१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एसपी खत्रीलाई 'प्रदेश २ को उत्कृष्ट प्रहरी अवार्ड'

रौतहट -  प्रदेश २ को उत्कृष्ट प्रहरीको अवार्ड जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भूपेन्द्र खत्रीले पाएका छन्। ६४औँ प्रहरी दिवसको अवसरमा प्रदेशमा सर्वोत्कृष्ट कार्य सम्पादन गरेको भन्दै एसपी खत्री प्रदेश प्रहरी कार्यालय जनकपुरबाट पुरस्कृत भएका हुन्। प्रदेश प्रहरी मुख्यालयमा आयोजित प्रहरी दिवस विशेष समारोहमा मुख्यमन्त्री लालबाबु राउतले रौतहट प्रहरी प्रमुख एसपी खत्रीलाई पुरस्कृत गरे।

रौतहट प्रहरी प्रमुख एसपी खत्रीले कुशल व्यावसायिक क्षमता प्रदर्शन गरी अपराध अनुसन्धान, विपद उद्धार तथा व्यवस्थापन, फरार अपराधी पक्राउ, सीमावर्ती अपराध नियन्त्रण क्षेत्रमा सराहनीय कार्य गरेको भन्दै प्रदेश २ प्रहरी मुख्यालयले खत्रीलाई प्रशंसापत्रले सम्मानित गरेको हो। प्रदेश प्रहरी प्रमुख कार्की र मुख्यमन्त्री लालबाबु राउत गदीसमेतको संयुक्त हस्ताक्षर रहेको प्रशंसापत्रमा एसपी खत्रीको कार्यको खुलेर प्रशंसा गरिएको छ।

प्रदेशमा रौतहट प्रहरीको काम नेपाल प्रहरीको नीति तथा निर्देशन बमोजिम भएको पाइएकोले खत्रीलाई पुरस्कृत गरिएको प्रदेश २ प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्कीले बताए। रौतहट प्रहरीले उत्कृष्ट काम गरेकोे डिआइजी कार्कीको भनाइ छ। प्रदेश प्रहरी मुख्यालयले रौतहट प्रहरी प्रमुख एसपी खत्री, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी कवित कटुवाल र जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी निरीक्षक पप्पु नायकलाई समेत पुरस्कृत गरिएको हो।

पुरस्कृत भएपछि संगठनको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न थप प्ररण मिल्ने एसपी खत्रीले बताए। मुख्यालयले कामको मूल्यांकन गरी उत्कृष्ट जिल्ला प्रहरी प्रमुख चयन गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अझ बढी कुशलतापूर्वक कार्य गर्न प्रेरित भएको एसपी खत्रीको भनाइ छ।

रौतहटको प्रहरी प्रमुखको जिम्मेवारी एसपी खत्रीले सम्हालेपछि जिल्लाको शान्ति सुरक्षामा व्यापक सुधार आएकाे जील्लामा चर्चा हुने गरेको छ। 

प्रकाशित: २४ आश्विन २०७६ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App