१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

खेतमै उम्रिन थाल्यो धान

महेन्द्रनगर– आँगनमै दशै आइसक्यो, रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका दशैं मनाउन घर फर्किन थालेका छन्। तर, आफूले रोपेर गएको धानबाली भने भिœयाउन नपाउने चिन्तामा छन् यहाँका स्थानीयहरु।

सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका दुई जिल्लाका बेरोजगार युवा तथा किसानहरु खेतिपाती गर्न घरमा आउने र काम सकिएपछि खाली समयमा कमाउनका लागि भारत जाने पुरानो चलन रहेको छ। भदौमासमा वर्षा नहुँदा किसान चिन्तित थिए, तर असोज पहिलो सातादेखिको दिनहुँ परेको पानीले भने धानबाली खेतमै उम्रिने अवस्थाको सृजना भएको छ। प्रायः सबैका खेतमा पानी जमेको छ र धान भने खेतमै ढलेर पानीमा तैरिरहेका र कहि उम्रिन थालेका देखिन्छन्। 

पुर्खाैंदेखि खेतीकिसानी गर्दै आइरहेका बिन्द्रा डगौरा यतिबेला धानबाली भिœयाउने चटारोमा छन्। तर पाकेपछि असोजको पहिलो साता काटेको धानबाली खेतमै रहेको छ।

भिमदत्त नगरपालिका–१६ निवासी डगौराले भने ‘पसिना काडेर धाबाली रोपे, भिœयाउने बेला मौसमले साथ दिएन।’ उनले थपे, ‘काटेको धान खेतमै उम्रन थालिसकेको छ, यसपाली के खाने के लाउने।’ उनले दुई बिगाह जमिनमा धानखेती गरेका थिए।

भिनपा–४ का नन्दराज जोशीको पनि उस्तै पीडा छ। समयमा वर्षा नहुँदा यसपाली आफुहरु निराश भएको उनले बताए। उनले भने, ‘किसानहरुले लगानी मात्र गुमाउन परेको छैन, दशैंको खुसीसमेत गुमाउन परेको छ।’ उनले थपे, ‘वर्षभरीमा आउने महानचाँड दशैं यस वर्ष मनाउन नसकिने भएको छ, हामीले बाली भिœयाएर खानलाई राख्थ्यौ, केही धानबाली बेचेर दशैं खर्च बनाउथ्यौं।’

यस्तै भिनपा–७ हल्दुखाल निवासी पीडित अर्का किसान मदन चन्द भन्छन् ‘मुरीे छरेर मानो उब्जाउने बेला मौसमले साथ नदिँदा धानबाली खेतमा सड्न थालेको छ।’ उनले थपे, ‘खेतीपतीकै भरमा निर्भर रहेका किसानले  वर्षभरी हातमुख जोर्न कठिन हुने भएको छ, महान चाँड दशैं हामीहरुका लागि दशा बनेको छ।’ 

स्थानीय मानबहादुर नेगी भन्छन्, ‘यसपालि धानबाली भिœयाउन गाह्रो भएको छ, वर्षाले बारीमै धान सड्न थालेको छ।’ उनले आफूले डेढ विगाहमा लगाएको बालिमा क्षति भएको पीडा सुनाए। 

उत्पादन २५ प्रतिशत घट्ने 

असोज पहिलो सातादेखिको दिनहुँ परेको पानीले धानबाली खेतमै उम्रिने अवस्थाको सृजना भएपछि कञ्चनपुर र कैलालीमा झण्डै २५ प्रतिशतसम्म उत्पादन कम हुने भएको छ। यसपालि कञ्चनपुरमा करिब ४८ हजार हेक्टरमा धानखेती गरिएको थियो। कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख रामचन्द्र भट्टले भने, ‘गत वर्षको तुलनामा यसपालि उत्पादन घट्ने देखिएको छ, धानबालीका लागि आवश्यक भएका वर्षा भएन तर पछिल्लो असोज दोस्रो साता अर्थात धानबाली भिœयाउने बेला परेको पानीले झन् उत्पादन घट्ने भएको छ।’ उनले थपे, ‘अगोटे जातका धानबाली लगाएका किसान बढी मर्कामा परेका छन्।’

कैलाली कञ्चनपुरमा धानबालीमा भएको क्षतीले सुदूरपश्चिम भरिनै असर पर्ने देखिएको छ। कञ्चनपुरमा ४८ हजार हेक्टरमध्ये करिब १२ हजार ८ सय हेक्टरमा मात्र सिँचाई हुने गरेको छ, कैलालीमा करिब ८५ हजार हेक्टरमा धानबाली लगाइएकोमा करिब ७ हजार हेक्टरमा मात्र सिँचाईको सुविधा रहेको छ। बाँकी सबै आकाशे पानीका भरमा परेर खेती किसानी गर्ने गर्दछन्। यस्तो परिस्थितिमा पानी नपरेपछि तथा बाली भिœयाउने बेला पानी परेपछि उत्पादन घट्ने देखिएको हो। उत्पादन घटेसंगै सुदूरपश्चिममा भोकमरीको अवस्था हुने तथा खाद्यान्न भारत लगायत अन्यत्रबाट आयात गर्नपर्ने देखिन्छ। 

‘पीडित किसानलाई सरकारले हेर्नुपर्छ’

पानीले धानबाली खेतमै उम्रिने अवस्थाको सृजना भएपछि कञ्चनपुरका किसानहरु मर्कामा परेपछि किसानका नेताहरुले सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। किसान संघका केन्द्रीय सदस्य नारायणदत्त पन्तले सरकारले पीडित किसानको सर्वेक्षण गरेर उचित क्षतिपूर्ति दिनुपर्ने बताए। किसान ठूलो मर्कामा परेको भन्दै उनले स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्रीय सरकारले समन्वय गरि किसानको समस्या सम्बोधन गर्नुपर्ने बताए। उनले भने, ‘धानको शुरुवातदेखि नै यसपालि समस्या रह्यो, यसले गरिब किसानमा ठूलो मर्का परेको छ।’ 

यसैगरि किसान महासंघका पूर्व राष्ट्रिय समिति सदस्य खेम सुवेदीले किसानमाथि उठे मात्रै देश विकास हुने भन्दै क्षतिपूर्तिका साथै किसानलाई अब आउने सिजनमा गहुँको बिउ, मलखाद र अन्य आवश्यक विषादी 
निः शुल्क तथा सुपथ र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताए। कैलाली र कञ्चनपुरको उत्पादनले पहाडका सात जिल्ला समेत धान्ने गरेको बताउँदै सुवेदीले राष्ट्रले किसानको सम्मान गर्नुपर्ने बताए। 

भीमदत्त नगरपालिका वार्ड नम्बर १६ का किसान बिन्द्रा डङ्गौराको खेतमा बर्षाले भिजेको धानबालीको थुप्रो। तस्विर ः राजेन्द्र भट्ट

प्रकाशित: १५ आश्विन २०७६ ०५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App