१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लोभमा फस्दा ऋणमा डुबियोे

बर्दिया - डेढ साताअघि भारतीय ओरियन्स कम्पनीको सदस्य बनेसँगै मधुवन नगरपालिका–४ का १८ वर्षीय राजकुमार थारू आफूले देखेको सपना साकार हुनेमा विश्वस्त थिए । सदस्य बन्न उनी ६० हजार भारु (९६ हजार नेपाली) लिएर भारतको लखिमपुर पुगेका थिए । त्यहाँ चार दिनको तालिम लिएर फर्किएका उनले गाउँगाउँमा ओरियन्सको सदस्य बनाए मनग्य कमाउन सकिने लालसा अरूलाई पनि देखाए ।

अरूलाई विश्वस्त पारेर ओरियन्सको सदस्य बनाउन लागिपरेका उनी मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीको फोन आउँदा भने छाँगाबाट खसेझैं भएँ । ‘ठगीमा संलग्न ओरियन्स कम्पनीको सदस्य बन्नुभएको रहेछ । तुरुन्त प्रहरी कार्यालय आउनुस्’ भन्दा मीठो भविष्यको कल्पना गरेका उनलाई एकछिन त जमिन भासिएजस्तो अनुभव भयो । रातारात धनी बन्ने उनको सपना क्षणभरमै भंग भयो । उनी यतिखेर छिँडीको बास हुने हो कि भन्ने चिन्ताले ग्रसित छन् । ‘म फटाहा होइन सर,’ प्रहरी कार्यालयमा भेटिएका उनी भन्दै थिए, ‘भविष्यमा नाम र दाम कमाउने सपना देख्दा फसेको हुँ ।’ राजकुमार विपन्न परिवारका हुन् । ‘सुखका दिन आए भनेको त दुःख पो सुरु भएछ,’ उनले भने, ‘त्यत्रो ऋण कसरी तिर्नु ? मेरो त सर्वस्व गुम्यो ।’

ओरियन्सको सदस्य बनेकी ठाकुरबाबा नगरपालिका–१ की रामप्यारी थारूको कथा पनि कम पीडादायी छैन । प्रलोभनमा फस्दा उनको पनि ९६ हजार रुपैयाँ डुबेको हो । ‘ऋण खोजेर सदस्य बनेको हुँ । आम्दानी होला भनेको त ठगिन पो पुगेछु । अब कसरी ऋणमुक्त हुने भन्ने चिन्ता थपिएको छ,’ उनले भने ।

यी दुई प्रतिनिधि पात्र मात्र हुन् । प्रहरीले बोलाउँदै बयान लिन थालेपछि जिल्लाभित्रका ओरियन्स सदस्यले आफू ठगिएको भन्ने थाहा पाउन थालेका छन् । झुक्याएर ओरियन्स सदस्य बनाउँदै ठग्ने गिरोह देशभर नै सक्रिय रहेको पीडितको प्रारम्भिक बयानबाट खुलेको छ । ओरियन्स अधिकांश सदस्य छिमेकी र आफन्तबाट प्रलोभनमा पर्दा फसेको भेटिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको नेतृत्वमा जिल्ला–जिल्लामा समन्वय गरेर भारतीय ओरियन्स कम्पनीको ठगी धन्धा नियन्त्रण गर्न अध्यन र अनुसन्धान सुरु गरिरहेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।

‘गरिब बस्तीबाट नेपालीको लाखौं रुपैयाँ अवैध तरिकाले भारततर्फ गइरहेको पुष्टि भएको छ,’ प्रजिअ कुरुम्बाङले भने, ‘सूक्ष्म रुपमा अनुसन्धान थालेको छौं, यसको परिणाम छिटोभन्दा छिटो सार्वजनिक गर्छोैं ।’ ठगीमा संलग्नलाई पक्राउ गर्ने, जाहेरी लिने र दोषी देखिए कानुनी कारबाही अघि बढाउने प्रक्रिया भइरहेको उनले खुलाए । यसअघिको युनिटी इन्टरनेसल अवैध नेटवर्किङको जस्तै ओरियन्सको औषधि बेच्नेको सञ्जाल पनि देशभर नै रहेको उनले जानकारी दिए ।

अवैध औषधि बिक्री गर्ने र जति सक्यो त्यति पैसा उठाउनेगरी भारतीय ओरियन्स कम्पनीका गिरोह बस्तीबस्तीमा छिरेका छन् । प्रहरीले अनुसन्धानका क्रममा बाँके, बर्दियाका सीमाक्षेत्रका नेपाली ठगिएको र दाङ, मोरङ, झापा, महोत्तरी, कैलाली कञ्चनपुरसम्म ओरियन्स सञ्जाल रहेको भेटिएको हो । मोरङमा ओरियन्स सदस्य धेरै भएको खुलेको छ । दाङ प्रहरीले यसअघि ओरियन्स सदस्य बनाउने गिरोहका नाइके दुई जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको थियो ।

सल्यान कालिमाटीका हाल दाङ तुल्सीपुर–७ बस्ने कमल कँडेल र रोमन पंगेनी रिजाललाई पक्राउ गरी दाङ प्रहरीले मुद्दा दायर गरेको थियो । अदालतले रिजाललाई दुई लाख धरौटी र कँडेललाई सामान्य तारेखमा छाड्ने आदेशपछि दुईजना रिहा भएका छन् । ओरियन्स कम्पनीका गिरोहले खासगरी ग्रामीण क्षेत्रमा गोप्य रूपमा सञ्जाल बढाइरहेको स्रोतको दाबी छ । पश्चिम क्षेत्रमा ललाई फकाई ओरियन्सका सदस्य बनाउने नाइकेले भारतमा बसेर अवैैध धन्दा चलाइरहेको खुलेको छ । दोस्रो स्तर नाइके लुकीछिपी नेपालमै हिँडिरहेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए । देशभरमा अधिकांश जिल्लामा ओरियन्स सर्वसाधारणलाई ठगिरहे पनि प्रभावकारी अध्ययन नभएका कारण प्रहरीलाई छक्काएर सो धन्दा जारी राखिएको स्रोतको दाबी छ ।

चिकित्सकको भेषमा आरियन्स सदस्य घरघरमा
ओरियन्सका गिरोहले नेपाली युवतीहरू परिचालन गरेर सदस्य बढाइरहको पाइएको छ । चिकित्सकको भेषमा बढैयातालमा गाउँपालिका कालिकामा घरघरमै पुगेर ओरियन्स ग्राहक बनाएको पाइएको छ । सुगर, ब्लडप्रेसर, हर्टबिट जाँच गर्ने सामग्री बोकेर घरघरै पुगेका ओरियन्सका सदस्यले फकाइफुल्याई सदस्य बनाइरहेको तथ्य सार्वजनिक भएको छ । नाम नखोल्ने सर्तमा जनप्रतिनिधिसमेत रहेका एकजनाले आफूसमेत ओरियन्सको सदस्य जालमा फसेको बताए । ‘मलाई समेत झुक्याएर सदस्य बनाए,’ उनले भने, ‘गाउँगाउँमा यसको अवस्था कस्तो होला, अनुमान गरौें ।’ नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि मात्र ओरियन्स भारतीय कम्पनी रहेको थाहा पाएको उनको भनाइ छ । उनका अनुसार झापा जिल्लाबाट आएको बताउने विनी तामाङले बढैयातालमा सक्रियतासाथ ओरियन्सको सदस्य बनाएकी हुन् । ‘भारतीय नम्बर प्लेटको मोटरमा आएर ललाई, फकाई, झुक्याई सदस्य बढाउने काम गर्दै आएकी छन्,’ उनले भने ।

तामाङ कालिकास्थित स्वास्थ्य चौकिमा कार्यरत स्वास्थ्यकर्मीसँग मिलेर घरघरमै पुग्ने गरेको स्थानीयले बताए । ‘सरकारी स्वास्थ्यकर्मी पनि ओरियन्सका सदस्य बनाउन हिँँड्छन्,’ एक स्थानीयले भने, ‘यस्तै यस्तै व्यक्तिको विश्वासमा पर्दा ओरियन्सका सदस्य बढिरेहका छन् ।’ उनका अनुसार गाउँमा एक साताअघि मात्र २० जनाभन्दा बढीले ओरियन्स कम्पनीको सदस्यता लिएका छन् । सदस्य बनेकाले दुईजना सदस्य अनिवार्य रूपमा कम्पनीको सदस्य बढाउनुपर्ने बाध्यकारी नियम कम्पनीले लागु गरेको छ ।

यसैबीच थारू समुदायमा ९६ हजार रुपैया लिएर सदस्यता बनाएको ओरियन्स पहाडी समुदायको बस्तीमा १० हजार रुपैयाँसम्ममै सदस्यता दिने गरेको खुलेको छ । नागरिकलाई प्राप्त जानकारीअनुसार पहाडी समुदायमा न्यूनतम ६ हजारदेखि १० हजार तिरे सदस्यता पाइन्छ भने थारू समुदायमा ९६ हजार तिरे मात्र ओरियन्स सदस्य लिएको भेिटएको हो । पहाडी समुदायमा धेरैभन्दा धेरै बनाएर ठगी गर्ने योजना बुनेको हुन सक्ने प्रहरी निरीक्षक वलीले वताए । शिक्षित नभएको समदायमा ९६ हजार दिनुपर्ने बाध्यता बनाउने गरेको उनको भनाइ छ ।

प्रकाशित: १६ आश्विन २०७६ ०२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App