१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

६ वर्षसम्म अधुरै दुधाङ पुल

इलाम - इलाम–सोयाङ–नयाँबजार सडक खण्डको दुधाङ पुल निर्माणको काम ठेक्का सम्झौताको म्याद सकिएको दुई वर्ष बित्दा पनि अधुरै छ। निर्धारित समय सकिएर दुईपटक थपिएको म्याद गुज्रिएको पनि यतिका समय भइसक्दा पुल निर्माण कार्य ठप्प छ।

निर्माण जिम्मा लिएको ठेकेदार कम्पनीको ढिलाइले काम अलपत्र परेको हो। म्याद सकिनुअघि भएको काम निरन्तर नहुँदा लगाएको डन्डीसमेत खिया लागेर मकाउन लागेको छ।

स्थानीयको दबाबपछि पोहोर पुल निर्माणले ‘कछुवा गति’ लिएपनि आधाजति ढलान गरेर पुनः काम रोकिएको छ। ठेकेदारले काम नै नगरेकाले पुल निर्माण अलपत्र परेको पुल निर्माणस्थल माइजोगमाई गाउँपालिका–५ का वडाध्यक्ष दाताराम सञ्जेलले बताए। ‘हामी काम गर्दैछौं तर म्याद थपिदिन सिफारिस चाहियो भनेर पोहोर ठेकेदार आएका थिए,’ सञ्जेलले भने, ‘काम गर्छन् होला भनेर म्याद थपको सिफारिस गरियो तर अलिकति काम गरेर फेरि ठप्प छ।’

इलाम–सोयाङ–नयाँबजार सडक खण्डको माइखोलामा अलपत्र दुधाङ पुल। २०७१ असारमा ठेक्का सम्झौता भएको पुलको दोस्रोपटक थपिएको म्यादसमेत २०७४ फागुनमै सकिएको छ।

वडाध्यक्ष सञ्जेलले पुल निर्माण अलपत्र भएकोबारे आफूले गाउँपालिकामा ‘कुरा उठाउने’ बताए। ‘यो पुल निर्माण सुरु भएको धेरै वर्ष भयो तर अहिलेसम्म किन बनेन भन्ने स्थानीयको आम चासो छ,’ उनले भने, ‘सडक व्यवस्थित हुन लाग्दा पुल अलपत्र परेपछि हजारौं उपभोक्ताले सास्ती खेप्नुपरिरहेको छ।’

२०७१ असार २७ मा ठेक्का सम्झौता भएको पुल निर्माणको अवधि ०७३ असार २६ सम्मलाई थियो। तर, काम नसकिएपछि ०७४ पुस २७ सम्मलाई पहिलो पटक म्याद थपियो। पुनः दुई महिनालाई थपिएको म्याद सकिएको पनि करिब दुई वर्ष बितिसकेको छ। खोलाको बीच भागमा खम्बा गाढेर ढलाइका लागि आधासम्म बुनेको डन्डीमा खिया लागेर कामै नलाग्ने भइसकेको थियो। गत वर्ष त्यही डन्डीमा पुलको आधा ढलाइ गरेयता पुनः काम रोकिएको छ।

माइजोगमाई र सन्दकपुर गाउँपालिका तथा सूर्याेदय नगरपालिकाका बासिन्दाले समेत सदरमुकाम आउ–जाउ गर्ने स्थानको पुल ६ वर्षसम्म अलपत्र रहँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ।

निर्माण रोकिएको चर्चा चलेका बेला ‘यसो काम गरेजस्तो’ गर्ने अनि हल्ला सेलाएपछि काम रोकेर ठेकेदार नै महिनौं बेपत्ता हुने क्रमले पुल अलपत्र परेको स्थानीय बताउँछन्। सदरमुकामबाट व्यापारिक केन्द्र नयाँबजारसम्म आउ–जाउ गर्ने मुख्य सडकमा पर्ने पुलकै गति यस्तो भएपछि स्थानीय आजित छन्। ‘दुवैतिर बाह्रमासे सडक बनिसकेको छ तर बीचमा रहेको पुलको काम रोकिँदा बर्खामा यात्रुले ज्यादै दुःख पाएका छन्,’ स्थानीय कमल बेघाले भने, ‘हिउँदमा त जसोतसो जोखिम मोलेर भए पनि खोलाबाटै गाडी तर्छ, बर्खामा चाहिँ यातायात सम्बन्ध नै टुट्ने गरेको छ।’ उनले पुल निर्माणको अवस्था अब पनि यही रहे स्थानीय चुप लागेर नबस्ने चेतावनीसमेत दिए।

