दसैं मनाउने तरिका

शुक्रबार, १७ असोज २०७६, ०७ : ४१ डा. नम्रता पाण्डे

नेपालीको महान् चाड दसैं प्रत्येक वर्ष आउँछ। यो पर्व भित्तेपात्रोमा मात्र होइन, प्रत्येक नेपालीको आत्मामा अंकित हुन्छ। त्यसैले मनोवैज्ञानिक दृष्टिकोणले पनि यो पर्वको आफ्नै महत्व छ। दसैं आउने दिनगन्ती २–४ महिना अगाडिदेखि नै हुने गर्छ। खुसी साट्न होस् वा छुट्टी मनाउन, पारिवारिक जमघट होस् वा विदेशिएका नेपालीको घर फर्किने अवसर, कुनै नयाँ सामान किनमेल होस् वा मीठो खान आआफ्ना गच्छे र परिस्थितिअनुसार वर्षको एकपटक आउने दसैंको प्रतीक्षामा हुन्छन्, नेपाली। दसैं नजिकिँदै गर्दा त्यसैअनुरूप विभिन्न कार्यक्रम तय गरिएका हुन्छन्।

आत्मा अध्ययनको विज्ञानलाई मनोविज्ञान भनिन्छ। जुन कुरा व्यक्तिले आत्मादेखि सोचेको हुन्छ, त्यसलाई व्यवहारमा उतार्न खोज्छ। यसलाई चेतना स्तरअनुसारको सोच र त्यसबाट उब्जिने क्रियाकलाप भनेर पनि बुझ्न सकिन्छ। दसैं एउटा प्रमुख पर्व हो र यो धनी, गरिब, मध्यम वर्गीय सबैका लागि समान महत्व राख्ने चाड हो। जुनसुकै स्तरको चेतना र उमेरका नेपालीलाई यसले खुसी प्रदान गर्न खोजेको हुन्छ। व्यक्तिको आचरण, जीवनशैली र विधायकता अर्थात् उसको सोचाइले उसको खुसी र रमाइलो मापन गर्ने हो।

खुसी हुनलाई के चिज आवश्यक छ भन्ने मापन पनि एकै किसिमको नभएको र खुसी व्यक्तिको आन्तरिक स्वभाव अनि रमाउने कला भएको हुनाले दसैं सबैका लागि मनोवैज्ञानिक दृष्टिकोणले महŒवपूर्ण पर्व बनेको छ। अरूलाई देखाउन होइन, आफ्नो खुसीका लागि पर्व मनाउनुपर्छ भन्ने ज्ञान विकास भयो भने ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई’ उक्ति चरितार्थ हुन पाउने थिएन। जे छ, त्यसमै रमाउने बानी बसाल्न सके ऋण काढेर भए पनि खर्च गर्नुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न सकिन्थ्यो कि ?

अरूलाई देखाउन होइन, आफ्नो खुसीका लागि पर्व मनाउनुपर्छ भन्ने ज्ञान विकास भयो भने ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई’ उक्ति चरितार्थ हुन पाउने थिएन।

दसैंमा विशेषगरी नवदुर्गाको आराधना, मन्दिर दर्शन, खानपान र लवाइलाई विशेष महत्वसाथ लिइन्छ। सहरिया जीवनमा यी क्रियाकलापका लागि दसैं नै कुर्नुपर्ने बाध्यता नभए पनि दूरदराजमा, भौगोलिक विकटता र हरेक तरहले अवसरबाट वञ्चित नेपालीहरूलाई भने खुसी साट्न र मीठो खान दसैं नै आउनुपर्छ। त्यसैले पनि वर्ग, स्थान, स्तर र सामाजिक प्रचलनले दसैं कसैलाई दशासमेत बन्न पुगेको देखिन्छ। यो दशा बनाउने मानसिकता पनि व्यक्तिबाटै सिर्जित भएको हो भन्दा अनुपयुक्त नहोला।

