१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आँकलन यस्तो ?

फुटबलमा सामान्यतया इतिहास र वर्तमानको प्रदर्शनकै आधारमा जित्ने टोलीको अनुमान गरिन्छ। तर, फ्रान्समा जारी युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनल समीकरण पूरा हुँदा भने इतिहासका आधारमा गरिएको आँकलन एउटा खेलमा असफल भएको छ। विश्वकप विजेतासमेत रहेको इङ्ल्यान्ड सानो मानिएको आइसल्यान्डसँग पराजित हुँदा फुटबलका धेरै समर्थक आश्चर्यमा परेका छन्। त्यो स्वाभाविक पनि हो। ३ लाख ३० हजार हाराहारी जनसंख्या रहेको आइसल्यान्डले इङ्ल्यान्डलाई हराउँछ भन्ने कमैको अनुमान थियो। कम्तीमा फुटबल पछ्याइरहेका लागि त्यो विल्कूल सोचेभन्दा फरक नतिजा हो। तर, अप्रत्यासित नतिजा फुटबलमा त्यो पहिलो वा अन्तिम भने होइन। इतिहासमा अन्डर मानिएका टोलीले जितेका छन् र भोलिका दिनमा पनि त्यो रहनेछ।

इङ्ल्यान्डलाई हराएका कारण आइसल्यान्डको अबको प्रतिद्वन्द्वी फ्रान्समाथि पनि स्वाभाविक रूपमा दबाब भने पर्नेछ। यदि इङ्ल्यान्डजस्तै फ्रान्सलाई पनि हराउन सके आइसल्यान्डका लागि त्यो युरोपियन च्याम्पियनसिप जिते बराबरको अर्थ लाग्ने नतिजा हुनेछ। पहिलोपटक युरोपियन च्याम्प्यिनसिपमा भाग लिइरहेको आइसल्यान्डले अहिलेसम्म जहाँसम्म यात्रा तय गरेको छ, त्यो नै इतिहासकै ठूलो सफलता हो। अब जति पनि सफलता प्राप्त गर्न सक्छ त्यो भविष्यमा युरोपको एउटा बलियो र राम्रो टोली बन्ने सम्भावनाका लागि आधार हुनेछ।

समूह चरणदेखि क्वार्टरफाइनल अघिसम्म अप्रत्याशित नतिजा आउनेक्रम जारी छ। अब क्वार्टरफाइनलभन्दा अगाडि भने अप्रत्याशित नतिजा आउनेक्रम कम हुनसक्छ। च्याम्पियनसिपमा बाँकी रहेका ८ मध्ये ५ टोलीसँग फाइनल खेलेको अनुभव छ। ती ५ मध्ये फ्रान्स, जर्मनी र इटाली तीन टोली विजेता भइसकेका छन्। यसपटकको खेलतालिकाअनुसार यी तीनमध्ये एउटा टोलीमात्र फाइनल पुग्न सक्छन्। या फेरि अप्रत्याशित नतिजालाई निरन्तरता दिन सके आइसल्यान्डले फाइनल खेल्नेछ। अर्कोतर्फ एक–एकपटक फाइनल खेलेका पोर्चुगल, बेल्जियम तथा पोल्यान्ड र वेल्समध्ये एक टोली फाइनल पुग्नेछ। इतिहासलाई एकछिन छाड्ने हो भने अब सबै टोलीको सम्भावना बराबरी रहन्छ। आइसल्यान्डले इङ्ल्यान्डलाई हराएबाट पनि फुटबलमा अनुमान गरेकै नतिजा आउनुपर्छ वा आउँछ भन्ने छैन। साबिक विजेता स्पेन पनि प्रिक्वार्टरफाइनलबाट बाहिरिनु अप्रत्याशित नतिजाभन्दा कम होइन। मात्रै स्पेन टोली इटालीसँग हारेकाले आइसल्यान्डकै जतिको सफलताका रूपमा भने हेरिएको छैन। कारण इटाली चार वर्षअघि त्यही स्पेनसँग फाइनल खेलेको थियो।

