१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अस्ट्रेलियासँग हवाई सम्झौता

काठमाडौं – नेपालले अस्ट्रेलियासँग सिधा हवाई उडानसम्बन्धी सम्झौता गरेको छ। योसँगै नेपालले हवाई उडान सम्झौता गरेका मुलुकको संख्या ४० पुगेको छ।

उक्त सम्झौता अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मुख्यालय मन्ट्रियलमा भएको हो। मन्ट्रियल क्यानडाली सहर हो। दुई देशबीचको सम्झौताबाट नेपाली जहाजले अस्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं सूचना अधिकारी सुरेश आचार्यले मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तिमा समझदारीपत्रमा आफू र अस्ट्रेलियन संघीय पूर्वाधार, यातायात, सहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले हस्ताक्षर गरेको आचार्यले उल्लेख गरेका छन्।

‘आइकाओको प्रधान कार्यालय मन्ट्रियलमा मंगलबार नेपाल र अस्ट्रेलिया  सरकारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भई हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षरका साथै एक समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सम्झौता अनुसार दुवै पक्षका वायुसेवा कम्पनीले जुनसुकै प्रकारको वायुयानबाट हप्तामा सात उडान भर्न सक्नेछन्।
नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान गर्न पाउनेछन्  भने अन्य विमानस्थलमा असीमित उडान गर्न सक्ने समझदारी भएको हो।

अस्ट्रेलियन एयरलाइन्सले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सात उडान गर्न पाउने जनाइएको छ भने पोखरा, भैरहवालगायत अन्य विमानस्थलमा सातामा २८ उडान गर्न सक्नेछन्।

दुईपक्षीय समझदारीअनुसार दुई मुलुकका एयरलाइन्सले जुनसुकै प्रकारको वायुयान प्रयोग गरी आ–आफूले निर्धारण गरेको उडान संख्या वा क्षमतामा डेडिकेटेड कार्गो उडान गर्न पनि पाउने जनाइएको छ।

विज्ञप्ति अनुसार दुवै पक्षका एयरलाइन्सले दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया र मध्यपूर्वका कुनै दुई बिन्दु उपयोग गर्दै मध्यवर्ती बिन्दु भएर पाँचौं ट्राफिक अधिकार उपोग गर्न पाउने छन्।
शनिबार मात्रै नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग हवाई सम्झौता गरेको थियो।

प्रकाशित: १५ आश्विन २०७६ ०१:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App