१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

परिवार नै उच्च जोखिममा

रौतहट - रौतहटको गढीमाई नगरपालिकाको एउटा विपन्न परिवारको स्वास्थ उच्च जोखिममा देखिएको छ। गढीमाई–२ समनपुरको मुस्लिम टोलका सफी महम्मद मन्सुरीको परिवार नै उच्च स्वास्थ्य जोखिममा रहेको देखिएको छ। घरमा एकजनालाई प्यारालाइसिस र दुई जनालाई मुटुरोगको गम्भीर समस्या देखिएकाले परिवारको स्वास्थ्य नै उच्च जोखिममा रहेको देखिएको हो।

मन्सुरीका साठी वर्षीय पिता नजिर मन्सुरी प्यारालाइसिसले थलिएर ओछ्यान परेका छन्। उनी हिँडडुल गर्न सक्दैनन्। उनलाई दिसापिसाब पनि अरूले नै गराइदिनुपर्छ। ओछ्यानमा उठबस गर्न उनलाई कसैले सहयोग नगरी हुँदैन। मन्सुरीकी पाँच वर्षीया छोरी कस्मिरा खातुन र साढे दुई वर्षको छोरो साहेब मन्सुरीलाई मुटुरोगले च्यापेको छ। मटुमा पानी जम्ने रोगले ग्रसित दुवैजनाको उपचार काठमाडौंस्थित सहिद गंगालाल हृदयरोग अस्पतालमा निकै समयदेखि भइरहेको छ। अलिअलि भएको कमाइ पनि उपचारमा खर्च भइसकेको छ।

आफ्नो घरघडेरी केही पनि नभएको र अर्काको जग्गामा छाप्रो बनाएर बस्दै आएको मन्सुरीका छोराछोरीलाई गंगालाल हृदय रोग अस्पतालले भारतको दिल्लीस्थित एम्स अस्पतालमा रेफर गरिदिएको छ। गाउँमा चन्दा उठाएर, भीख मागेर र ऋण काढेर मन्सुरीले ३० हजार रुपैयाँ जम्मा पारी उपचारका लागि दिल्ली गएका छन्। जानुअघि मन्सुरीले भने, ‘दिल्लीमा के हुन्छ, ठेगान छैन।’ रकमको अभावमा छोराछोरीको उपचार हुन नसक्ने हो कि भन्ने शंका मन्सुरीलाई छ।

६ महिनापहिले मन्सुरीकी ६ वर्षीया छोरी मुटुरोगकै कारण मरिन्। छोरीको मृत्युको शोकमा रहेको मन्सुरी परिवारलाई एकैसाथ छोरा र अर्की छोरीमा त्यहीं समस्या देखिएपछि गम्भीर चिन्ता लागेको छ। गाउँ र टोलमा चन्दा उठाउँदै मन्सुरी परिवारको सम्पूर्ण समय र श्रम उपचारमै जाने गरेको छ।

मन्सुरी र सहिदा आफू पनि समयसमयमा बिरामी परिरहन्छन्। परिवारको स्वास्थ्य उच्च जोखिममा रहेकाले उनीहरूले सहयोगका लागि हारगुहार गरेका छन् तर नगरपालिकाले समेत खासै सहयोग गर्न नसकेको मन्सुरीको भनाइ छ। स्थानीय समाजसेवी दीपेन्द्र श्रेष्ठले भने थोरबहुत सहयोग गर्दै आएको मन्सुरीको भनाइ छ।

‘कसैले कतैबाट सहयोग गरिदिए आफ्नो परिवार जोगिन्छ कि ?’ आशाको नजरले मन्सुरी छोरातिर हेर्दै भन्छन्। गला अवरुद्ध पार्दै मन्सुरी थप्छन्, ‘मेरो वंश नै विनाश हुने हो कि भन्ने डर छ।’ मन्सुरी परिवारको स्वास्थ्य उच्च जोखिममा रहेको र दिल्लीमा उपचारका लागि जाँदा उतै कसैबाट कुनै किसिमको सहयोगको पहल हुने झिनो आशा पनि रहेको उनी बताउँछन्।

प्रकाशित: १८ आश्विन २०७६ ०२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App