१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हागिबिसका कारण कम्तीमा २३ को मृत्यु, उद्धारका लागि सेना परिचालन

टोकियो – जापानमा आएको ‘हागिबिस’ नामक तुफानका कारण कम्तीमा २३ जनाको मृत्यु भएपछि सरकारले दशौं हजार सेना र उद्धारकर्मी परिचालन गरेको छ ।

शनिबार दक्षिण टोकियाबाट सुरु भएको हागिबिस तुफान उत्तरतर्फ बढिरहेको छ । आँधीसँगैको अविरल वर्षाका कारण कयौं नदीमा बाढी आएको र नदीको पानी बस्तीहरुमा पसेका कारण ठूलो जनधनको क्षति भएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार तुफानका कारण १७ मानिस हराइरहेका छन् । केन्द्रीय नागोया जिल्लास्थित जापानको प्रसिद्ध बुलेट रेलहरुमा पनि जलमग्न भएको र बाढीमा फसेका स्थानीयलाई घरको छतबाट हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उद्धार तथा राहत कार्यका लागि २७ हजार सेना र अन्य उद्धारकर्मी परिचालन गरिएको अधिकारीहरुले बताएका छन् ।

भू–संरचना, यातायात तथा पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार आँधीपछि विभिन्न १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको छ भने २१ नदीमा बाँध फुटेका कारण ठूलो क्षति भएको उल्लेख छ ।

‘सरकारले सक्ने जति गर्नेछ,’ आवश्यक परे थप सेना परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले बताएका छन् । शनिबार शक्तिशाली रहेको आँधी आइतबारबाट भने केही कमजोर भएको बताइएको छ ।

उद्धारकै क्रममा हेलिकप्टरबाट खसेर एकको मृत्यु

जापानको राजधानी टोकियोको उत्तरतर्फ पर्ने कावागोइ सहरस्थित एक नर्सिङ होममा फसेका स्थानीयलाई उद्धार गर्नका लागि आपतकालीन उद्धारकर्ताले डुंगाहरुको प्रयोग गरिएको थियो ।

टोकियाभित्रका मात्रै करिब एक लाख ५० हजार घर विद्युत् र खानेपानी विहीन भएका छन् । रेलसेवा र उडानहरु पनि स्थगन गरिएका छन् ।
‘आँधीका कारण देशभरका तीन लाख ७६ हजार घरमा विद्युत् आपूर्ति अवरूद्ध भएको छ भने १४ हजार घरमा खानेपानीको अभाव भएको छ,’ चिफ क्याबिनेट सेक्रेटरी योसिहिदे सुगाले जानकारी दिएका छन् ।

उद्धारकर्ता तथा जापानी अधिकारीले दिएको जानकारीअनुसार शनिबार साँझ आएको आँधीका कारण कैयौँ स्थानमा बाढी पहिरो गएको र कतिपय बस्तीहरू डुबानमा परेका छन् ।

तुफानका कारण परेको अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोमा परी अधिकांशको मृत्यु भएको बताइएको छ । उद्धारका लागि प्रयोग गरिएको हेलिकप्टरबाट सुरक्षित स्थानतर्फ लाँदै गर्दा दुर्घटनावश खसेर एक ७० वर्षकी वृद्ध महिलाको पनि मृत्यु भएको जापानका अग्नि नियन्त्रणसम्बन्धी निकायका अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।

जापानका केही क्षेत्रमा केही दिनभित्रै औसत वार्षिक वर्षाको ४० प्रतिशत वर्षा भएको बताइएको छ । जापानको प्रसिद्ध माउन्ट फुजीनजिकै रहेको हाकोन सहरमा शुक्रबार र शनिबार गरी सबैभन्दा धेरै एक मिटरभन्दा बढी वर्षा भएको बताइएको छ । ४८ घण्टाभित्र जापानमा रेकर्ड गरिएको मध्ये यो सबैभन्दा धेरै वर्षा भएको अधिकारीहरुले बताएका छन् ।

वर्षाका कारण खेतीबालीमा पनि नराम्ररी असर परेको छ । ‘हामीले यसअघि यस्तो वर्षा कहिल्यै देखेका थिएनौं,’ टोकियाको उत्तरपश्चिम हिगासी मात्सुयामा सहरका एक किसानले फ्रान्सेली समाचार एजेन्सी एएफपीसँग बताए ।

प्रकाशित: २७ आश्विन २०७६ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App