१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भालुको त्यो आक्रमणः जसले तुहियो इश्वरको थाइल्याण्डमा खेल्ने सपना

भालुको आक्रमणबाट घाइते इश्वर । धनबहादुर/नागरिक

जुम्ला– जुम्ला गुठिचौर गाउँपालिका–३ का १४ वर्षीय इश्वर बुढा कातिक १ गते तेक्वान्दो खेल्न थाइल्याण्ड जाँदै थिए। उनले दैनिक दिन खेल अभ्यास गरे। थाइल्याण्ड पुग्ने खर्च व्यवस्थापन पनि गरे।

एउटै चाहना थियो, ‘थाइल्याण्डमा राम्रो खेल प्रदर्शन गरेर नाम कमाउने र घर फर्कने।’ तर त्यो चाहना इश्वर थाइल्याण्ड नजाँदै असफल बन्यो। उनी असोज २३ गते भालुको आक्रमणमा परे। उनको बायाँ हात पाँच ठाउँमा भाँचिएको छ। तेक्वान्दो खेल्न सकिने अवस्था त छैन्, त्यो भन्दा बढि उनको स्वास्थ्य कमजोर बन्दै गइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जूम्लामा उपचार गराउन आएका इश्वरले भने, ‘थाइल्याण्ड पुग्ने सपना टुंगियो। खेलमा सहभागि हुने सपना तुहियो।’

आगामी कातिक ६ गतेदेखि थाइल्यान्डमा हुने ९ औं डिरक तेक्वान्दो आन्र्तराष्ट्रिय प्रतियोगिता २०१९’ मा ३४ किलो अन्तर्गतको खेलमा सहभागी हुन उनी जाँदै थिए। उनले पहिलो पटक अन्तराष्ट्रिय स्तरको खेलमा सहभागी हुन पाउँदै गर्दा निकै गर्वानुभुति गरिरहेका थिए।

सुर्खेत, सल्यान र काठमाण्डौमा आयोजित तेक्वान्दो प्रतियोगितामा मेडल हात पारेपछि उनी थाइल्याण्डमा खेल्न छनौट भएका थिए। हात भाँचिएदेखि  खेल प्रशिक्षणमा सहभागि हुन सकेका छैनन्। उनीसहित जुम्लाको गुठिचौर, तिला र चन्दननाथ नगरापलिकाका गरेर पाँच जना खेलाडी थाइल्याण्डमा हुने प्रतियोगिताका लागि छनौटमा परेका छन्। दसैंको समयमा घरमा जादा भालुले लखेट्यो। उनी भिरबाट लडे। मरिसक्यो भनेका उनी हात भाँचिएको अवस्थामा भेटिए। उनले भने,‘थाइल्याण्ड जानको लागि सबै तयारी पुरा भइसकेको थियो। तर भालुको आक्रमणमा परेर थाइल्याण्ड जाने सपना पुरा हुन सकेन्। यो मेरो जीवनको सबैभन्दा दुःखको क्षण हो।’

उनको थाइल्याण्ड यात्रा स्थगित हुन पुगेको आफन्तजन बताउँछन्। थाइल्याण्ड खेल्न पाउने भएपछि सबै खुसी थिए। तर त्यो खुसी थाइल्याण्ड जानु भन्दा एक साता अगावै लुटियो। थाइल्याण्डमा हुने प्रतियोगितामा ३२ राष्ट्रको सहभागिता रहने छ। इश्वर भन्छन् ‘भालुको आक्रमणमा पर्दा थाइल्याण्ड जान नपाउने भए। आफ्नो प्रतिभा देखाउने ठुलो सोच अधुरो रह्यो।’ यो दिन फर्केर आउदैन होला।’

पछिल्लो समयमा भालु दिनदहाडै गाउँमा पस्न थालेको छ। गाउँ वरिपरि लगाइको अन्नबाली सखाप पार्ने र मान्छेलाई समेत आक्रमण गर्ने गरिरहेको छ। यसअघि जुम्लाको सिँजा र हिमा गाउँपालिकामा दर्जनभन्दा बढी पशु मारेको थियो। चन्दननाथ नगरपालिकाभित्रका स्याउ बगैँचा नष्ट गरेको थियो। भालुको आक्रमणमा परेर इश्वरसहित पाँच जना घाइते भएका छन्। उनीहरु सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईराखेको छ।

प्रकाशित: २६ आश्विन २०७६ ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App