दसैंमा पनि फलानोको घरमा मीठो पाकेन, कुनै रौनक र चहलपहल छैन भन्ने कुरा हामीबाटै निस्किन्छ र यसले नजानिँदो तरिकाले कसैलाई मनोवैज्ञानिक असर पर्न सक्छ। मीठो के हो ? जिब्रोको स्वाद मात्रै अवश्य होइन होला। गरिष्ठ भोजन, तेल, मसलायुक्त मांसाहार मात्रै पनि मीठो होइन होला। मीठो त त्यो हो, जसले आफ्नो स्वास्थ्यलाई फाइदा गर्छ। अब विचार गरौं– पर्वमा कस्ता परिकारलाई महत्व दिने ? स्वास्थ्यलाई फाइदा पु-याउने खालको वा स्वादका लागि खाएर अस्पताल धाउनुपर्ने परिकार ?

राम्रो पहिरन कस्तोलाई मान्ने ? महँगा लुगालाई वा जुन पोसाकमा व्यक्ति शालीन, भद्र र सरल देखिन्छ ? व्यक्तिको मूल्यांकन लवाइका आधारमा गर्ने कि उसको शील स्वभाव र आचरणका आधारमा ? भए, पुगे राम्रै लाउने, मीठै खाने, तर त्यसले आफूलाई आन्तरिक सुख र शान्ति दिन्छ कि दिँदैन ? रोजाइ आफ्नै हो। आफूलाई कसरी खुसी र सुखी राख्ने, त्यो कला पनि प्रत्येक व्यक्तिले जान्नु आवश्यक छ। अरूको लहैलहैमा लागेर देखावटीपनले दीर्घकालीन खुसी अवश्य दिँदैन।

विश्वमा इथोपियालगायत कैयौं देश छन्, जहाँ भोकमरीले मानिस पीडित छन् भने युरोपका कैयौं देश यस्ता छन्, जसले खाद्य सामग्री बढी भएर समुद्रमा बगाउँछन्। यो असन्तुलित स्थिति व्यक्तिको मनस्थितिसँग पनि मेल खान्छ। धनीभन्दा धनी व्यक्तिले पनि चाहँदैमा खुसी र रमाइलो प्राप्त गर्न सक्दैन। खुसीका लागि बाहिरी सम्पदाबाट होइन, मस्तिष्क खाली गरेर भित्र हृदयमा प्रार्थना, श्रद्धा, भक्ति र प्रेम जागृत गराउन सक्नुपर्छ। यहि सन्देश नवदुर्गाको आराधना र मन्दिर दर्शनले दिएको हुनुपर्छ।

मन्दिर जाने तर मनमा अशान्ति यथावत् रहने भयो भने के अर्थ भयो र ! मन र विचारको तलाबाट आफूलाई खाली बनाएर समष्टिप्रति प्रेम जागृत हुन सक्यो भने मात्र हाम्रो आराधना, उपासना र मन्दिर दर्शनको उपादेयता हुन्छ। नवदुर्गा आराधनाको अर्थ पशु बलि  दिएर देवी खुसी बनाउनु अवश्य होइन। आफूभित्र रहेको पशुत्वको बलि दिएर देवत्वको गुण धारण गर्नु हो। कुनै पनि प्राणीको जीवनलाई नष्ट पारेर विजय हासिल गर्छु भन्नु अहंकार हो, धर्म होइन। आजका मानिस ज्ञान, विज्ञान र साधनाले भरिपूर्ण भएर पनि भित्रबाट खाली र खोक्रा छन्। विज्ञानको चरम विकास र सफलता अनुपयोगी सिद्ध हुन पुगेको छ। हृदय नाम मात्रको रोबोर्ट जस्तो छ, जहाँ प्रेम होइन, धारणा बसेको छ।

