१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खोलामा बगे भनिएका हतियार गोठमा, सूचना लुकाउदै सुरक्षा निकाय

बरामद गरिएका हातहतियार र विस्फोटक पदार्थ।

रोल्पा - रोल्पामा ठूलो परिमाणमा हातहतियार र विस्फोटक पदार्थ फेला परेको छ। शान्ति प्रक्रियाताका खोलामा बगेको भनिएका हतियार एक गोठमा भेटिएका हुन्। स्थानीयका अनुसार उत्तरी रोल्पाको परिवर्तन गाउँपालिका–१ कुरेली भित्रिवन पुवाखोरेकोे एक गोठमा भण्डारण गरिएको युद्ध सामग्री नेपाली सेनाले असोजको दोस्रो साता बरामद गरेको थियो।

ठूलो मात्रामा हातहतियार र विस्फोटक पदार्थ बरामद हुँदा सुरक्षा निकायका अधिकारी भने यस विषयमा खुलेर बोल्न चाहदैनन्। रोल्पामा ठुलो परिमाणमा हतियार भेटिएको कुरा स्थानीय प्रहरीले सूचना पाउनुभन्दा पहिले सुरक्षा निकायको माथिल्लो निकायले जानकारी पाएको थियो।

‘हतियार भेटिएको सूचना हामीलाई पनि माथिबाटै आएको थियो। सुरक्षा मिटिङमा यो सबै जिम्मा आर्मीलाई हस्तान्तरण गरिने निर्णय भएकाले बाँकी जानकारी हामीलाई छैन।’ रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले  भने। उता प्रमुख जिल्ला अधिकारी त्यति धेरै हतियार नभेटिएको बताउँछन्। ‘त्यति ठूलो  परिमाणमा हतियार भेटिएको होइन। हतियार छ रे भनेर सुरक्षाको माथिल्लो निकायबाट हामीलाई खबर आएको हो। जे भेटिएको त्यो आर्मीलाई थाहा छ।’

स्थानीयका अनुसार सशस्त्र युद्धताका यो ठाउँमा हातहतियार र विष्फोटक सामग्री उत्पादनसमेत हुने गर्दथ्यो। युद्धकै बेला भण्डारण गरिएका हतियार, गोली र विष्फोटक सामग्री शान्ति प्रक्रियाको लामो अवधिसम्म गोठमै थिए वा पछिल्लो समय कतैबाट स्थानान्तरण गरिएको हो भन्ने कतैबाट खुलेको छैन। ‘मलाई हतियार के कति र कस्ता छन भन्ने सबै जानकारी छैन।’ नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने ‘सुरक्षा सम्वेदनशिलताका कारणले यो बिषयमा अरु बोल्न सक्ने अवस्था छैन। एक दुई दिनमा सबै कुरा बाहिर ल्याउने छौ।’  उनले भने।

गोठमा रहेको हतियार नियन्त्रणमा लिनेबारे असोज १० गते जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको थियो। बैठकमा ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, नेपाली सेनाका पृतनापति सीताराम खड्का, नेपाल प्रहरीका डीआइजी सुरेशविक्रम शाह उपस्थित थिए। उच्च सुरक्षा निकायबाटनै नेपाली सेनाको डिस्पोजलसम्बन्धी विशेष टोली भित्रिवन पठाएको थियो।

गोठबाट उच्च विस्फोटक (हाइ एक्सप्लोसिभ) बम, ह्याण्ड ग्रिनेड, एलएमजी व्यारेल ६ थान, म्यागनम व्यारेल १ थान, इम्प्रोभाइज बन्दुक १ थान र इम्प्रोभाइजर मोर्टार गण १ थान फेला परेको छ। एम १६ को ‘लाइभ राउण्ड’ (गोली) ४ हजार १ सय ९१ वटा र एटीवानको खाली गोली एक सय ३९ थान बरामद गरिएको छ। एटीवान लाइभ बम ११ थान, फोर्टी एमएचई बम ३ थान, हाते ‘ग्रिनेड–३६’ को ३ थान, ‘डैटोनेटर–७५’ थान ५, ‘डैटोनेटर–२७’ थान २, फिप्टी वान एचइ बम १३ थान र इस्मोकमिङ कम्प्लिट बम १९ थान छन्।

यस्तै टुइन्च मोर्टारको सेल २२ वटा, १२ केजी बारुद, २ केजी गण पाउडर र ४ मिटर सेफ्टी फ्यूज छन्। विभिन्न हतियारका खाली म्यागजिन पनि गोठमा फेला परेका थिए। एसएलआरको १३ वटा, थी्र नट थ्रीको ११ वटा, एलएमजीको ३७ वटा, एसएमजीको दुई, एके ४७ को एक, गलिलको एक र पेस्तोलको तीनवटा खाली म्यागजिन छन्। बिग्रिएको अवस्थाका दुईवटा साना जेनेरेटर पनि फेला परेको छ।

हतियार भेटिएको बारे सुरक्षा निकायको माथिल्लो अंगले कसरी जानकारी पायो भन्ने बारे कतैबाट पुष्टी भएको छैन। स्थानीयका अनुसार सुरक्षित अवस्थामा रहेका विष्फोट योग्य हतियार सेनाले लगेको थियो भने केहि हतियार गोठ छेउमा डिस्पोज गरेको थियो। जिल्लास्थित सुरक्षा निकायका एक अधिकारीका अनुसार सुरक्षा निकायले हतियार भेटिएको स्थान वरपर सर्च गरिरहेको छ।

सुरक्षा निकायले सूचना लुकाउनु र माथिल्लो निकायले नै जानकारी पाउनुलाई घटना अर्थपूर्ण रहेको अनुमान गर्न सकिन्छ। शान्ति प्रकृयाताका माओवादीले हतियार खोलामा बगेको दाबी गरेका थिए। तर गोठमा लामो समयपछि ठूलो परिमाणमा हतियार भेटिएपछि स्थानीयहरु श्संकित भएका छन्। यि हतियार पुराना युद्ध सामाग्री हुन या नयाँ प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले लुकाएका हुन भन्ने आशंका समेत गरिएको छ।

प्रकाशित: २४ आश्विन २०७६ १२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App