१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

छ लेन सडक निर्माण, म्याद सकियो, काम सकिएन

निर्माणाधीन ६ लेन सडक। तस्विरः

धनगढी - सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण आयोजनाको रूपमा रहेको धनगढी–मोहना–अत्तरिया जोड्ने छ लेन सडक निर्माणको नर्माण कम्पनी र आयोजना कार्यालयले चरम लापरवाही गरेको छ। सम्झौताअनुसार काम सम्पन्न हुनुपर्ने दुई बर्से अवधि सकिएको चार महिनासम्म ६ लेन सडकको निर्माण काम करिब आधामात्र भएको छ। म्याद समाप्त भएको चार महिनासम्म निर्माण कम्पनीलाई न म्याद थप गरिएको छ, न जरिवाना गरिएको छ। चार महिनासम्म म्याद थप गर्ने वा नगर्ने कुनै निर्णय नगरेर राख्नुको कारण के भनेर प्रश्न उब्जेको स्थानीय बताउँछन्।

‘धेरै महत्वको ६ लेन सडक निर्माणमा लापरवाही भएको छ,’ नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्, ‘चार महिनासम्म म्याद थप गर्ने वा नगर्ने निर्णय नगरिनुले आर्थिक चलखेलको आशंका उब्जाएको छ।’

६ लेन सडक आयोजनाका प्रमुख होमबहादुर ऐसीले आर्थिक चलखेलका कारण म्याद थप्ने अवधि चार महिना लम्बिएको भन्ने कुरा गलत भएको बताए। म्याद थप गर्नका लागि निर्माण गर्न सक्ने वस्तुगत आधार पेस गर्न निर्माण कम्पनीलाई भनिएको र उनीहरूले वस्तुगत आधार पेस गर्न ढिलाइ गरेकाले चार महिनासम्म म्याद थप हुने वा नहुने निर्णय हुन नसकेको बताएका छन्। सबैले वस्तुगत आधार पेस गरिसकेको र उक्त वस्तुगत आधारसहितको फाइल मन्त्रालयमा पुगेपछि म्याद थप गर्ने वा नगर्ने निर्णय हुने उनको भनाइ छ।

६ लेन सडक निर्माण गर्न सक्ने क्षमता, अनुभव र उपकरण भएको ठहर गरी ठेक्का सम्झौता गरिएका निर्माण कम्पनीलाई अहिले पुनः वस्तुगत आधार पेस गर्ने सर्त नै उचित नभएको एकजना प्राविधिकले बताएका छन्। कुनै विशेष कारणले सम्झौता भएको अवधिमा निर्माणको काम समाप्त नभएमा काम नसकिनुको चित्तबुझ्दो कारण पेस गरिएमा म्याद थप गर्ने र नत्र जरिवाना गर्नुपर्ने उनी बताउँछन्।

एउटै निर्माण कम्पनीले विभिन्न ठाउँमा ठेक्का लिने र समयमा काम समाप्त नगर्ने गर्दा पनि राजनीतिक पहुँच, आर्थिक चलखेलले जरिवाना हुनुपर्ने निर्माण कम्पनीलाई पटक–पटक म्याद थप गर्ने गरिएको उनी बताउँछन्। सडक योजनामा निर्माण अवधि थपका लागि म्याद समाप्त हुनुअगावै निर्माण कम्पनीहरूले पठाएको फाइल फिर्ता गरिएको थियो। निर्माण व्यवसायीले डेढ वर्ष म्याद थप गरी पाऊँ भन्दै पेस गरेको निवेदन ६ लेन सडक योजना कार्यालयले सिफारिससहित संघीय सडक सुपरीवेक्षक तथा अनुगमन कार्यालय सुर्खेतमा पठाएको थियो। म्याद थप गर्नुपर्ने स्पष्ट आधार र थपेको समयमा काम सक्ने आधार र प्रमाणसहित पेस गर्न माग गर्दै सुपरीवेक्षक तथा अनुगमन कार्यालय सुर्खेतले फिर्ता पठाएको थियो।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीलगायत अत्तरियासम्मका दर्जनौं पक्की घर भत्काएर ६ लेन निर्माण सुरु गरिएको हो। ६ लेन सडक निर्माणको ढिलाइले सर्वसाधारणलाई सास्ती भएको छ। सडक वरपरका पसलहरूमा धुलोले समान बिग्रने गरेको व्यापारी बताउँछन्।‘सडक निर्माणमा ढिलाइ हुँदा धुलोले पसलमा समान बिग्रेर धेरै घाटा भएको छ,’ स्थानीय व्यापारी पूजा चौधरीले भनिन्। सो सडकमा बर्षात्मा हिलाम्य र अन्य समयमा धुलाम्य हुँदा सर्वसाधारणलाई सडकमा हिँडडुल गर्न गाह्रो हुने गरेको छ भने धुलोले विभिन्न रोगबाट समेत ग्रसित हुनुपरेको स्थानीय बताउँछन्।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीलाई जोड्ने एकमात्र सडकमा खाल्डाखुल्डी र निर्माणाधीन कल्भर्टले दुर्घटना भएर सर्वसाधारणको अकालमै ज्यान गइरहेको छ।

