१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

व्यावसायिक घाँस खेती फस्टाउँदै

परासी– पश्चिम नवलपरासीमा व्यावसायिक घाँस खेती फस्टाउँदै गएको छ। सामुदायिक वन क्षेत्रमा महिला समूहले व्यावसायिक रुपमा घाँस खेती गर्दै आएका छन्।

पछिल्लो समय पशुपालन र दुग्ध व्यवसाय बढ्दै गएपछि पोसिलो घाँसको माग बढ्दो छ। घाँसको माग बढ्दै गएपछि यहाँका महिला तथा कृषकहरु घाँस खेतीमा आकर्षित भएका हुन्। उनीहरुले घाँस बिक्री गरेर राम्रो आम्दानी पनि गरिरहेका छन्।

जिल्लाको सुनवल नगरपालिका–३ स्थित कीर्तिपुरका महिलाहरुले स्थानीय जनउदय सामुदायिक वन क्षेत्रभित्रको खाली जग्गामा सामूहिक घाँस खेती गरेर राम्रो आम्दानी गरिरहेका छन्।

सशक्ति महिला समूहमा आबद्ध चालीस महिलाले विगत दुई वर्षदेखि १५ बिघा क्षेत्रफलमा विभिन्न जातका घाँस खेती गरिरहेको समूहका अध्यक्ष होमकुमारी गुरुङले बताइन्।

‘घाँस खोज्न टाढाटाढा जङ्गलमा जानुपर्ने बाध्यता थियो, वन उपभोक्ता समूहका पदाधिकारीले हामीलाई बीउ उपलब्ध गराएर घाँस खेती गर्न प्रोत्साहन गर्नुभयो, अहिले हामीलाई घाँस लिन सजिलो भएको छ, घाँस बेचेर आम्दानी पनि गरिरहेका छौँ’, उनले भनिन्।

जनउदय सामुदायिक वन उपभोक्ता समूहले पाँच वर्षका लागि कबुलियतीमा महिलाहरुलाई उक्त क्षेत्र घाँस खेतीका लागि उपलब्ध गराएको हो।

बहुवर्षीय घाँससहित बकाइनो, स्टाइलो, नेपिएर, डाले लगायतका उन्नत र पोसिलो जातका घाँस खेती गर्ने गरिएको समूहका सचिव जुनी सेनले बइन्।  व्यावसायिक रुपमा घाँस खेती गर्न थालेपछि पशुपालन गर्ने कृषकको सङ्ख्या पनि बढ्दै गएको छ। 

पशु उन्नत जातको र धेरै उत्पादन दिने खालको भए पनि उपयुक्त पोषण तत्वको अभावमा  राम्रो उत्पादन लिन नसकिने भएकाले पशुका लागि घाँस निकै उपयोगी हुने पशु चिकित्सक बताउँछन्।

आहाराबाट प्राप्त पौष्टिक तत्वहरुबाट नै पशुले उत्पादन गर्ने भएकाले पशुपालनमा सबैभन्दा ध्यान पुर्याउनुपर्ने कुरा पशु आहारा नै रहने र सबैभन्दा राम्रो पौष्टिक तत्व घाँस नै हुने पशु स्वास्थ्य प्राविधिक विमल ढकाल बताए।

महिलाले सामूहिक घाँस खेती गरेर वन संरक्षण, आम्दानी तथा रोजगारीको अवसर पाउनाका साथै महिलामा सशक्तिकरण पनि बढेको उनले बताइन्। 

घाँस खेतीमा पनि आत्मनिर्भर बनेको नवलपरासीमा वार्षिक २५० मेट्रिक टन घाँस उत्पादन हुने गरेको छ। नवलपरासीमा बहुवर्षीय र मौसमी खालका घाँस उत्पादन हुने गर्दछ।

नवलपरासीमा सामुदायिक वनमा साढे चार हजार हेक्टरमा र मौसमी घाँस खेती सात सय हेक्टरमा लगाउने गरिएको छ। दूध र मासुका लागि पशुपालनको क्षेत्र फराकिलो बन्दै गएपछि यहाँ व्यावसायिक घाँस खेती फस्टाएको कृषक बताउँछन्। रासस 

प्रकाशित: २७ आश्विन २०७६ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App