१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

पप्पी र चल्लाहरू

सजनी नौबागे

‘आमाआमा, मेरो त खेल्ने साथी पनि कोही छैन।’ पप्पीले आमासँग गनगन ग-यो। आमाले भनिन्, ‘खेल्नलाई किन साथी चाहियो र ? एक्लै खेल न।’ पप्पी आमाको कुरा सुनेर यताबाट उता, उताबाट यता खुर्र दौडियो। भुईंमा मडारियो तर अहँ उसलाई रमाइलो नै लागेन।

एउटा भँगेरा अलि पर दायाँबायाँ हेर्न टाउको नचाउँदै भुईंमा छरिएको कनिका टिप्दै थियो। पप्पी उसलाई देखेर खुसी भयो। भँगेरानिर गयो  तर भँगेरा उसलाई देखेर डराए र भुर्र उड्यो।

पप्पी निराश भयो। एक्लै खेल्दा रमाइलो लागेन। साथी बनाउन खोज्दा डराएर भागे। उसले आमालाई हे-यो। आमा झिमझिम गर्दै आँखा चिम्म गरेर बसिरहेकी थिइन्।

केही दिनपछि पप्पी बसेको नजिकै एउटी चिल्लो पखेटा भएकी पोथी बस्न आई। ऊ ढलक्कढलक्क परेर हिँड्थी। पप्पीले उसको नजिक गएर भन्यो, ‘खेल्नलाई मेरो कोही पनि साथी छैन। तपाई मसँग खेल्ने ?’ उसको कुरा सुनेर पोथीले नकल पारेर भनी, ‘अहँ, मलाई तिमीसँग खेल्ने फुर्सद छैन। आफू ओथारो बस्ने बेला भएको छ।’  यति भनी पोथी आफ्नो बाटो लागी।

ओथारो बस्ने भनेको के होला भनेर पप्पीले सोच्यो। उसले मनमनै भन्यो, ‘पक्कै पनि आमालाई थाहा होला ?’ उसले आमालाई गएर सोध्यो, ‘आमा, ओथारो बस्ने भनेको के हो ?’  आमाले भनिन्, ‘खोई मलाई त थाहा भएन !’
पप्पीले आमालाई पनि थाहा रहेनछ। अब कसलाई सोध्ने होला भनेर सोचिरह्यो। आ होस्, कसैलाई पनि सोध्दिनँ। अब म आफै पत्ता लगाउँछु भन्दै ऊ पोथीको चियो गर्न थाल्यो।

एक दिन पप्पीले पोथी पाँच ओटा अन्डामाथि बसेको देख्यो। उसले अचम्म मानेर हेरिरह्यो। मनमनै भन्यो, ‘पोथी किन अन्डामाथि बसेको होला ? ला अब त्यो अन्डा फुट्छ होला !’

कस्तो अचम्म अन्डा त फुटेन तर केही दिनपछि पोथी बसेको ठाउँमा ‘चिरचिरचिरचिरको’ आवाज आयो। पप्पीलाई अचम्म लाग्यो। के कराएको होला भनेर उसले ध्यान दिएर हे-यो। एकछिनपछि त्यहाँबाट पोथी उठी। अन्डाबाट पाँच ओटा चल्ला पो निस्किए। पप्पी अचम्म मानेर हेरेको हे-यै पो भयो त।

बिस्तारै ती चल्लाहरू मिलीजुली रमाउँदै खेल्न थाले। उनीहरू खेलेको देखेर पप्पी पनि रमाएर उनीहरूको नजिक जान खोज्थ्यो तर अहँ पोथीले उसलाई छेउमा आउनै दिँदिन थिई। मलाई पनि तपाईको चल्लाहरूसँग खेल्न दिनुस् न  भनेर पप्पीले पोथीसँग अनुरोध गथ्र्यो। पोथीले हपार्थिन्, ‘अहँ हुँदैन। तिमीले मेरो चल्लाहरूलाई टोकिदियौ भने के गर्ने ? तुरुन्तै तिमी यहाँबाट जाऊ।’  मेरो पनि साथी भएको भए यस्तै गरी खेल्थें होला भन्ने  सोच्दै  ऊ निराश भएर त्यसै फर्किन्थ्यो। एक दिन पप्पी चल्लाहरू खेलेको हेरेर फर्किदै थियो। तिमी पनि हामीसँगै खेल्ने हो भन्ने आवाजले ऊ झसङ्ग भयो। उसले पछाडि फर्केर हे-यो। उसको पछाडि पाँच ओटै चल्लाहरू थिए। एकछिन त पप्पीले केही पनि बोल्न सकेन। ‘सुनेनौ मैले भनेको ? तिमी पनि हामीसँग खेल्ने हो भनेको ?’ एउटा छिरबिरे रङ्गको चल्लाले त्यही कुरा दोहो-यायो।

‘होहो म पनि तिमीहरूसँग खेल्ने’ पप्पीले खुसीको साथ एकै सासमा भन्यो। फेरि एकैछिनमा उसले शंका गर्दै भन्यो, ‘फेरि तिम्री आमाले गाली गर्नुभयो भने ?’ अर्को एउटा खैरो चल्ला अघि आएर भन्यो, ‘अहँ केही पनि भन्नु हुँदैन। तिमीले हामीलाई केही पनि गर्दैनौ भन्ने विश्वास छ किनकि तिमी सधैँ हामीले खेलेको हेर्न आउँथ्यौ र फर्किन्थ्यौ। त्यसैले हामीले आमालाई मनाइसक्यौं। आजबाट तिमी र हामी साथीसाथी भयौं। ल आऊ अब सँगसँगै खेल्न जाऔं।’

सबै चल्लाहरू हुर्र गरेर दौडिए। पप्पी पनि उनीहरूको पछिपछि दौडियो। आज ऊ साथीहरू पाएर खेल्न पाउँदा खुसीले उसको मन चङ्गाझैं हलुका भएको थियो।

प्रकाशित: २५ आश्विन २०७६ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App