१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सातै प्रदेशमा टेलिकमको फोरजी

सातै प्रदेशमा नेपाल टेलिकमको फोरजी सेवा सुरु गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीलगायत। तस्बिरः रासस

काठमाडौं – नेपाल टेलिकमको फोरजी सेवा सातै प्रदेशमा विस्तार भएको छ। बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सेवाको उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री ओलीले सो कार्यक्रममा बोल्दै मुलुक राजनीतिक अधिकार प्राप्तिको काम सम्पन्न गरेर सुशासन र विकासतर्फ अघि बढेको बताए। प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकांक्षा सकेसम्म छिटो प्राप्त गर्ने गरी नीति तथा कार्ययोजना बनाई कार्यान्वयनमा अघि बढेको बताए। सरकार ‘विकासको बाटोमा नेपाल हरेक दिन एक कदम अगाडि’ अभियानका साथ अघि बढेको दाबी गर्दै प्रधानमन्त्री ओलीले पुँजीमात्र नभएर प्रविधि हस्तान्तरणमा समेत जोड दिने बेला आएको बताए।

उनले उत्पादन र विकासमा प्रविधि प्रयोगको निरन्तरताको रूपमा टेलिकमले ल्याएको फोरजी एलटिईले शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले टेलिकमले निर्धारित समयमै आफ्ना योजना सम्पन्न गरेकोमा प्रसंसा गर्दै अप्टिकल फाइबर विस्तार लगायत योजना समयमै सम्पन्न गर्न निर्देशन दिए। ‘सरकारले हरेक काम तीव्र गतिमा गर्ने नीति अगाडि सारेको छ। ढिलासुस्ती स्वीकार्य छैन,’ ओलीले भने, ‘ढिलासुस्तीले राष्ट्रलाई नोक्सान गर्छ। जिम्मा पाएको काम कसैले समयमै गर्न सक्दैन भने हस्तक्षेप गरेर अर्को प्रक्रिया अगाडि बढाउनुस्।’ उनले समय र गुणस्तरमा कसैसँग सम्झौता नगर्न पनि निर्देशन दिए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले यो सरकार आउनुअघि प्रोजेक्ट होली डेको अवस्थामा रहेको टेलिकमले अहिले नौ ठूला परियोजना सञ्चालन गरिरहेको बताए। उनले फोरजीको योजना सम्झौताको सात महिना मै देशको प्रमुख सहरमा विस्तार हुनु गौरवको कुरा रहेको बताए। उनले टेलिकमले दूरसञ्चारको ५५ प्रतिशत हिस्सा समेट्न सकेको र साधारण नागरिकको क्रयशक्तिभित्र रहेर काम गर्दै आएको बताए। मन्त्री बास्कोटाले टेलिकमले अघि सारेको अप्टिकल फाइबर विस्तारको काम प्रदेश १, २ र ३ मा १८ महिनामा सम्पन्न गर्ने र बाँकी प्रदेशमा छिट्टै काम अगाडि बढाउने बताए।

प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फेरेन्स गरेर फोरजी एलटिईको सुरुवात गरेका थिए।

नेपाल टेलिकमले सातै प्रदेशका ३६ जिल्लाका ५० भन्दा बढी सहरमा बुधबारदेखि फोरजी एलटिई सेवा सुरु गरेको छ। एलटिई एडभान्स नाम दिइएको यो प्रविधिले साबिकको फोरजीले भन्दा बढी डाटा स्पिड दिने टेलिकमले जनाएको छ। हाल यसको परीक्षण डाटा २४७ एमबिपिएस रहेको छ, जसको औसत डाटा १५० एमबिपिएस रहेको टेलिकमले जनाएको छ। कार्यक्रममा टेलिकम सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले फोरजी एलटिईसँगै टेलिकमले फाइभजीको पाइलटिङको काम सुरु गरेको बताए।

प्रकाशित: १६ आश्विन २०७६ ०२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App