१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एटिएम ठगीका आरोपी लागुऔषध र हातहतियारका कारोबारी

काठमाडौं – नेपालमा पक्राउ परेका एटिएम ठगीका आरोपी युरोपका विभिन्न देशमा अवैध हातहतियार र लागुऔषधको कारोबारमा संलग्न रहेको खुलेको छ। अनुसन्धानको क्रममा उनीहरु टर्की, स्पेन, इटली र जर्मनीमा लागुऔषध ओसारपसार तथा बेचबिखन, अवैध हातहतियारको कारोबार र यौन अपराधमा संलग्न रहेको खुलेको हो।

केन्द्रीय अनुसन्धान ब्युरोले एटिएमका पिन नम्बर र पार्सवड चोरी गरि रकम निकालेको आरोपमा कारवाही भै रहेका नागरिकका बिषयमा सम्बन्धीत देशको नेपालस्थित दूतावास र इन्टरपोल मार्फत मागेको जानकारीमा पक्राउ परेकामध्ये ६ जना अन्तर्राष्ट्रिय अपराधी भएको थाह भएको हो। ब्युरोको टोलीले विभिन्न समयमा पक्राउ गरेका बुल्गेरिया, रोमानिया र टर्कीका नागरिकले युरोपमा अन्य गंभिर अपराधमा समेत संलग्न रहेको खुलेको हो।

ब्युरोका अनुसार कार्तिक २५ गते पक्राउ परेका दुई टर्किस आफ्नै देशमा अवैध हतियार, यौन दुराचार, ठगी, प्रतिलिपि अधिकार र एटिएम ठगीका आरोपी रहेको नेपालस्थित टर्कि दूतावासले जानकारी दिएको हो। विभिन्न बैंकहरुका एटीएम बुथहरुबाट नेपाली तथा विदेशी बैंकका ग्राहकको खाताबाट रकम निकाल्ने राहदानी नम्बर यु १२८७७१८० बाहक ५२ बर्षीय मुहरिम उजुन र राहदानी नम्बर यु १२६७४५८८ बाहक ३२ बर्षीय सेलाहत्तिन याबर लाई ब्युरोले कार्तिक २५ गते पक्राउ गरेको हो। ब्यूरोले दुबैलाई यलो प्यागोडा होटल, कान्तिपथबाट पक्राउ गरेको हो।

‘पक्राउ परेका आरोपीका बिषयमा सम्बन्धीत देश र इन्टरपोल मार्फत जानकारी माग्दा उनीहरु नेपाल बाहेक अन्य देशमा गंभिर अपराधमा संलग्न रहेको जानकारी आएको छ,’ ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले भने । उनका अनुसार अन्तर्राष्ट्रिय माफियाका लागि कामदारको रुपमा रहेका उनीहरु गिरोहका सामान्य सदस्य रहेको खुलेको छ । सिलवालले भने ‘माफियाको निर्देशन अनुसार विश्वभर उनीहरु विभिन्न गंभिर अपराधमा संलग्न हुने गर्छन।'

ब्युरोलाई प्राप्त जानकारी अनुसार पक्राउ परेका सेलाहत्तिन याबर टर्कीमा ठगी, अवैध हातहतियारको कारोबार, यौन अपराध र किर्ते काण्डमा पक्राउ परेका अभियुक्त हुन। उनलाई टर्की प्रहरीले अवैध हतियारको कारोबारमा रंगेहात पक्राउ गरेको थियो। उनीसँगै पक्राउ परेका मुहरिम उजुन प्रतिलिपी अधिकार र क्रेडित कार्डबाट रकम निकालेको आरोपमा कारवाही भोगेका अभियुक्त हुन।

ब्युरोले कार्तिक १९ गते पक्राउ गरेका तीनजना रोमानियनहरु स्पेन, इटली र जर्मनीमा आगुऔषध ओसारपसार, चोरी र ठगीमा संलग्न रहेका थिए। ब्युरोका अनुसार पक्राउ परेका घिता हुजुम लागुऔषधको अवैध कारोबारमा सन २००७ मा स्पेनका पक्राउ परेका थिए। स्पेनको कारागारमा सजायँ भुक्तान गरेका घिता त्यसपछि एटिएम ठगी समूहका सदस्य भएर विभिन्न देशमा घुम्दै आएका थिए। यस्तै उनकै समूहका लोसिफ मोराउ सन २०१२ मा इटलीमा ठगी आरोपमा पक्राउ परेका थिए । समूहकै अर्का एलेक्स क्रिस्टियन सन १९९० मै जर्मनीमा ठगीमा सजाय भुक्तान पछि एटिएम ठगीमा संलग्न रहदै आएको अनुसन्धानमा खुलेको छ । यस्तै कार्तिक ११ मा पक्राउ परेका बुल्गेरियन नागरिक डिमो स्टेफानोभ आफ्नै देशमा चोरीमा अनुसन्धान भएका ब्यक्ती हुन।

‘विश्वका विभिन्न कारागारमा रहेका ब्यक्तीको सम्पर्क मार्फत ‘हाईटेक’ ठगीमा अन्तर्राष्ट्रिय समूह बनेको छ, समूहकै निर्देशनमा विश्वभर ठगी भै रहेको हो,’ सिलवालले भने । उनका अनुसार प्राविधिक रुपमा दक्ष रहेका वा तालिमप्राप्त ब्यक्तीको समूहलाई टर्की, रोमानिया र नाइजेरियामा रहेको माफियाले संचालनगर्दै आएका हुन।

ब्युरोको अनुसन्धानमा बंगलादेश, भारत र नेपालमा एटिएम पिन ठगीमा संलग्न गिरोह अत्याधुनिक उपकरण सहित एकै समूहमा प्रवेश गरेको हो । अनुसन्धानमा करिब दुई दर्जनको समूहमा रहेका गिरोहका सदस्यले एकअर्कासँग चोरी गरिएका पिन नम्बर र पासवर्ड साटासाटगर्दै नगद निकाल्ने र निर्देशन अनुसार महंगा बस्तु खरिद गर्ने गरेका हुन।

विमानस्थलमा कडाई

प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको भन्सार सहित प्रहरी संयन्त्रलाई सावधानी अपनाउन आग्रह गरेको छ।

ठूलो परिमाणमा खाली एटिएम कार्ड, पिननम्बर चोर्ने उपकरण र गोप्य क्यामरा विमानस्थल भन्सारको चेकजाँचबाटै पार भएको खुलेपछि प्रहरीले कडाईका लागि औपचारीक रुपमै आग्रह गरेको हो । काठमाडौंबाट कार्तिकमा मात्र ६ विदेशी नागरिक एटिएम ठगीमा पक्राउ परेका छन । पक्राउ परेकाको साथबाट संयौ थान खाली एटिएम कार्ड र अन्य ठुला उपकरण बरामद भएका थिए।

ब्युरोले यसअघि करिब डेढ महिनादेखि काठमाडौं र पोखराका एटिएम बुथको गोप्य निगरानी भै रहेकाले सर्वसाधारणको बैंक मौज्दात खतरामा रहेको संकेत गरिसकेको छ।  ब्युरोले पक्राउ गरेका रोमानियन र टर्किसले काठमाडौं र पोखरामा बसेर एटिएम बुथबाट प्रयोगकर्ताका गोप्य सूचना लिएको र इमेल मार्फत बाहिर पठाएको हुनसक्ने आशंका गरेको हो। नेपालमा हाल ३५ लाखको हाराहारीमा विभिन्न बैंकका एटिएम प्रयोगकर्ता रहेका छन।

ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले पक्राउ परेका ब्यक्ती प्राविधिक रुपमा दक्ष रहेको र सोही अनुसारका उपकरण मार्फत बुथबाट सुचना प्राप्त गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको बताए । उनका अनुसार काठमाडौं बसाईमा बढि मात्रामा प्रयोगमा रहेका बुथमा गोप्य क्यामरा  र कार्डमा रहेका सुचना प्राप्त गर्ने उपकरण गिरोहले प्रयोग गरेको थियो।

ब्युरोले कात्तिक ११ मा बुल्गेरियन नागरिक डिमो एन्टेनसोभ स्टेफान्भो र साउनमा रोमानियाली प्रेडा औरेलियनलाई पक्राउ गरेको थियो। यसअघि २०७१ मा समेत दुई घटना ब्युरोले सार्वजनिक गरेको थियो। दुई घटनाका अभियुक्तलाई जनही चारवर्ष कैद र बरामद रकम जफतको फैसला काठमाडौं जिल्ला अदालतले गरेको छ। अन्यको हकमा मुद्दाको सुनवाई जारी रहेको ब्युरोले जनाएको छ।

प्रकाशित: ११ मंसिर २०७३ १४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App