समयमा निर्माण सम्पन्न नहुँदा ठाउँठाउँमा रहेका खाल्डा र निर्माणाधीन कल्भर्टका कारण मोहनापुल–अत्तरिया खण्डमा दुर्घटनामा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सो सडकमा निर्माण सुरु भएयता ६ जनाले ज्यान गुमाइसकेका छन्।

राजनीतिकलगायत चलखेलका कारण मोहनापुल–अत्तरिया ६ लेन सडक योजना निर्माणको अवधिमा चारजना प्रमुख फेरिएका छन्। सुरुमा नवीनमान श्रेष्ठले प्रमुखको जिम्मेवारी सम्हाले। त्यसपछि मनिष शाह, राजेश पौडेल र अहिले होमबहादुर ऐसी छन्।

धनगढी भन्सार–रोडदेखि अत्तरिया चोकसम्म १४ किलोमिटर लामो ६ लेन सडक तीन खण्डमा छुट्याइएर छुट्टाछुट्टै ठेक्का दिइएको थियो। धनगढी बोराडाँडीदेखि मोहनपुरसम्म साढे चार किलोमिटर दोस्रो खण्ड र मोहनपुरदेखि अत्तरियासम्मको पाँच किलोमिटर तेस्रो खण्डको निर्माण अवधि जेठ १६ मा सकिएको हो। भन्सार–रोडदेखि बोराडाँडीसम्मको पहिलो खण्डको सम्झौता अवधि २५ जेठमा सकिएको हो। दोस्रो र तेस्रो खण्डमा राजेन्द्र निर्माण सेवाले निर्माणको ठेक्का लिएको थियो। पहिलो खण्डमा निर्माण कम्पनी नागार्जुन कन्ट्रक्सनले निर्माणका लागि ठेक्का लिएको थियो। आयोजनाको लागत एक अर्ब ६८ करोड रुपैयाँ रहेको छ।

परियोजनाअन्तर्गत शून्यदेखि साढे चार किलोमिटरसम्म झन्डै ५८ करोड, १७ लाख रुपैयाँ, साढे चारदेखि नौ किलोमिटरसम्म झन्डै ५२ करोड १४ लाख र नौदेखि १४ किलोमिटरसम्म झन्डै ५८ करोड ३३ लाख रुपैयाँमा ठेक्का दिइएको हो। भन्सार–रोडस्थित मोहना पुलदेखि अत्तरिया चोकसम्म १४ दशमलव १७ किलोमिटर लामो तथा ३२ दशमलव दुई मिटर चौडा रहनेछ। दुवैतिर तीन/तीन मिटर फुटपाथ रहने ६ लेनको सडकमा ८० किलोमिटर प्रतिघण्टाका दरले सवारी कुदाउन सकिने योजनाको डिजाइनमा उल्लेख छ।

अहिलेसम्म करिब ६० प्रतिशत काम पुरा भएको आयोजना प्रमुख ऐसीले बताएका छन्। यस सडकमा बनाईने ३ वटा पुलको अहिलेसम्म टेण्डर समेत हुन सकेको छैन।४ महिनासम्म म्याद थप नभएको अवधिमा उनीहरूको भुक्तानी नभएको उनले बताए।

सार्वजनिक खरिद संशोधित ऐनमा पूर्वाधार तर्फका पुरानो योजनाको हकमा सुरुको अवधिको ५० प्रतिशतभन्दा बढी म्याद थप गर्न नपाउने व्यवस्था गरिएको छ, जसअनुसार ६ लेन सडकमा पनि बढीमा एक वर्षमात्र म्याद थप हुनेछ।

प्रकाशित: २७ आश्विन २०७६ ०२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App