पोल्यान्ड र पोर्चुगलबीच पहिलो क्वार्टरफाइनल हुँदैछ। समूह चरणमा एक गोल सामना नगरी अघि बढे पनि पोल्यान्डले सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन। क्लब फुटबलमा ९ मिनेटमा ५ गोल गर्दै कीर्तिमान बनाएका रोबर्ट लेवान्डोवस्की पछिल्लो चार खेलमा छायाँमा छन्। उनी मैदानमा भएको न कुनै आभाष छ न त टोलीको सफलतामा उनको उल्लेख्य भूमिका। टोलीका ठूला मानिएका स्टार नचल्दा त्यसको असर पक्कै पनि टोलीमाथि पर्नेछ। पोर्चुगलसँगको खेल उनका लागि एउटा राम्रो मौका हो। त्यसमा पनि उनी असफल भए भने यो च्याम्पियनसिप उनका लागि बिर्सनलायक हुनेछ। समूह चरणमा विश्व च्याम्पियन जर्मनीलाई रोक्नु पोल्यान्डको सफलता मान्न सकिएला। तर, स्विट्जल्यान्डसँगको प्रिक्वार्टरफाइनलमा भने टोली निकै कमजोर देखिएको थियो। त्यही प्रदर्शन दोहोरिएमा पोर्चुगललाई हराउन कठिन हुनेछ। पोल्यान्डले धेरै गोल खाएको छैन, त्यो टोलीको सकारात्मक पक्ष हो। सँगै टोलीले धेरै गोल पनि गर्न सकेको छैन। फुटबलमा रोकेर मात्र जितिन्न गोल पनि गर्नुपर्ने हुन्छ। अर्को एउटा रणनीति भनेको गोल गर्न नसक्दा विपक्षीलाई गोल गर्न नदिएर पेनाल्टी सुटआउटको भाग्य परीक्षासम्म लम्ब्याउन सक्नुपर्छ। तर, रक्षात्मक फुटबल पूरा समय खेल्नु आफैमा कठिन कार्य हो।

उता पोर्चुगलले दाबेदार मानिए पनि जारी च्याम्पियनसिपमा भने अन्डरडग टोलीकै जस्तो प्रदर्शन गर्दै आएको छ। टोलीको राम्रो पक्ष भनेको समूह चरणको अन्तिम खेलमा स्टार क्रिस्टियानो रोनाल्डो फर्ममा फर्केको संकेत गरेका छन्। गोल खाए पनि टोलीले विपक्षीमाथि गोल गर्न सफल भएको छ। समूह चरणदेखि निकै संघर्ष गर्दै क्वार्टरफाइनलमा पुग्दा टोलीको प्रदर्शनमा पनि सुधार हुँदै आएको छ। रोनाल्डो, नानी र आन्द्रे गोमेज, रिकार्डो कोरेसामी जस्ता खेलाडी चलिरहेका छन्। समूहको अन्तिम खेलमा तीनपटकसम्म पछि परेर पनि बराबरी  गर्नु पोर्चुगलको ठूलो सफलता मान्नुपर्छ। पोर्चुगललाई रोनाल्डो हुनुको फाइदा छ। उनी हुनु भनेको विपक्षीलाई सधँै कठिन हो। उनी डेड बलमा निकै उत्कृष्ट छन्। उनी जुनसुकै समयमा पनि खेल आफ्नो पक्षमा पार्न सक्ने खुबी राख्छन्। पोल्यान्डविरुद्ध पोर्चुगलको बढी सम्भावना छ।

दोस्रो क्वार्टरफाइनलमा जारी च्याम्पियनसिपमा चम्किएको वेल्स र विश्व वरीयताको दोस्रो स्थानको बेल्जियम छन्। दुवैले उच्च प्रदर्शन गर्दै आएका छन्। यी दुईमा केही अन्तर छ। वेल्स टोलीले सबैभन्दा ठूला स्टार गारेथ बेलको प्रेरणामा र प्रभावकारी खेल प्रदर्शन गरिरहेको छ। बेल्जियममा भने सामूहिक प्रदर्शनबाट सफलता प्राप्त गरिरहेको छ। वेल्समा अन्य खेलाडी बेलको छायाँमा छन्। तर, बेल्जियममा इडेन हाजार्ड, रोमेलु लुकाकु, केभिन डी ब्रुयेने जस्ता स्टार छन्। पहिलो खेलमा इटालीसँग हार्नु बाहेक हरेक खेलमा बेल्जियम हाबी हुँदै आएको छ। प्रिक्वार्टरमा आइपुग्दा टोलीले विश्वको दोस्रो टोली हुनुको थप प्रमाण दिने क्रममा हंगेरीमाथि ४–० को एकतर्फी जित निकालेको छ। हंगेरीसँगको प्रदर्शनलाई बेल्जियमले निरन्तरता दिन सके वेल्समात्र होइन च्याम्पियनसिपमा बाँकी कुनै पनि टोलीले उसलाई हराउन कठिन हुनेछ। समूह चरणमा जुन प्रभाव छोड्न वेल्स सफल भएको थियो प्रिक्वार्टरमा त्यो प्रदर्शन गर्न सकेन। उत्तरी आयरल्यान्डको आत्मघाती गोलबाट वेल्स अघि बढेको हो। बेल्जियमले भने प्रिक्वार्टरफाइनलमा सबैभन्दा फराकिलो जित हासिल गर्दै अगाडिको यात्रा तय गरेको थियो। एकरुप प्रदर्शन गर्न जुनै टोलीलाई पनि कठिन हुन्छ। यदि क्षमताअनुसारको प्रदर्शन गर्ने हो भने युरोपमा यही टोलीले जित्छ भन्ने ठकुवा गर्न भने कठिन छ। बेल्जियमले क्षमताअनुसार प्रदर्शन गर्ने हो भने वेल्सले त्यो टोलीलाई रोक्न गाह्रो पर्न सक्छ।

प्रकाशित: १६ असार २०७३ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App