१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेताहरूको सहकार्यमै जोड

काठमाडौं – प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले राजनीतिक परिवर्तनमा जस्तै मुलुकको आर्थिक विकास र समृद्धिका लागि दलीय एकता र सहकार्यमा जोड दिएका छन्। दसैं, तिहारसहितका चाडपर्वको अवसरमा नेपाली कांग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा सहभागी नेताहरूले सहमति र सहकार्यबाटै मुलुकको आर्थिक समृद्धि सम्भव हुने बताएका हुन्।

२०३३ सालमा बिपी कोइराला मेलमिलापको नीतिसहित भारतको निर्वासनबाट स्वदेश फर्केपछि दसैंको कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्न सुरु गरिएको चियापन नेपालको राजनीतिमा संस्कृतिकै रूपमा विकास भएको बताउँदै नेताहरूले दलीय तिक्तता हटाउन सहयोगी बन्दै आएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंसहितका पर्वले पारिवारिक एकता र मेलमिलाप मात्र नभएर चियापान संस्कृतिले दलीय तिक्तता मेटाउन पनि सहयोगी बन्ने बताए। ‘कहिलेकाहीँ सम्बन्ध बिग्रिन्छ, खटपट आउँछ तर, पनि यस्ता चाडपर्वले हामीलाई मिलाइदिन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘देश अनि समाज परिवर्तनका लागि नेपाली कांग्रेससँगको यो सहकार्यले अघि बढ्न अझै सहज हुन्छ।’

गत वर्ष कांग्रेसले आयोजना गरेको चियापना कार्यक्रममा सहभागी नभएका नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कांग्रेस र तीनका नेतासँगको सम्बन्ध पाँच दशक लामो रहेको स्मरण गरे। सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल ४५ वर्षदेखिका साथी भएको बताउँदै ओलीले प्रजातन्त्र, लोकतन्त्रका लागि कांग्रेस–कम्युनिस्ट सँगै लडेको सुनाए। लोकतन्त्रका आधारभूत मूल्यमान्यता रक्षाका लागि कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने पनि ओलीले बताए। नेकपा र कांग्रेस अहिले सत्तापक्ष र प्रतिपक्ष भए पनि कुनै तिक्तता नरहेको जिकिर गर्दै ओलीले भने, ‘अहिले हामीबीच सम्बन्ध राम्रो छ। नभए पनि यस्ता चाडपर्वले सम्बन्ध राम्रो हुन्छ।’

बिपीले सुरुवात गरेको चियापनालाई पार्टीले निरन्तरता दिएको बताउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले चियापना कार्यक्रमले दलीय मेतभेद हटाउन सहयोग पुग्ने धारणा राखे। दलबीचको सम्वादहीनतालाई यस्तै कार्यक्रमले तोड्दै ठूलाठूला राजनीतिक परिर्वतनको बाटो खुलेको स्मरण गरे। कांग्रेस सम्वाद, सहमति र एकताको पक्षमा रहेको जनाउँदै देउवाले मुलुकको आर्थिक विकासका लागि दलीय सहमति र सहकार्य आवश्यक रहेको औंल्याए। कांग्रेस त्यसाका लागि सधैं तयार रहेको पनि देउवाले बताए।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा सहमति र सहकार्यको राजनीति आवश्यक रहेको औल्याए। कांग्रेससँग फेरि सहकार्य हुनसक्ने बताउँदै दाहालले राजनीतिमा असम्भव केही पनि नरहेको बताए। कांग्रेसकोमा आउँदा सहयात्रीकोमा आएको जस्तो आफूलाई लाग्ने गरेको सुनाउँदै दाहालले भने, ‘राजनीति भनेको यस्तै हो। हेर्दै जाऔं राजनीतिले कस्तो कोल्टे फेर्छ ?’

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफू मिलेर राजनीतिमा असम्भव रहेको कुरालाई पनि सम्भव तुल्याएको स्मरण गर्दै दाहालले भने, ‘गिरिजाप्रसाद कोइरालाल र मैले हस्ताक्षर गरेर देश शान्ति प्रक्रियामा आएको हो। फेरि पनि नेपाली कांग्रेससँग त्यस्तै सहकार्य नहोला भन्न सकिन्न।’ दुईतिहाइ बहुमत रहेको नेकपाले प्रतिपक्षी कांग्रेससँग कस्तो सहयात्रा खोजेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा दाहालले अहिले दुईतिहाइको कुरा नगरौं भन्दै पन्छिए। चियापान कार्यक्रममा आउँदा कांग्रेसका नेता तथा कार्यकर्ताको मनोबल बढेको आफूले पाएको पनि बताए।

कार्यक्रममा नेकपा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, समाजवादी पार्टीका नेता बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहितका नेताहरुले दलीय एकता र सहकार्यमा जोड दिएका थिए। चियापान कार्यक्रमले समाजिक सद्भाव, दलीय एकतालाई मजबुत बनाउनुको साथै व्यक्तिगत सम्बन्ध पनि प्रगाढ बनाउने तर्क गरेका थिए।

दिउँसो १ देखि २ बजेसम्म कुटनीति नियोगका प्रमुखलाई चियापनका लागि आमन्त्रण गरेको कांग्रेसले त्यसपछि राजनीतिक दलका नेताका साथै पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणलाई बोलाएको थियो। विगत वर्षमा भन्दा व्यवस्थित रहेको भन्दै कार्यक्रममा सहभागी विभिन्न दलका नेताले समेत प्रसंशा गरेका थिए। कांग्रेसले चियापनासँगै केन्द्रीय कार्यालयमा रक्तदान पनि आयोजना गरेको थियो।

प्रकाशित: २७ आश्विन २०७६ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App