१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उपत्यकाका नदी सरसफाइ

फाइल तस्बिर

काठमाडौं – ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ दसैंका समयमा पनि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी छ। बागमती सफाइ महाअभियानको ३३५औं सातामा गुह्येश्वरीअघिको नदी किनारमा शनिबार सफाइ गरियो। सफाइमा १० संस्थाका दुई सयजनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन्।

सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन भयो। सफाइमा काठमाडौं महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तण्डुकारलगायत अभियानकर्मीको पनि सहभागिता थियो।

त्यस्तै रुद्रमती सफाइ अभियानको २८८औं सातामा रातोपुल क्षेत्रमा सफाइ गरियो। दसैंका कारण अभियानकर्मीको कमै सहभागिता रहेकाले सांकेतिक रुपमा सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताए।

यसैगरी विष्णुमती सफाइ अभियानको २६२औं सातामा टोखा नगरपालिका–९ को नदी र सडक क्षेत्रमा सफाइ गरियो। दसैंको समय भए पनि सफाइमा उल्लेख्य अभियानकर्मीको सक्रियता थियो। सफाइबाट दुई टन फोहर व्यवस्थापन गरिएको संयोजक शोभाकान्त पाण्डेले बताए।

त्यस्तै तिलगंगास्थित बागमती सफाइको २३५औं सातामा त्यस क्षेत्रमा सफाइ गरी सात डोको फोहर व्यवस्थापन गरिएको संयोजक आशा पाण्डेले जानकारी दिइन्। आलोकनगर सफाइको १३२ औं सातामा बागमती नदी किनारको सिद्धिविनायक शोभाभगवती लोकेश्वर महादेव मन्दिरअघिको क्षेत्रमा सफाइ गरियो। जनचेतनामूलक अभियानसहित त्यस क्षेत्रमा सफाइ गरिएको संयोजक प्रमिला पौडेलले बताइन्।

यसैगरी चक्रपथ वाफलखण्ड सफाइको ११४औं सातामा बाफलबाट स्युचाटारसम्म सफाइ गरी एक ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए। सफाइमा ७० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो।

यसैगरी काठमाडौं उपत्यकाका चक्रपथको उत्तरी खण्ड, गुह्येश्वरीमाथिको बागमती, सुन्दरीघाट, गोदावरीखोला, मनोहरालगायत स्थानमा पनि सफाइ भएको छ। २०७० जेठ ५ गते बागमती सफाइ अभियान सुरु भएपछि हाल देशभरका १०५ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ। चाडपर्वलगायत महत्वपूर्ण दिन शनिबार परे पनि प्रत्येक साताको सफाइ रोकिएको छैन। अभियानले देशव्यापी जागरणको स्वरुप लिएको छ।

प्रकाशित: २६ आश्विन २०७६ ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App