१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शताब्दी वर्ष पूजामा हेलिकप्टरबाट पुष्प वर्षा

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिकाको मत्सरीमा रहेको प्रसिद्ध शक्तिपीठ दुर्गा मन्दिरमा पूजा आरम्भ गरिएको शत वार्षिकीको अवसरमा हेलिकप्टरबाट पुष्प वर्षा गराइएको छ। जिल्लाकै प्रसिद्ध शक्तिपीठको रुपमा रहेको दुर्गा भगवतीको पूजा हुन थालेको सय वर्ष पुगेको उपलक्ष्यमा आकाशबाट पुष्प वर्षा गराइएको हो।

मन्दिर रहेको गाउँ मत्सरीबाट विभिन्न कामको शिलशिलामा काठमाडौँ उपत्यकामा रहेका युवाहरुको सक्रियता तथा व्यवस्थापनमा पूजाको शतवार्षिकी तथा मेलालाई विशेष बनाउन हेलिकप्टरबाट फूल बर्साइएको हो। बेललाई निमन्त्रणा दिइने विशेष उत्सवका लागि पुष्प वर्षा गराइएको थियो दुर्गा पूजाको लागि बनाइने मूर्तिको आँखाको नानी बनाउन बेलको बीउ प्रयो गरिने चलन छ। सप्तमीको दिन आँखा बनाइने हुनाले जुन बेलको रुखबाट बेल टिपेर ल्याइन्छ, त्यसलाई विशेष तान्त्रिक विधिले षष्ठीको दिन पूजा गर्ने चलन छ। बेलको पूजा गर्न मन्दिरबाट बेलको रुखसम्म विशेष झाँकी प्रदर्शन गर्ने चलन रहेको छ। मत्सरीमा हजारौँको सहभागितामा बेल पूजा अर्थात् बेल नेवतन गरिएको छ।

हेलिकप्टरबाट मन्दिरको बेल पूजाको डोलामा पुष्प वर्षा हुने भएपछि आसपासको गाउँबाट हजारौँ नरनारी मत्सरी पुगेका थिए। नेपालका विभिन्न जिल्ला तथा भारतको विभिन्न जिल्लाबाट दुर्गा मन्दिरमा दर्शन तथा पूजाका लागि मानिसहरु आउने गरेको मन्दिर व्यवस्थापनले जनाएको छ। 

पूजाको शतवार्षिकीको अवसरमा मन्दिर व्यवस्थापनद्वारा आयोजित पत्रकार सम्मेलनमा सय वर्षअघि गाउँमा अनेक महामारी फैलिएको र पूजा गरेपछि महामारीबाट गाउँलाई मुक्ति भएको सन्दर्भ सुनाइएको थियो। पत्रकार सम्मेलनमा संघीय साँसद एवम् राजपा नेपालको अध्यक्ष मन्डलका सदस्य अनीलकुमार झा, प्रदेश राज्यमन्त्रीद्वय डा. डिम्पल झा र योगेन्द्रप्रसाद यादव र गाउँपालिका अध्यक्ष अरुणकुमार साहको सहभागिता थियो।

गापा अध्यक्ष साहले मन्दिरलाई व्यवस्थापनको लागि चालू आर्थिक वर्षमा सात लाख रुपैया उपलब्ध गराउने निर्णय भएको बताएका छन्। यसैगरी प्रदेश राज्मन्त्री यादवले संसदीय विकास कोषको रकमबाट मन्दिरलाई २५ लाख रुपैया उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। अर्का राज्यमन्त्री डा. झाको पहलमा मन्दिरको एउटा घर ५० लाखको लगानीमा हालै निर्माण भएको छ।

कार्यक्रममा राजपा अध्यक्ष मन्डलका सदस्य साँसद झाले संघ सरकारको पर्यटन केन्द्रमा मत्सरीको दुर्गा भगवती मन्दिरलाई सूचीकृत गराउने प्रयास आफूले गरिरहेको बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App