१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सदरमुकामकै सडक हिलाम्मे

वर्षाका कारण हिलाम्मे बनेको दिक्तेल बजारको पुरानो बेसक्याम्पको सडक। तस्बिर : दमन राई/नागरिक

खोटाङ – केही दिनदेखि निरन्तर परेको वर्षाका कारण जिल्लाको साविक सदरमुकाम दिक्तेल बजारको सडक हिलाम्मे बनेको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ मा पर्ने दिक्तेल बजारको सडक हिलाम्मे भएको हो।

सडक हिलाम्मे हुँदा रत्नपार्क, पुरानो बेस क्याम्प, संगम पार्क, भानुचोक लगायतका ठाउँमा पैदल यात्रीलाई हिँडडुल गर्न समस्या भइरहेको छ।

सडकका कतिपय ठाउँमा पानी जमेको छ। सडकमा हिलो जमेका कारण रत्नपार्कबाट हाटडाँडा पुग्न दोब्बर समय लाग्ने गरेको स्थानीयको गुनासो छ।

२०२० सालमा खोटाङ बजारबाट दिक्तेलमा सारिएको सदरमुकामलाई कालोपत्रे गर्ने पटक–पटकको प्रयास असफल हुँदै आएको छ। दिक्तेल बजारको सडक कालोपत्रेका लागि आर्थिक वर्ष २०७३/०७४ मा स्थानीय विकास शुल्क कोषबाट आएको ८७ लाख ४३ हजार रूपैयाँमध्ये ४५ लाख ४३ हजार रूपैयाँ रकम बजारका केही स्थानीयकै कारण फ्रिज भएको थियो। ५० प्रतिशत जनसहभागितामा सम्पन्न गर्नुपर्ने कालोपत्रेका काम बजारकै केही घर उपभोक्ताको असहयोगका कारण असफल भएको थियो। साँघुरो बजारका सडक कालोपत्रे गर्न बजार आसपासका दर्जन बढी घर भत्काउनुपर्ने अवस्था छ। सडक साँघुरो भएका कारण आगलागीका समयमा दिक्तेल बजारमा दमकल समेत सहज तरिकाले हिँडाउन नसक्दा बढी क्षति हुने गरेको छ। 

सहरी विकास मन्त्रालयको एकीकृत कार्ययोजना अनुशार दिक्तेल बजार कालोपत्रे गर्ने चर्चा पनि सेलाएको छ। जिल्लाको केन्द्रका रूपमा रहेको दिक्तेल बजारलाई चाँडोभन्दा चाँडो पिचको व्यवस्थापनमा स्थानीय सरकारको पहिलो ध्यान जानुपर्ने कांग्रेस क्षेत्रीय सभापति एवम् दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका छायाँ सरकार प्रमुख तीर्थराज भट्टराईले बताए। ‘जिल्लाको केन्द्र, देश–विदेशका मान्छे आउने ठाउँ हो दिक्तेल बजार। यस्तो ठाउँका बारेमा सरकार बेखबरजस्तो बन्नु हुँदैन,’ भट्टराईले भने, ‘जनताले पनि सरकारलाई सकारात्मक तरिकाले विकासका लागि दबाब दिनु पर्छ। अन्य राजनीतिक दलको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ।’

प्रकाशित: २७ आश्विन २०७६ ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App