१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'म राष्ट्रको खलासी हुँ'

काठमाडौं- 'म अहिले आफूलाई यो देशको खलासी नै ठानेको छु र खलासीले जस्तै सबैलाई मिलाएर लैजान बल गरिरहेको छु, यसमा मलाइ तपाईं सबैको साथ चाहिएको छ,' प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साझा यातायातका अपांगमैत्री नयाँ बसको उद्घाटन गर्दै भनेका शब्द हुन् यी।

प्रधानमन्त्री दाहालले ललितपुर पुल्चोकस्थित साझाको कार्यालय परिसरमा काठमाडौं उपत्यकामा सञ्चालन गर्न ल्याएका ३० वटा नयाँ बसको उद्घाटन गरे। कार्यक्रममा वरिष्ठ कलाकार मह जोडीमध्येका हरिवंश आचार्यले साझा बसबारे आफ्नो पुरानो गीत 'साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुपियाँको टिकट काट्दछ..... हामी पनि हुइँकिउँ बुइनी साझा बसैमा' गाएर राजनीतिक दलका नेता पनि बसका खलासीजस्तै सबैलाई मिलाएर देश विकासमा लाग्नुपर्ने व्यंग्य गरेका थिए।

आचार्यले पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रोबसबाट लडेको घटना उल्लेख गर्दै अब नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता पनि लड्नुपर्ने भन्दै दलका नेतामाथि सांकेतिक व्यंग्य गरेका थिए।

आचार्यको व्यग्यंबाट प्रभावित प्रधानमन्त्री दाहालले कार्यक्रम सम्बोधन गर्दै सुरुमा सरकारको नेतृत्व गरिरहँदा यातायात व्यवस्था निकै अराजक रहेको बताए। 'अहिले म पनि खलासीजस्तै बनेको छु। तर खलासी भएर सबै यात्रुलाई मनाउन साह्रै अप्ठेरो पर्दोरहेछ,' राजनीतिलाई सवारीचालनसँग जोड्दै मलिन अनुहारमा उनले भने, 'खलासीको हातमा गाडीको स्टेयरिङ हुँदैन। चालकले राम्ररी हाँके गन्तव्यमा पुगिन्छ, नत्र यसै भन्न सकिन्न। तसर्थ हामी सबै ड्राइभर/खलासी हौँ, सबै मिलेर अघि बढ्यौं भने मात्र यातायात र देश दुवैको अवस्था फेरिन्छ।'

प्रधानमन्त्री दाहालले काठमाडौं उपत्यकाका सडक फराकिला पारी सुविधाजनक बस सञ्चालन गरी राजधानीको सार्वजनिक यातायात सहज र व्यवस्थित बनाउने आफ्नो चाहना व्यक्त गरे। 'संसारभर राज्यबाट यातायात सञ्चालन भइरहेको छ, यहाँ पनि अनुशरण गर्नुपर्छ,' उनले भने, 'मैले सय वटा बस थप्न संसदमा राखेको कुरा अघि बढेको छ।' उनले साझाको काम सराहनीय भन्दै प्रशंसा गरे।

साझा यातायातले उपत्यकामा आइतबार थप ३० बस सञ्चालन गरेको छ। अपांगमैत्री ३० बस थपिएसँगै साझा बसको संख्या ४६ पुगेको छ। तीमध्ये ३८ बस उपत्यकामा र ८ बस उपत्यका बाहिर लामो रुटमा सञ्चालन भएको साझाले जनाएको छ।

साझाको ठूलो हिस्सा सेयर लिएको काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले अब साझा बसको सेवा राजधानी बाहिरका सहहमा पुर्‍याउन ५ करोड रुपैयाँ छुट्याइएको जनाए। साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षितले साझा सेवा विस्तारमा लागि परेको बताए।

बसमा २ वटा ह्वील चेयर अट्ने ठाउँ छ। ढोका पनि अपांगमैत्री नै छ। 'अब साझा बसमा अपांग पनि सहजै चढ्न सक्छन्,' साझाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले भने, 'यसअघिका बसभन्दा अहिलेका बस बढी सुविधायुक्त छन्। बसमा दुई वटा ह्विलचेयर अड्याएर सिटबेल्ट बाँधेर बस्न सकिन्छ।'

साझाबाटै सिंहदरबार

उद्घाटनपछि प्रधानमन्त्री दाहाल बा ४ ख ५६५५ नम्बरको साझा बस चढेर सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय गएका थिए। सर्वसाधारण भरिभराउ बसमा उनीसँग भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री रमेश लेखक, संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानी पनि थिए।

प्रकाशित: १३ मंसिर २०७३ ०२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App