इलाम सदरमुकामबाट माइखोलाको दुधाङसम्म तथा दुधाङबाट नयाँबजार खण्डको भोटेटारसम्म केही वर्षअघि नै ग्राभेल सडक बनेको थियो। भोटेटारदेखि नयाँ बजारसम्म गत वर्ष नै सडक ग्राभेल भएकाले हिउँद–बर्खामै सवारी साधन गुड्न ठूलो समस्या छैन। तर, बीचमा पुल नहुँदा बर्खामा खोला पुगेका सवारी साधन जताबाट आयो त्यतै फर्किन बाध्य बनिरहेका छन्।

नयाँ बजारबाट सदरमुकामको दुरी करिब २२ किलोमिटर रहेकामा बीचमा पुल नभएकाले फिक्कलतिरबाट झन्डै ६० किलोमिटर घुमाउरो यात्रा गर्न बाध्य भएको सवारी चालक बताउँछन्। ‘दुधाङ पुल निर्माण नसकिँदा नयाँबजारबाट फिक्कल हुँदै इलाम बजार आउनुपरेको छ,’ चालक पञ्चु तामाङले भने, ‘पुल त बन्दैछ तर अति नै ढिलो, अहिले त झन् निर्माणको काम नै गरेको देखिँदैन।’

फिक्कलबाट नयाँबजारसम्म पनि ग्राभेल सडक पुगेकाले हिउँद–बर्खामै यो सडकमा दिनहुँ दर्जनौं सार्वजनिक सवारी साधन गुड्छन्। दुईचक्के सवारी साधन नजिकैको झोलुंगे पुलबाट तार्नुपर्दा ज्यादै जोखिम हुनेगरेको सर्वसाधारणको गुनासो छ।

डिभिजन सडक कार्यालयका अनुसार ६ करोड १२ लाख ९२ हजार रुपैयाँमा पुल निर्माण सम्झौता भएको थियो। ठेकेदारले करिब अढाई करोड रुपैयाँ भुक्तानीसमेत लिइसकेका छन्। ठेकेदार कम्पनीले २०७४ पुसमा कार्यावधि थपका लागि कार्यालयमा निवेदन दिएको थियो। तर, कुनै कारण नभएको भन्दै कार्यालयले म्याद नथप्दा ०७४ फागुनमै काम गर्ने म्याद गुज्रिसकेको छ। समयमा काम नगरेपछि ठेकेदारले जरिमानासमेत बुझाएका छन्। कार्यालय प्रमुख कृष्ण ओझाले पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी नेसनल÷निलगिरी जेभीले ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम जरिमाना तिरेको बताए।

‘अब पनि काम सकिएन भने ठेक्का नै रद्द हुन्छ,’ प्रमुख ओझाले भने, ‘रोकिएका कामको एक वर्ष म्याद थप्ने व्यवस्था भर्खरै आएको छ तर विभागले पुल निर्माणको अवधि चाहिँ थपेको छैन, हामीले पठाएको डकुमेन्टको केही प्रतिक्रिया आएको छैन।’ म्याद थप्ने कुनै कारण नभएकाले म्याद नथपेको कार्यालयले जनाएको छ। पुल निर्माणको काम हिउँदमा मात्रै गर्न मिल्ने भएकाले बर्खाका बेला काम गर्न नसकेको ठेकेदार कम्पनीका प्रतिनिधि युवराज डाँगीले बताए। ‘मौसमले साथ दिए करिब ३ महिनामा पुल निर्माणको काम सक्छौं,’ उनले गत वर्षकै भनाइ दोहो¥याए, ‘काम भइरहेको छ, पानी परेकाले काममा ढिलाइ भएको हो।’

प्रकाशित: २६ आश्विन २०७६ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App