१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घाइते र बिरामी वन्यजन्तु उद्धार केन्द्र बनाउन शुरु

भद्रपुर- घाइते र बिरामी वन्यजन्तुको उपचार र संरक्षण गर्ने उद्देश्यले झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनमा प्राणी उद्धार केन्द्र निर्माण कार्य शुरु भएको छ।     
     
प्रदेश नं १ मा पहिलोपटक स्थापना हुन लागेको केन्द्रको पूर्वाधार विकासमा प्रदेश सरकारले ७५ लाख रुपैयाँ बजेट दिएको र सामुदायिक वन आफैँले २५ लाख रुपैयाँ लगानी गर्ने वनका अध्यक्ष खेम सिटौलाले जानकारी दिए। केन्द्रका लागि सामुदायिक वनको दश बिघा क्षेत्रफलमा तार घेराबारा भइसकेको र बाँकी आवश्यक पूर्वाधार थप्ने काम भइरहेको उनले बताए।     
     
नेपाल सरकारले सात प्रदेशमा प्राणी उद्धार केन्द्र बनाउने नीति ल्याएको छ। जामुनबाडी सामुदायिक वन २०६५ सालदेखि नै खुला चिडियाखानाका रुपमा प्रसिद्ध छ। वनको खुल्ला चिडियाखानामा हाल चित्तल ४०, मृग १०, चितुवा एक, नीलगाई दुई, अजिङ्गर छ, भालु एक, हिमाली गिद्ध तीन, चरिबाघ एक, कछुवा १० लगायत दुई दर्जनभन्दा बढी प्रजातिका वन्यजन्तु पालिएको छ।     
     
प्रदेश नं १ को कुनै पनि स्थानमा घाइते र बिरामी अवस्थामा भेटिएका र सङ्कटमा परेका वन्यजन्तुलाई उद्धार गरेर यहाँ ल्याई उपचारसहित संरक्षणको व्यवस्था उद्धार केन्द्रमा गरिने भएको छ। चिडियाखाना र सिमसार क्षेत्रको घुमघाममा आउने आन्तरिक तथा बाह्य पर्यटकबाट जामुनखाडी सामुदायिक वनले वार्षिक दुई करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको अध्यक्ष सिटौला बताउँछन्। जनावर अवलोकनका लागि आउने पर्यटकले प्रतिव्यक्ति ५० रुपैयाँ छुट्टै तिर्नुपर्ने व्यवस्था गरिएको छ।     
     
वर्षौंदेखि वनभोजस्थलका रुपमा चिनिएको जामुनखाडी क्षेत्रका गङ्गा र जमुना नामका दुई वटा ठूला जलाशयलाई संरक्षण गरेर सामुदायिक वनले पर्यटकीयस्थल निर्माण गरेको हो। यहाँ पालिएका जनावर, पोखरीमा नौका विहार, झोलुङ्गे पुल, बाल उद्यान केन्द्र र मिनी रेलले पर्यटकलाई आकर्षण गर्दै आएका छन्।

वनमा प्रवेश गर्नका लागि प्रतिव्यक्ति ५० रुपैयाँ, नौका विहारको ५० रुपैयाँ र बालबच्चाका लागि निर्माण गरिएको मिनी रेलको ५० रुपैयाँ तिर्ने व्यवस्था गरिएको छ।     
     
स्थायी र अस्थायी गरी ४० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको ६ सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा ६ सय ८४ घरधुरी उपभोक्ता छन्। स्थानीय तथा झापाका महिलाले उत्पादन गरेका सामग्रीलाई बिक्री–वितरण गर्नका लागि जामुनखाडीमा कोसेली घर निर्माण शुरु गरिएको वनका अध्यक्ष सिटौलाले बताए।     
     
उनले वनका उपभोक्ता रहेका महिलालाई विभिन्न समयमा आत्मनिर्भर बन्नका लागि सिकाइएको सीपबाट उत्पादन गरिएका सामग्री कोसेली घरमा राखिदिने बताए। दैनिक सयौँको सङ्ख्यामा आउने बाह्य तथा आन्तरिक पर्यटकले स्थानीय उत्पादन खरीद गरेर लैजाने गरेका छन्।

बासको परम्परागत एवम् कलात्मक स्वरुपमा कोसेली घर निर्माण गरिन लागेको स्थानीय उपभोक्ता सदस्य सावित्रा दाहाल बताउछिन्। रासस

प्रकाशित: १३ आश्विन २०७६ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App