१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मुस्ताङ रेसमा राजकुमार अगाडि

काठमाडौं- कागबेनीबाट सुरु मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेस पहिलो दिन बिहीबार मुक्तिनाथ पुगेर सम्पन्न हुँदा राजकुमार श्रेष्ठ अग्रस्थानमा छन्। उपल्लो मुस्ताङमा पहिलोपल्ट भएको भनिएको रेसको पहिलो दिन राजकुमारले ५७ मिनेट ५० सेकेन्डमा निर्धारित दुरी तय गर्दै अग्रस्थानमा कब्जा जमाउँदा बुद्धिबहादुर तामाङ दोस्रो स्थानमा छन्।

बुद्धिले पहिलो दिनको दुरी १ घन्टा २ मिनेट ४४ सेकेन्डमा पूरा गरेका थिए। उनीभन्दा १२ सेकेन्डले पछि रहेका मानबहादुर तामाङ तेस्रो स्थानमा छन्।

७ चरणमा सात दिनसम्म हुने प्रतियोगितामा प्रतिस्पर्धीले २ सय २० किलोमिटरको दुरी तय गर्ने आयोजक शिखर पाण्डेले जानकारी गराएका छन्। समुद्री सतहबाट २ हजार ८ सय मिटरमा रहेको कागबेनीबाट सुरु भएको प्रतियोगिताअन्तर्गत सात दिनमा मुस्ताङका विभिन्न क्षेत्र पार गर्दा प्रतिस्पर्धीले ४ हजार २ सय मिटरसम्मको उचाईमा अनुभव बटुल्ने छन्। पाण्डेका अनुसार प्रतियोगिता विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार जित्ने छन्।

'उपल्लो मुस्ताङमा हामीले यस्तो क्रसकन्ट्री साइकल रेस पहिलोपटक आयोजना गरेका हौं। पहिलोकै सहभागिताले हामीलाई उत्साही बनाएको छ। आगामी दिनमा यसलाई निरन्तरता दिइनेछ,' पाण्डेले बिहीबार जारी विज्ञप्तिमा भनेका छन्, 'नेपालमा माउन्टेन बाइकिङ विकासमा योगदान गर्दै साहसिक खेल पर्यटन प्रवर्द्धनमा यो प्रतियोगिता उपयोगी हुनेछ। हामीले यही उद्देश्यमा प्रतियोगिता गरेका हौं।'

अग्रस्थानमा रहेका राजकुमारले पहिलो दिनको रुट सजिलो हुनाका साथै मौसम पनि राम्रो भएकाले खास अप्ठेरो नपरेको बताए। 'गाह्रो रुट बाँकी छ। प्रतिस्पर्धा सजिलो छैन। टाइमिङमा अझै सुधार्दै जानुपर्छ,' उनले भने।

दोस्रो स्थानका बुद्धिबहादुरले भने उपल्लो मुस्ताङ साइक्लिङका लागि उत्कृष्ट गन्तव्य भएको सुनाउँदै शुक्रबारबाट गति बढाउने बताए। 'आज पहिलो दिन भएकाले छिटो कुदाइनँ। भोलिदेखि गति बढाउँछु,' उनलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ।

५ विदेशी र ७ नेपाली गरी १२ खेलाडीको सहभागिता रहेको प्रतियोगिताकी बेलायती प्रतिस्पर्धी इजाबेल बोइडले उपल्लो मुस्ताङको ल्यान्डस्केपबाट आफू प्रभावित भएको बताइन्।

'यस्तो मनोरम ठाउँमा साइकल कुदाउँदा मलाई गर्व लागेको छ,' बेलायतमा भएको माउन्टेन बाइक ओरेन्टेरिङ रेसमा विजेता भइसकेकी बोइडले भनिन्।

दोस्रो दिन शुक्रबार रेस मुक्तिनाथबाट सुरु भएर चैलेमा सम्पन्न हुनेछ। तेस्रो दिन घमी पुग्ने रेस चौथो दिन लोमान्थाङ, पाँचौं दिन टाँगे, छैटौं दिन मार्फा तथा सातौं दिन तातोपानीमा पुगेर टुंगिनेछ।

प्रकाशित: १० मंसिर २०७३ ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App