धर्म, पर्व र मानव चेतनाबीच कुनै संघर्ष र लडाइँ नहोस्। मानिसको जीवन बाहिर–भित्र दुवै आयामबाट समृद्ध बन्न सकोस्। सबैको हृदयमा देवत्व चेतना जागृत हुन सकोस्। भगवत्ताको सुवास चारैतिर फैलिन सकोस् र ध्यान र प्रेमरूपी दुई पखेटाका माध्यमबाट मानिस चेतनाको आकाशमा स्वतन्त्र उडान भर्न सकोस्। विद्रोह होइन, मैत्री भाव विकास हुन सकोस्, तब आर्जन गरेको भौतिक सम्पत्ति सार्थक रूपमा भोग गर्न सकिन्छ र हरेक पर्व हर्षसाथ मनाउन सकिन्छ। मानिसमा संवेदना जागृत भई पहाडपर्वत, नदीनाला, बोटबिरुवा  र पक्षीलाई पनि जीवित देख्न चाहने र सबैमा अस्तित्वको उस्तै ऊर्जा प्राप्त छ भन्ने बोध हुनु चेतना जागृत भएको अवस्था  हो।

पृथ्वीमा सिर्जना भएका सबै प्राणी र पदार्थ, चन्द्रमा, तारा, आकाशमण्डल, त्यही परम चेतनाका हिस्सा हुन् भन्ने बोध जागृत हुनासाथ सबै सम्भावनाका ढोका खुला हुनेछन्। बिनासंघर्ष, बिनाचुनाव, बिनाकथा–व्यथा आफ्नो सकारात्मक ऊर्जा जागृत गर्दै चेतनाको स्तरबाट आनन्द प्राप्त गर्न सक्ने खुबी नै खुसी र हीनताबोध बीचको भिन्नता बोध गर्न सक्नु हो।

ऋण नबोकीकन दसैं मनाउन हाम्रो खानपानमा धेरै ध्यान दिनु जरूरी छ। हिजोआज आधुनिक र सभ्य समाजमा मात्रा अड्कलेर भोजन गर्ने, क्यालोरी, भिटामिन, क्याल्सियम आदि लेखाजोखा गर्ने र गुणस्तरीय मापन गरिएका वस्तु मात्र प्रयोग गर्ने अभ्यास बढेको छ। यो धेरै राम्रो कुरा हो, तर विज्ञान नबुझ्नेले, मात्रा र क्यालोरी नबुझ्नेले पनि कस्तो भोजन ग्रहण गर्न उपयुक्त छ भनेर जान्न मात्र ३ वटा गुण थाहा पाए पुग्छ। जस्तै ः भोजन त्यस्तो होस्, जसले स्फूर्ति प्रदान गरोस्। भोजन त्यस्तो नहोस्, जसले उत्तेजना पैदा गरोस्। भोजन त्यस्तो होस्, जसले मादकतामा नलगोस्। पर्वमा छुट्टी हुने अनि रमाइलोका नाममा अति भोजन गर्ने प्रचलन छ।

अति भोजनले आलस्यतामा लैजान्छ र शक्ति वृद्धि होइन, झन् हराएको अनुभूति हुन्छ। किनकि खाएको खाना पचाउनै धेरै शक्ति खेर जान्छ। भोजनपछि आलस्य होइन, स्फूर्ति आयो भने मात्र हाम्रो भोजन स्वास्थ्यवद्र्धक भयो भन्ने बुझ्नुपर्छ। मादकता र उत्तेजना दिने भोजन ग्रहण गर्नाले शरीरका कोशहरू समेत बेहोस र निष्क्रिय हुन पुग्छन्। जसका कारण हाम्रो विचार पनि त्यस्तै बन्छ। अनि विचार जस्तो बन्छ कर्म पनि त्यस्तै हुन्छ।

किनकि शरीर र विचार आपसमा सम्बन्धित छन्। यसलाई नै साइकोसोमेटिक भनिन्छ। त्यसैले जे परिणाम शरीरमा आउँछ, त्यो विचारसँग जोडिन्छ भने जे परिणाम विचारमा आउँछ, त्यो शरीरसँग जोडिन्छ। यही कारण हो– भोजन ग्रहण गर्दा विवेक अपनाउनुपर्ने। हामीलाई होस र विवेकपूर्ण भएर पर्व मनाउनु छ, बेहोसी भएर होइन।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad