१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भारतलाई घरमा लगातार ११औं शृंखला

पुने – उमेश यादवको उत्कृष्ट बलिङप्रेरित भारतले दोस्रो टेस्टमा आइतबार दक्षिण अफ्रिकामाथि एक इनिङ र १ सय ३७ रनको जित निकाल्दै घरेलु मैदानमा लगातार ११औं शृंखला आफ्नो पक्षमा पारेको छ।

पुनेमा भएको चौथो दिनमा फलो अन पाएको पाहुना टोली दक्षिण अफ्रिका १ सय ८९ रनमै समेटिएपछि भारतले तीन खेलको शृंखलामा २–० को अग्रता बनाएपछि आफ्नो मैदानमा लगातार ११औं शृंखला जितको कीर्तिमान बनाएको हो।

दक्षिण अफ्रिकाका लागि भर्नोन फिलेन्डरले ३७ रन र केशव महाराजले २२ रन बनाउँदै आठौं विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए। तर भारतीय बलर यादवले फिलेन्डरलाई पवेलियनको बाटो देखाउँदै उक्त साझेदारी तोडेका थिए। त्यसलगत्तै यादवले दक्षिण अफ्रिकाका कागिसो राबाडालाई ४ रनमा आउट गर्दै आफ्नो तेस्रो विकेट पूरा गरे। भारतका स्पिनर रवीन्द्र जडेजाले पनि महाराजलाई एलबिडब्लुको सिकार बनाएपछि पाहुना टोली  अल आउट भयो।

त्यससँगै भारत घरेलु मैदानमा अस्ट्रेलियाले बनाएको लगातार १०औं शृंखला जितको रेकर्ड तोड्न सफल भयो। साथै यो सफलतापछि बलियो बनेको भारत विश्व टेस्ट च्याम्पियनसिपमा २ सय अंक बटुल्दै अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ। हालसम्म चार खेल खेलेको भारत अपराजित रहँदै शीर्षमै रहेको हो।

भारतलाई दोस्रो टेस्टमा सफलता दिलाउन कप्तान विराट कोहलीले यादगार इनिङ खेलेका थिए। कोहलीले नटआउट २ सय ५४ रनको इनिङ खेल्दै टेस्ट करियरमा सातौं दोहोरो शतक पूरा गरेका थिए। भारतका लागि टेस्ट क्रिकेटमा वीरेन्द्र सेहवागले ६ र सचिन तेन्दुलकरले ५ दोहोरो शतक बनाएका छन्। अस्ट्रेलियाका सर डोनाल्ड ब्राडमनको नाममा भने सर्वाधिक १२ दोहोरो शतकको कीर्तिमान छ।

मयंक अग्रवालको पनि शतकप्रेरित भारतले ६ सय १ रनमा पाँच विकेट गुमाएपछि इनिङ समाप्तिको घोषणा गरेको थियो। दक्षिण अफ्रिका पहिलो इनिङमा २ सय ७५ रनमा समेटिएपछि फलो अनको सामना गरेको थियो। त्यससँगै चौथो दिन दोस्रो इनिङ सुरु गरेको दक्षिण अफ्रिकाको बिहानी सत्रमै खराब सुरुआत भयो। ईशान्त शर्माले एडेन मारक्रमलाई खाता नखोल्दै एलबिडब्लु आउट गरेपछि भारतले पहिलो सफलता पाएको थियो।

उनी मैदानबाट बाहिरिएपछि टिभी स्क्रिनमा आउट नभएको देखाइएको थियो। जसको कारण रिभ्यु नलिनु एडेनका लागि गलत निर्णय साबित भएको थियो। अर्का ओपनर डिन एल्गर भने ४८ रनमा रविचन्द्रन आश्विनको बलमा आउट भए। टेम्बा बभुमाले इनिङ सम्हाल्ने प्रयास गरे पनि ३८ रनमा रवीन्द्र जडेजाले आउट गरे।

त्यसपछि आठौं विकेटका लागि महाराज र फिलेन्डरले साझेदारी गरे पनि सफल हुन सकेनन्। भारतका लागि उमेश यादव र रवीन्द्र जडेजाले समान तीन विकेट लिँदा रविचन्द्रन अश्विनले दुई, ईशान्त शर्मा र मोहम्मद सामीले समान १÷१ विकेट लिए। यी दुईबीचको अन्तिम  तथा तेस्रो टेस्ट राँचीमा आगामी शनिबारदेखि हुनेछ।

भारतले ६ सय १ रनमा पाँच विकेट गुमाएपछि इनिङ समाप्तिको घोषणा गरेको थियो। दक्षिण अफ्रिका पहिलो इनिङमा २ सय ७५ रनमा समेटिएपछि फलो अनको सामना गरेको थियो।

प्रकाशित: २७ आश्विन २०७६ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App