१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दूध संकलकदेखि सफल दुग्ध व्यवसायी

बनेपा- ‘ढुवानीका साधन नहुँदा धेरै समयसम्म क्यान र ड्रममा भरिया लगाएर पनौतीसम्म दूध पुर्‍याउने काम गरियो,’ रवीन्द्र भन्छन्, 'संस्थानलाई दूध बेच्दाबेच्दै उद्यमी बन्ने आँट र विश्वास आयो। सुरुमा दूध चिस्यान केन्द्र राख्ने र त्यसपछि क्रमशः दूधका परिकार उत्पादन गर्दै बजारमा लैजाने योजना बनाएँ।’

रवीन्द्र हुमागाईं, जिल्लामा कहलिएका दुग्ध उद्योगी हुन्। कुशादेवी–७ का  हुमागाईं ०५४ सम्म साथीको दूध संकलन केन्द्रमा दूध बेच्न जान्थे। पछि साथीको केन्द्र आफैंले लिए। केन्द्र सम्हालेकै दिन जम्माजम्मी १७ लिटर मात्रै दूध संकलन भएको थियो।

अहिले उनले दैनिक तीन हजार पाँच सय लिटर दूध संकलन मात्रै गर्दैनन्, प्रशोधनसहित चिस्याउने गर्छन्। यसरी प्रशोधित केही दूध काठमाडौं पठाउँछन् भने केहीबाट पनिर र खुवा उत्पादन गर्छन्।

‘साथीले दूध भर्ने काम गर्नुहुन्थ्यो। उहाँले बीचैमा छाडेपछि मजस्ता धेरै किसानलाई मर्का पर्ने देखेर आफैं अग्रसर भएको हुँ,’ ४५ वर्षे हुमागाईंले भने।

दूध संकलन परिमाण बढ्ने क्रमसँगै कृषकलाई अग्रिम रकम भुक्तानी दिनुपर्थ्यो, सुरुमा उनलाई सहकारी संस्थाले सघाए। 'गाउँमै खुलेको हाम्रो बैंक बचत तथा ऋण सहकारी र पनौतीको ज्योति सहकारी दुवैबाट गरी सुरुमा सात लाख रुपैयाँजति ऋण लिएँ,' हुमागाईं भन्छन्, 'त्यसपछि मलाई कहिल्यै चालू पुँजीको अभाव भएन।’

पछि तत्कालीन अन्नपूर्ण विकास बैंकले समेत थप ऋण प्रदान गरेर काममा निरुन्तरता दिन प्रेरणा गरेको उनले बताए।

गाउँमा संकलित कच्चा दूधलाई पनौतीस्थित दुग्ध विकास संस्थानको चिस्यान केन्द्रसम्म पुर्‍याए, यो क्रम धेरै समय चल्यो।

अन्ततः उनले ०६६ मा हिमालयन दूध चिस्यान केन्द्र दर्ता गरेर लामो यात्रालाई उद्योगमा रूपान्तरण गरिछाडे। उनी भन्छन्, ‘दूधलाई चिस्याउने मेसिन र भ्याट ल्याएँ। त्यसपछि संकलित दूधलाई चिसो पारेर काठमाडौंका बजारमा पुर्‍याउने काम सुरु भयो।’

कुशादेवीमा निजीस्तरको पहिलो दूध चिस्यान केन्द्र उनकै संलग्नतामा स्थापना भएको हो। तत्कालीन सामुदायिक पशु विकास आयोजनाले कुशादेवी क्षेत्र दूध उत्पादनका लागि उपयुक्त भएको ठहर गर्दै केन्द्र स्थापनामा सहयोग गरेको थियो।

हुमागाईंले केही समय काभ्रे उद्योग वाणिज्य संघमार्फत सार्वजनिक–निजी साझेदारीमा सञ्चालित 'एक गाउँ, एक उत्पादन' अन्तर्गत कुशादेवीको डेरी क्षेत्रमा उपसमितिका संयोजक भएर काम गरे। आफूले सञ्चालन गरिरहेको चिस्यान केन्द्रलाई स्तरोन्नति गर्दै दुग्ध प्रशोधन उद्योग नै स्थापना गर्ने उनको लक्ष्य थियो, त्यसैले अहिले संयोजकको जिम्मेवारी त्यागेर आफ्नै उद्योगको विस्तारमा लागेका छन्।

