१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चितवनमा अब धान जोन

चितवनमा गरिएको बर्खे धान खेती। तस्बिर : नागरिक

चितवन – तरकारी, केरा र मौरी जोन रहेको चितवनमा अब धानको पनि जोन बन्ने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत चितवनमा धान जोन बनाउन लागिएको हो। पूर्वी चितवनका रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाका धान खेती गरिने क्षेत्रलाई समेटेर धान जोन बनाउने तयारी गरिएको परियोजना कार्यान्वयन एकाइ चितवनका कृषि अधिकृत इन्द्र ढुंगानाले जानकारी दिए। तीनवटा नगरपालिकाका २० वटा वडा समेटेर धान जोन बनाउन लागिएको उनले जानकारी दिए।

जोनमा तीनवटै स्थानिय तहका पूर्व–पश्चिम राजमार्गबाट दक्षिणतर्फ रहेका वडाहरुलाई समेट्न लागिएको छ, जसमा रत्ननगर नगरपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७, ८ र ९, खैरहनी नगरपालिकाको वडा नम्बर ५, ६, ७, ९, १०, ११, १२ र १३ तथा राप्ती नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ६ पर्ने गरी प्रस्ताव गरिएको ढुुंगाना बताउँछन्। ‘प्रस्ताव गरिएको क्षेत्रमा चैते र बर्खे गरी दुई बाली धान खेती गरिन्छ,’ उनले भने, ‘यन्त्र–उपकरणको प्रयोग, चक्लाबन्दीमा जान सकिने र आधुनिक प्रविधि विस्तार गर्न सकिने क्षेत्रलाई प्राथमिकता दिएर समेट्ने प्रयास गरिएको छ।’

परियोजना अन्तर्गत जोनमा समेट्न लागिएको स्थानहरु धान खेतीको पकेट क्षेत्रका रुपमा परिचित वडा हुन्। जोन बनाएर कार्यक्रम लागू गर्न पाँच सय हेक्टर क्षेत्रफल हुनुपर्ने भए पनि अहिले समेट्न लागिएको तीन नगरपालिकाका वडामा पाँच हजार आठ सय २३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। चैते धान दुई हजार ६ सय ६७ मेट्रिक टन र बर्खे पाँच हजार आठ सय टन हाराहारी उत्पादन हुने गरेको तथ्यांक छ। धान जोन बनाउन तीनवटै नगरपालिकाका वडा र नगरका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरिसकिएको छ।

पूर्वी चितवनका रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाका धान खेती गरिने क्षेत्रलाई समेटेर धान जोन बनाउने तयारी छ।

छलफल, अध्ययन गरेर तयार गरिएको प्रारम्भिक प्रतिवेदनबारे स्थानीय विज्ञ, सरोकारवाला निकायका प्रतिनिधिसँगै प्रदेशको कृषि मन्त्रालयसँग पनि छलफल गरेर प्रक्रिया अघि बढाइएको परियोजना कार्यान्वयन एकाइ चितवनका कृषि अधिकृत ढुंगाना बताउँछन्। ‘धान जोन बनाउन प्रतिवेदन तयार गरेर स्वीकृतिका लागि परियोजनाको कार्यालयमा पठाइएको छ,’ उनले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट स्वीकृत भएर आएपछि कार्यक्रम लागू हुनेछ।’

जोनमा समावेश गरिने क्षेत्रलाई सूचीकृत गर्ने र सञ्चालक समिति गठन गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। स्थानीय सरकार परियोजना कार्यान्वयनका लागि प्रतिबद्ध रहेको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरी बताउँछन्। किसानले गर्ने कृषि उत्पादनको बजार ग्यारेन्टी हुने गरी परियोजना लागू गर्नुपर्ने उनको सुझाव छ। कृषिको विकासमा स्थानीय सरकार प्रतिबद्ध रहे पनि परियोजनाको सफल कार्यान्वयनका लागि तीन तहकै सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने उनले बताए। कृषि उत्पादनका लागि अत्यावश्यक मल, बीउ, औजार, उपकरणसँगै बजार व्यवस्थामा ध्यान दिनुपर्ने उनको राय छ।

कार्यक्रम लागू भएपछि धान जोनमा सूचीकृत किसानलाई आइपर्ने रोग–किराको समस्या, बिउ छनोटदेखि व्यवस्थापनसम्म पनि प्राविधिक सहयोग बढी हुनेछ। साना सिँचाइ सुविधाका लागि अनुदान, कृषि उत्पादनमा लाग्ने लगानी घटाउन यान्त्रिकीकरण र प्रविधिको प्रयोगमा सहयोग हुने परियोजना कार्यान्वयन एकाइ चितवनका कृषि अधिकृत ढुंगानाले बताए। धान रोप्ने, गोड्ने, काट्ने, मेसिनमा सहयोग गरिनेछ।

कृषकले गर्ने उत्पादनको मूल्य नपाउने समस्या समाधान गर्न चितवनको गुणस्तरीय धान भनेर ब्रान्डिङ गर्नसमेत सहयोग गर्ने योजना रहेको उनले जानकारी दिए।

‘चितवनको मन्सुली भनेर पहिले प्रख्यात थियो, अहिले त्यो छैन,’ उनी भन्छन्, ‘यहाँ नै राम्रो मिल स्थापना गर्न सहयोग गर्ने योजना छ।’ यसले चितवनमा उत्पादन भएको धानको मूल्य किसानले पाउन सक्छन्। धानको बीउ राख्न सामुदायिक नर्सरीको व्यवस्था गर्ने योजनासमेत रहेको उनले बताए। धान जोन कार्यक्रम लागू भएपछि धान खेतीतर्फ किसानको आकर्षण र उत्पादन बढ्ने विश्वास छ।

प्रकाशित: २७ आश्विन २०७६ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App