१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पका वकिललाई कागजपत्र पेश गर्न आदेश

वासिङ्टन (बिबिसी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिललाई अमेरिकी संसद् (कंग्रेस) ले राष्ट्रपतिविरुद्धको महाभियोग छानबिनसँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन आदेश दिएको छ।

विपक्षी डेमोक्र्याटिक पार्टी नेतृत्वका कंग्रेसका तीनवटा समितिले ट्रम्पका वकिल रुडी जुलिआनीलाई युक्रेनसँग सम्बन्धित दस्ताबेज पठाउन निर्देशन दिएको बिबिसीले उल्लेख गरेको छ।

जुलिआनीलाई पठाएको पत्रमा ती संसदीय समितिहरुले उनले राष्ट्रपतिका चासोलाई सम्बोधन गर्न सहयोगीको भूमिका खेलेको भन्ने आरोपबारे अनुसन्धान भइरहेको उल्लेख गरेका छन्।

जुलिआनीकै भनाइले पनि उनले आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट सम्भावित उम्मेदवार जो बाइडेनका कमीकमजोरी खोतल्न युक्रेनलाई दबाव दिएको संकेत गरेको ती समितिको ठहर छ।

ट्रम्पका भूतपूर्व चुनाव प्रचारक पल म्यानाफोर्टविरुद्धका प्रमाण पेस गर्ने युक्रेनीविरुद्ध पनि मुद्दा चलाउन जुलिआनीले दबाब दिएको दाबी ती समितिले  गरेका छन्।

जुलिआनीले आफ्नो निर्देशन पालना नगरे उनले कंग्रेसको अवहेलना गरेको ठहरिने र त्यस कसुरमा उनलाई अदालत लैजान सकिने चेतावनी ती संसदीय समितिले दिएको बिबिसीले उल्लेख गरेको छ।

अमेरिकी गुप्तचर निकाय सिआइएसँग सम्बद्ध गुप्तचर भएको भन्ठानिएका एक सुराकीले ट्रम्पले आफ्ना प्रतिस्पर्धीविरुद्ध विदेशी नेतालाई दबाब दिएको दाबीसहित उजुरी दिएका थिए।

यसैबीच अस्ट्रेलिया सरकारले राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री स्कट मरिसनलाई म्युलर जाँचबुझ कहाँबाट सुरु भयो भन्ने विषयको अनुसन्धान गर्न सहयोग गर्न अनुरोध गरेको पुष्टि गरेको छ। गत साता मरिसनको ह्वाइट हाउस भ्रमणका बेला त्यस्तो अनुरोध गरिएको थियो र ‘द न्युयोर्क टाइम्स’ पत्रिकाका अनुसार त्यो कुराकानीको विवरण लुकाउन सुरक्षा प्रतिबन्ध लगाइएको छ।

प्रकाशित: १५ आश्विन २०७६ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App