१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेइजिङमा विशेष समारोह

राजधानी बेइजिङस्थित तियानन्मेन स्क्वायरमा जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव मनाउनका लागि आयोजित राष्ट्रिय दिवस परेडमा राखिएको राष्ट्रपति सी चिनफिङको विशाल तस्बिर। तस्बिर : एजेन्सी

बेइजिङ (बिबिसी) – जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन्।

रक्तपात पूर्ण गृहयुद्धमा कम्युनिस्ट फौजले जितेपछि माओ त्से तुङ वा अध्यक्ष माओले सन् १९४९ अक्टोबर १ का दिन जनवादी गणतन्त्र चीन गठनको घोषणा गरेका थिए।

त्यसयता आधुनिक चीनले असाधारण गतिले विकास गरेको भए पनि यो विश्वमा धेरै अवरोध भएका मुलुकमध्ये एउटा हो। आधुनिक चीन स्थापनाको ७० वर्ष पुगेको अवसरमा राजधानी बेइजिङमा विशेष खालको सैनिक परेड आयोजना गरिएको छ। तियानान्मेन स्क्वायरमा अयोजित सो सैनिक परेडमा कैयौं विदेशी पाहुनासहित राष्ट्रपति सी चिनफिङ स्वयं नै उपस्थित भएका छन्।

‘कुनै पनि शक्तिले चीनलाई अघि बढ्नबाट कहिल्यै पनि रोक्न सक्ने छैन,’ विशेष समारोहको उद्घाटन सत्रमा छोटो सम्बोधन गर्दै चीनका राष्ट्रपति सी चिनफिङले बताए। 

सैनिक परेडमा एक सय ६० वटा एयरक्राफ्ट, कैयौं ट्यांक, क्षेप्यास्त्र प्रक्षेपण गर्ने मिसाइल लन्चर र पाँच सय ८० वटा सैनिक सामग्रीसहित १५ हजार सैनिक मध्यबेइजिङको तियानान्मेन स्क्वायरमा भेला भएको चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ।

बेइजिङको कार्यक्रममा राष्ट्रपति सीको उपस्थितिमा वायुसेनाका विमानहरु पनि उडाइएको थियो। कार्यक्रममा विश्वकै सबैभन्दा लामो दूरीमा मार हान्न सक्ने क्षेप्यास्त्र पनि प्रदर्शन गरिएको चिनियाँ रक्षा मन्त्रालय स्रोतले जनाएको छ।

जनवादी गणतन्त्र चीन स्थापनाको ७० वर्ष पुगेको अवसरमा आयोजित समारोहमा दिइएको तोपको सलामी। तस्बिर : एजेन्सी

सैन्य परेडमा विदेशी पाहुनासहित किसानदेखि शिक्षक र चिकित्सकदेखि विद्यार्थीसहितका करिब एक लाख सर्वसाधारणले पनि अवलोकन गरेको बताइएको छ।

जनवादी गणतन्त्र चीन स्थापनाको ७० वर्ष पुगेको अवसरमा तियानान्मेन स्वाक्यरमै मंगलबार साँझ गाला प्रस्तुति पनि आयोजना गरिएको थियो।

वार्षिकोत्सव मनाउनका लागि राजधानी बेइजिङलगायत देशभरको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको थियो। मध्य बेइजिङमा भने कैयौं सातादेखि सुरक्षा व्यवस्था कडा गरिएको थियो र परेड आयोजना हुने क्षेत्र वरपर चंगा र ड्रोनलगायतका समाग्री उडाउनसमेत निषेध गरिएको थियो।

प्रकाशित: १५ आश्विन २०७६ ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App