१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लिभरपुलसँग अंक दूरी कम गर्दै सिटी

लन्डन – म्यानचेस्टर सिटीले शनिबार एभर्टनमाथिको जितका साथ इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी कम गरेको छ।

यता १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको टोटेनह्यामले साउथह्याम्पटनमाथिको जितका साथ पछिल्लो समयदेखिको खराब लयमा पूर्णविराम लगाउँदै शीर्ष ४ मा उक्लिँदा चेल्सीले फ्रांक लाम्पार्डको प्रशिक्षणमा घरेलु मैदानमा पहिलो पटक स्पष्ट ३ अंक जोडेको छ।

तर दोस्रो स्थानको सिटीले एभर्टनमाथिको ३–१ को जितका साथ लिभरपुलसँगको  दूरी ५ अंकमा घटाएको हो।

शनिबारै चाँडो गरी सम्पन्न खेलमा लिभरपुलले शतप्रतिशत नतिजालाई सातांै खेलसम्म लम्ब्याउने क्रममा सेफिल्डमाथि १–० को नतिजा ल्याउँदै शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको थियो। तर दोस्रो स्थानको सिटीले एभर्टनमाथिको ३–१ को जितका साथ सो दूरी ५ अंकमा घटाएको हो। वेस्ट ह्याम १२ अंकका साथ तेस्रो स्थानमा छ भने टोटेनह्याम र लेस्टर सिटी समान ११ अंकका साथ क्रमशः चौथो र पाँचांै स्थानमा छन्।

२४औं मिनेटमा ग्याब्रियल जिससको गोलमा सिटी खेलमा अघि बढेको थियो। तर सिटीले आफ्नो अग्रता लामो समय कायम राख्न सकेन। त्यसको ९ मिनेटपछि नै डोमिनिक काल्भेट लिभिनीले गोल गर्दै एभर्टनलाई खेलमा फर्काएका थिए। खेलको अन्तिम १९ मिनेटमा सहज २ गोल गर्दै सिटीले अन्ततः सहज जित पक्का गरेको थियो।

७१औं मिनेटमा रियाद महारेजले बललाई जाली चुमाउँदै सिटीको अग्रता २–१ मा पु¥याएका थिए। खेल सकिन ६ मिनेट बाँकी हुँदा रहिम स्टर्लिङले सिटीको सहज जित सुनिश्चित गरेका थिए।

यता प्रशिक्षक माउरिसियो पोचेटिनोले स्ट्राइकर ह्यारी केनलाई टोलीमा फिर्ता बोलाएको दिन उनको टोलीले साउथह्याम्पटनलाई २–१ ले पराजित गरेको हो। गत साता चौथो श्रेणीको टोली कोल्चेस्टर युनाइटेडसँग पेनाल्टी सुटआउटमा निराश हुँदै टोटेनह्याम प्रतियोगिताबाट बाहिरिएको थियो। सो टोलीमा पोचेटिनोले व्यापक परिवर्तन गरेका थिए।

२४औं मिनेटमा तानगाई एनडोम्बेलेले टोटेनह्यामलाई खेलमा अघि बढाएका थिए। ३१औं मिनेटमा सेर्गी औरेर दोहोरो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बहिरिएपछि टोटेनह्यामले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। ३९औं मिनेटमा साउथह्याम्पटनका डेयानी इङ्सले गोल गर्दै आफ्नो टोलालाई खेलमा फर्काएका थिए। तर मध्यान्तर हुन दुई मिनेट बाँकी हुँदा केनले गरेको गोल टोटेनह्यामको जितमा पर्याप्त बन्यो।

त्यस्तै चेल्सीले ब्राइटनमाथि २–० को सुखद नतिजा ल्यायो। चेल्सीको जितमा जर्जिनो र विलियानले समान एक गोल गरेका थिए। ‘घरेलु मैदानमा हात पारेको यो जित विशेष छ किनभने यो धेरै पछि आएको नतिजा हो,’ लाम्पार्डले भने, ‘यो जितले टोलीको मनोबल बढेको छ। प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न अन्य खेलमा क्रिस्टल प्यालेसले नर्विचलाई २–० ले हरायो।

प्रकाशित: १३ आश्विन २०७६ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App