यो कार्यक्षमता उनको विद्याबुद्धिका बलमा मापन गर्न सकिन्छ।' 'नियुक्त गर्नुभन्दा पहिला राजाले उनीहरुको प्रामाणिकता, सत्यवादिता जाँच्नुपर्छ।' 'जुन मानिस सन्तुष्ट छन्, तिनीहरुलाई अरु धन, मान आदिले सत्कार गरिरहनुपर्छ तर असन्तुष्ट व्यक्तिहरुलाई साम, दान, दण्ड र भेद जस्ता जुन नीति अपनाउँदा काम बन्न सजिलो हुन्छ, तिनैलाई प्र्रयोग गर्दै आफ्ना नियन्त्रणमा राख्नुपर्छ।' यसर्थ आचार्य कौटिल्यका नीति सूत्रहरु आज पनि व्यवस्थापनका हरेक क्षेत्रमा उपयोग गर्न सकिन्छ।

त्यस्तै सत्य, अहिंसा र सदाचारिताका पुजाारी मोहनदास कर्मचन्द गान्धी आफ्ना महान् मानवतावादी कार्यका कारण महात्मा गान्धी बन्न पुगे। पूर्वीय दर्शन र बुद्ध आदर्शका अनुयायी गान्धीले आत्मिक र नैतिक मूल्य आचरण, सत्य, निष्ठा, संयमता र स्वतन्त्रताका लागि जीवन उत्सर्ग गरे। उनले स्थापित गरेका कतिपय कुरामध्ये जीवनका सात पाप (क) कर्मविनाको सम्पत्ति (ख) चरित्रविनाको ज्ञान (ग) नैतिकताबिनाको व्यापार (घ) मानवताबिनाको विज्ञान (ङ) सिद्धान्तबिनाको राजनीति (च) मानवताबिनाको धर्म र (ज) विवेकबिनाको सुखलाई प्रमुखरूपमा लिन सकिन्छ, जसले जीवन व्यवस्थाका सबै पक्षलाई मार्गदर्शन गर्छ। गान्धीका अनुसार चरित्रबिनाको ज्ञान खराबीको शक्ति बन्न जान्छ, चरित्रको शुद्धि नै सारा ज्ञानको ध्येय हुनुपर्छ। गान्धीको जीवन दर्शनबाट सरल र क्रियाशील जीवन, निस्वार्थता, उदाहरणीयता, साद्गीपना, क्षमाशीलता, लगन जस्ता पक्षहरु जो कुनैले सिक्न सक्छ, जुन वैयक्तिक जीवन र कतिपय सार्वजनिक व्यवहारमा आवश्यक मानिन्छन्।

उल्लिखितबाहेक पनि थुप्रै विचारक, व्यवहारवादी र दार्शनिकहरु जस्तो कि दयानन्द सरस्वती, विआर अम्वेदकर, मदर टेरेसा, जवाहरलाल नेहरु, स्वामी विवेकानन्द, आचार्य परमहंश स्वामी, रवीन्द्रनाथ टैगोर, पृथ्वीनारायण शाह, बिपी कोइराला, दलाई लामालगायत असंख्य चिन्तकका विचार, आदर्श र मान्यताले सामाजिक व्यवहारलाई सोअनुरूप निर्दिष्ट हुन प्रोेत्साहित गरिरहेको छ। उनीहरुका वाणी, विचार र व्यवहारको अनुकरणबाट सार्वजनिक जीवनलाई स्वच्छ, नैतिक र कार्यनिष्ठ बनाउन सकिन्छ। हाम्रो संविधानले अति विशष्ठि पदहरुका लागि 'उच्च नैतिक चरित्र' लाई योग्यताका रूपमा लिएको छ। आजभोलि भन्ने गरिएको सुशासन पूर्वीय शास्त्रोक्तमा भनिएको 'रामराज्य' नै हो। समकालीन विश्वमा मानव मूल्यको महत्व झनै बढ्दै गएको छ किनकि यसको परिपालन सामाजिक अपेक्षाअनुसार भएको छैन।







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad