१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राप्रपामा फेरि वैचारिक विवाद

काठमाडौं- पार्टी एकीकरणको साता नबित्दै राप्रपाभित्र वैचारिक विवाद देखिएको छ। सोमबार राजधानीमा कार्यक्रम आयोजना गरी एकीकरण घोषणा गरिएको राप्रपामा राजतन्त्रका विषयमा विवाद देखिएको हो।

नागरिकमा शुक्रबार प्रकाशित अन्तर्वार्तामा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले राखेको 'पार्टी गणतन्त्रमा गइसकेकाले फेरि राजतन्त्रमा नफर्कने' धारणाप्रति पार्टी अध्यक्ष कमल थापा पक्षले आपत्ति जनाएको छ।

'पशुपति राणाको अभिव्यक्ति एकताको भावना र पार्टीको आधिकारिक धारणाविपरीत छ, शीर्ष नेताबाट कार्यकर्तामा भ्रम नपारांै' भन्दै पार्टी अध्यक्ष थापानिकट रहेका सहप्रवक्ता मोहन श्रेष्ठले टि्वट गरेका छन् जसलाई थापा स्वयंले रिटि्वट गरेका छन्।

हिन्दु राष्ट्र पक्षधर राप्रपा नेपाल र राप्रपाबीच सोमबार एकीकरण भएको थियो। सोमबारको घोषणासभामा पार्टी अध्यक्ष थापाले राजतन्त्रको विषय छाडिनसकेको र त्यसलाई महाधिवेशनले टुंगो लगाउने बताएका थिए।

बाँकी महाधिवेशनले अन्तिम टुंगो लगाउने विषय भए पनि शीर्ष नेतृत्वबाट आएको अभिव्यक्तिले भ्रम उत्पन्न गरेको श्रेष्ठले नागरिकसँग बताए। अन्तर्वार्तामा राष्ट्रिय अध्यक्ष राणाले पार्टी गणतन्त्रका पक्षमा भएको र गणतन्त्रमै अघि बढ्ने बताएका थिए।

पार्टी अध्यक्ष थापालाई गणतन्त्रमा जान समय लाग्ने भन्दै राणाले विद्यादेवी भण्डारी राष्ट्रपतिमा उठ्दा भण्डारीको समर्थन बनेर गणतान्त्रिक संविधान स्वीकार गरिसकेको बताएका छन्।

'राप्रपा नेपालले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको विरुद्धमा संविधान निर्माणको प्रक्रियामा नोट अफ डिसेन्ट लेखेको छ। राप्रपाले धर्मको बारेमा मात्रै नोट अफ डिसेन्ट लेखेको हो,' श्रेष्ठले भने, 'दुवै दलले अहिलेको संविधानलाई आलोचनात्मक समर्थन गरेका हुन् तर यसको अर्थ हामीले अजेन्डा छाडेको होइन।' 

महाधिवेशनले यस विषयलाई अन्तिम टुंगो लगाउने विषयमा सहमति भए पनि शीर्ष नेताबाट आएको यस्तो अभिव्यक्तिले भ्रम सिर्जना गर्ने काम गरेको श्रेष्ठले बताए।

प्रकाशित: ११ मंसिर २०७३ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App