१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

काठमाडौं- नेपालमा आठ वर्ष पछि अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। नेपाल ब्याडमिन्टन संघले मंसिर २८ देखी पुस २ गते सम्म नेपाल बिडब्लुएफ अन्तर्राष्ट्रिय सिरिज काठमाडौंमा गर्ने तयारी गरिरहेको छ।

यो नेपाल व्याडमिन्टन संघले गर्न लागेको छैटौं अन्तर्राष्ट्रिय प्रतियोगिता हो। पछिल्लो पटक सन् २००८ मा संघले बिडब्लुएफ अन्तर्राष्ट्रिय सिरिज काठमाडौंमा गरेको थियो।

सिरिजमा १३ राष्ट्रका करिव ९४ खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल व्याडमिन्टन संघले आइतबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ। प्रतियोगितामा पुरुष र महिला एकल, पुरुष र महिला डबल्स तथा मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको हरेक विधाका खेलाडीलाई ५ देखी ६ सय डलर सम्म पुरस्कार दिने तयारी भइरहेको आयोजकले बतायो। प्रतियोगितामा सहभागी हुन खुला रुपमा सबै देशलाई आह्वान गरेको संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी गराए। प्रतियोगितामा एक खेलाडीले ३ इभेन्ट्स सम्ममा भाग लिन पाउनेछन्।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, भियतनाम, मलेसिया, इरान, फिलिपिन्स, श्रीलंका, इन्डोनेसिया र सिरियाका खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भइसकेको अध्यक्ष श्रेष्ठले बताए।

'प्रायोजकको अहिले टुंगो लागिसकेको छैन। तर हामी प्रतियोगिता गर्ने तयारीमा जुटिसकेका छौं। नेपालमा ब्याडमिन्टनको गतिविधि बढिरहेको छ। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्दा नेपालमा ब्याडमिन्टनको लोकप्रियता थप बढनेछ,' श्रेष्ठले भने, 'प्रतियोगिता गर्नेमात्र हाम्रो लक्ष्य होइन। हाम्रा खेलाडीले पदक जित्ने लक्ष्य सहित तयारी गरिरहेका छन्। प्रतियोगिताले हाम्रा खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्दै स्तर बढाउन सहयोग गर्नेछ।'

बिडब्लुएफ सिरिज अन्तराष्ट्रिय ब्याडमिन्टनमा चौथो श्रेणीको प्रतियोगिता हो। प्रतियोगितामा विश्व वरियताको शीर्ष स्थानका खेलाडी नखले पनि उत्कृष्ट खेलाडीहरुको उपस्थिती हुने श्रेष्ठले बताए।

उनले भने, 'शीर्ष खेलाडी नआए पनि यो प्रतियोगिताले विश्व वरियतामा महत्व राख्छ। त्यसैले सबै देशबाट स्तरीय खेलाडीको सहभागिता हुनेछ।'

ब्याडमिन्टन वर्ल्ड फेडेरेशन (बिडब्लुएफ) र ब्याडमिन्टन एसियाको स्वीकृतीमा हुन लागेको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटीले सहयोग गरेको श्रेष्ठले जानकारी गराए।

यसै महिना पाकिस्तानमा सम्पन्न यही प्रतियोगिताको अघिल्लो सिरिजमा तामाङ दिदीभाई नङसलदेवी र रत्नजीतले मिक्स डबल्समा स्वर्ण पदक जितेका थिए।

राखेपको कभर्ड हलमा हुने प्रतियोगितामा नेपालको तर्फबाट २२ खेलाडीले खेल्ने पक्का भैसकेको संघले बतायो। प्रतियोगिताका लागि खेलाडीले एक महिना अघि देखि कभर्डहलमा प्रशिक्षण गरिरहेका छन्। नेपालबाट १२ पुरुष र १० महिला खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी गराइएको छ। वरियताको आधारमा सहभागी खेलाडी छनोट गरिएको अध्यक्ष श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार भारतबाट अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेका खेलाडीले सहभागिता जनाउनेछन्। उनले भने, 'भारतबाट शीर्ष १० वरियताका खेलाडीले भाग लिने छैनन। तर त्योवाहेकका अरु राम्रा खेलाडीले नेपालमा प्रतिस्पर्धा गर्ने इच्छा देखाएका छन्।'

आठ वर्ष पछि अन्तराष्ट्रिय प्रतियोगिता गर्न लागेको संघले आगामी वर्षदेखि नियमित रुपमा एउटा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको तयारी गर्ने श्रेष्ठले बताए।

नेपालले सन् १९९५ वीरेन्द्र गेल्डेन जुब्ली कप, २०४३ सालमा महेन्द्र मेमोरियल अन्तर्राष्ट्रिय ब्याडमिन्टन, २००५ मा नेपाल इन्टरनेसनल स्याटलाइट, २००६ मा नेपाल जुनियर इन्टरनेसनल र २००८ मा बिडब्लुएफ सिरिज आयोजना गरेको थियो।

प्रकाशित: १३ मंसिर २०७३ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App