१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हराएका ६ सय ६३ जना व्यक्ति सम्पर्कमा

धादिङ– विभिन्न कारणले हराएका धादिङका ६ सय ६३ जना व्यक्ति सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङले चलाएको ‘हराएको व्यक्तिहरुको खोजतलास विशेष अभियान’ अन्तर्गत परिवारको सम्पर्कमा आएका हुन्। हराएको सूचना आउन थालेपछि धादिङ प्रहरीले पहिलो चरणमा विभिन्न समयमा हराएका व्यक्तिहरुको तथ्याङ्क संकलनको काम गरेको थियो। करिब ३ महिना लगाएर पाँच वर्षयता हराएका र प्रहरीमा उजुरी परेकाको विवरण संकलन गरेको थियो। 

संकलन गरिएको विवरण जिल्लाका सबै प्रहरी युनिट र संचारमाध्यम मार्फत सूचना प्रशारण गरिएको थियो। त्यसपछि हराएका व्यक्तिहरुको उजुरी आउन थालेपछि कार्यालयले छुट्टै डेक्स नै निर्माण गरेर विशेष अभियान संचालन गरेको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए। ‘धादिङ जिल्लामा अहिलेसम्म ६ सय ७३ जना व्यक्ति हराएको तथ्याङ्क हामीले निकालेका थियौ’, प्रहरी उपरीक्षक बैदवारले भने, ‘संचारमाध्यममा सूचना, प्रहरी टोलीको प्रचारप्रसारका आधारमा ६ सय ६३ जना व्यक्ति सम्पर्कमा आउनु भयो।’  

प्रहरीले निकालेको तथ्याङ अनुसार ४ सय २८ महिला, २ सय ३१ बालबालिका र १४ जना पुरुष हराएका छन्। तथ्याङक हेर्दा धादिङ जिल्लामा महिला र बालबालिकाहरु बढी मात्रामा हराउने गरेका छन्। ती हराएका व्यक्तिहरुमध्ये ४ सय २२ महिला, २ सय २८ बालबालिका र १३ जना पुरुष फेला परिसकेका छन्। अझै १० जना फेला नपरेको प्रहरी उपरीक्षक बैदवारले बताए। हराएर फेला परेका मध्ये एकजना पुरुष र एक बालकको मृत्यु भएको पारिवारले प्रहरीलाई जानकारी दिएका छन्। यो तथ्याङमा द्वन्द्वकालमा हराएकालाई भने समेटिएको छैन।

प्रहरीको तथ्याङ्क हेर्दा परिवारको सम्पर्कमा नरहने संख्यामा महिला धेरै छन्। महिला आफूखुसी बिहे गरेर जाने, घरमा विवाह गरेको थाहा पाएपछि प्रहरीमा जानकारी नदिने गर्नाले पनि महिलाको संख्या बढी देखिएको हुनसक्ने प्रहरी प्रमुख बैदवारले बताए। ‘जिल्लामा महिला बेचबिखनको घटना खासै छैन,’ बैदवारले भने, ‘महिलाहरु आफूखुसी बिहे गर्ने र परिवारलाई जानकारी नगराउने गरेका कारण महिलाहरुको संख्या बढी रहेको हुनसक्ने अनुमान गरेका छौँ।’  

हराएका बेला उजुरी गरेको आधारमा जिल्लाका सबै प्रहरी युनिटलाई खबर गरेर गाउँगाउँ र टोल टोलमा पुगी हराएका व्यक्तिको पछिल्लो विवरण पत्ता लगाउने काम गरेको बैदवारले बताए। प्रहरीका अनुसार हराउने वित्तिकै आत्तिएर प्रहरी युनिटमा रिपोर्ट गर्ने तर फेला परेपछि प्रहरीमा जानकारी नदिने हुँदा धेरैजना हराएको तथ्याङमा देखिएको हुनसक्छ। परिवारको सम्पर्कमा नरहेका व्यक्तिहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धादिङले साउनबाट  विशेष खोजतलास अभियान संचालन गरेको थियो। 

विशेषगरी घरायसी समस्या, आर्थिक अवस्था कमजोर हुनु, सामाजिक संजालको प्रभाव, मायाप्रेम, मानसिक तनावका कारण हराउने गरेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए। ‘जिल्लामा यतिको संख्यामा मानिसहरु हराएपछि हाम्रो टिमले तथ्याङ संकलन गरि खोजी कार्य सुरु गरेका थियौँ,’ प्रहरी नायव उपरीक्षक खड्काले भने, ‘अभियानका क्रममा बढी मात्रामा सामाजिक संजाल, घरायसी समस्या र मायाप्रेमका कारण हराउने गरेको भेट्यौँ।’

प्रकाशित: १४ आश्विन २०७६ १४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App