१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घाइते ८१ जना उपचारपछि घर फर्के

सिन्धुपाल्चोक - एघारजनाको ज्यान जाने गरी भएको बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन्। शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन्। अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन्।

हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस शुक्रबार चौतारा–सिपाघाट कच्ची सडक खण्डको इन्द्रावती गाउँपालिका–१०, भोटसिपा, बडहरे तिखुमोडमा दुर्घटनाग्रस्त हुँदा चालक र एकै गाउँका सातसहित ११ यात्रुको मृत्यु भएको थियो। क्षमताभन्दा तेब्बरा बढी झन्डै एक सय २० यात्रु बोकेको सो बसका एक सय ६ जना घाइते भएका थिए। दुर्घटनापछि हेलिकोप्टर र सवारी साधनबाट उद्धार गरी घाइतेलाई उपचारका लागि विभिन्न पाँचवटा अस्पताल पु-याएको थियो।

‘घाइतेहरु उपचारपछि स्वास्थ्य लाभ गरी धमाधम घर फर्किइरहेका छन्,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधव काफ्लेले शनिबार नागरिकसँग भने। विभिन्न अस्पतालमा अहिले उपचाररतमध्ये ६ घाइतेको अवस्था चिन्ताजनक रहेको उनले बताए। प्रहरीका अनुसार काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका ६६ मध्ये ५२ यात्रु घर फर्किसकेका छन्। त्यहाँ अझै १४ घाइतेको उपचार भइरहेको छ।

बनेपाको शिरमेमोरियल अस्पतालमा उपचाररत १६ मध्ये १४ यात्रु स्वास्थ्य लाभ गरी फर्केका छन्। त्यहाँ दुई घाइतेको अझै उपचार भइरहेको छ। राजधानीको वीर अस्पताल ट्रमा सेन्टरमा आठ घाइते उपचाररत छन्। त्यहाँ १५ घाइतेलाई उपचारका लागि पु¥याइएकोमा सात घ। फर्केका छन्। भक्तपुरको शंकारापुर अस्पतालमा रहेका सबै आठ घाइते उपचारपछि आ–आफ्नो घर फर्केका छन्। काठमाडौंको केएमसी अस्पतालमा एक घाइतेको उपचार भइरहेको छ। सडकबाट तीन बल्ड्याङ खाँदै दुई मिटर तल खसेर भएको दुर्घटनामा अधिकांश यात्रुको टाउकोमा चोट लागेको थियो।
१० शज आफन्तले बुझे

मृतकमध्ये १० जनाको शव आफन्तले बुझेका छन्। आफन्त विदेश रहेकाले इन्द्रावती–९ की मृतक जुनादेवी लम्सालको शवमात्र बुझ्न बाँकी छ। उनको शव धुलिखेल अस्पतालमा राखिएको छ। धुलिखेलमा उपचारका क्रममा पाँच यात्रुको मृत्यु भएको थियो।

गाउँपालिकाबाट २५ हजार सहयोग

इन्द्रावती गाउँपालिकाले बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई २५ हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेको छ। घटनापछि वक्तव्य जारी गर्दै गाउँपालिकाले आर्थिक सहयोग गर्ने जनाएको हो। प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले जारी गरेको वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली दिँदै पीडित परिवारजनमा समवेदना दिइएको छ। ‘दुर्घटनाका सबै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौं,’ वक्तव्यमा उल्लेख छ।

प्रकाशित: २६ आश्विन २०७६ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App