उनको कार्यशैलीलाई कदर गर्दै पशु सेवा विभाग अन्तर्गतको पशु उत्पादन निर्देशनालयले थप मेसिनरी किन्नका लागि १० लाख रुपैयाँ अनुदान दिएको छ। अनुदान पाएर हौसिएका उनले दूधलाई पास्चुराइजेसन गर्ने प्रणाली नै जडान गरेका छन्, ‘हिजो चिसो मात्रै बनाएको दूध बजारमा लैजान्थेँ। अहिले प्रशोधन गरेर लैजाने गरेको छु,’ हुमागाईंले भने।

हालसम्म उनको लगानी ६५ लाख रुपैयाँ हाराहारीमा पुगेको छ। आफ्नो कामको स्तरोन्नतिसँगै उनले दूध उत्पादनमै अग्रणी रहेको कुशादेवी र रयाले गाविसमा ११ वटा दूध संकलन केन्द्र स्थापना गर्न मद्दत गरेका छन्। संकलन केन्द्र र आफ्नो उद्योगमा गरी ४० जनालाई प्रत्यक्ष रोजगारी समेत दिइरहेका छन्। गाउँमै दुग्ध उद्योग स्थापना भएपछि किसानले दूधको राम्रो मूल्य पाउन थालेका छन्।

कुशादेवीमा उत्पादन र प्रशोधन भएको गाईभैंसीको शुद्ध दूधलाई उनले जिपमा रहेका ट्यांकीमार्फत दैनिक काठमाडौं पठाउँदै आएका छन्। दूधको गुणस्तर र स्वच्छता कायम गर्न ढुवानीमा इन्सुलेसनसहितको स्टिल ट्यांकी प्रयोग गरेका छन्। हालैदेखि उत्पादन हुन थालेको पनिर र खुवा पनि उतै पठाउने गरेका छन्।

‘प्रशाधित भई चिसो बनाइएको दूधलाई स्टिलबाहेक अन्य ट्यांकीमा ढुवानी हुँदा तापक्रम बढ्न गई जीवाणुको संक्रमण हुने सम्भावना बढ्छ। ४ देखि १० डिग्री तापक्रमसम्म दूध ढुवानी गर्दा गुणस्तर कायम रहने भए पनि प्लास्टिकका ट्यांकीमा यो सम्भव छैन। त्यसैले स्टिलमा लगानी गरेको हुँ,’ हुमागाईंले भने। 

बिहानै कुशादेवीबाट प्रशोधित दूध लिएर गुड्ने हिमालयन चिस्यान केन्द्रका दुई जिपले कोटेश्वर, चावहिल, सुकेधारा, महाराजगन्ज, बसुन्धाराचोक, गोंगबु र वनस्थलीमा रहेका विक्रेताकहाँ दूध पुर्‍याउँदै आएका छन्। माघ १ देखि परीक्षणका रूपमा किसानसँग बिहान–बेलुकै दूध संकलन र प्रशोधन गरी काठमाडौं पठाउनेबारे उनी सम्भाव्यता हेर्दै रहेका छन्।

‘प्रशोधित दूध नियमित भइहाल्यो। योसँगै गुणस्तरीय दही, खुवा, पनिर, आइसक्रिम, नौनीघिउ र पुष्टकारीजस्ता दुग्ध पदार्थ उत्पादन गर्ने योजना  छ,’ हुमागाईंले भने।

पछिल्ला वर्ष काभ्रे जिल्लामा पशुपालन व्यावसायिक हुँदै गएको र निरन्तर दूध उत्पादन बढिरहेको दुग्ध उत्पादक सहकारी संघले जनाएको छ। 'हाम्रै अध्ययनले पनि काभ्रेबाट दैनिक दुई लाख लिटर अप्रशोधित दूध काठमाडौं उपत्यका जाने गरेको देखाएको छ,' अध्यक्ष नारायणप्रसाद बडालले भने।

विश्व खाद्य संगठनको सन् २०१० मा प्रकाशित तथ्यांकअनुसार काभ्रेका दुई सय ६७ दुग्ध उत्पादक सहकारी संस्थाले उक्त वर्ष ७२ हजार एक सय मेटि्रक टन अप्रशोधित दूध उत्पादन गरेका थिए। यो मुलुकमै सबैभन्दा बढी उत्पादन रेकर्ड हो।

प्रकाशित: ११ मंसिर २०७३ ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App