१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बजार अनुगमनमा निरन्तर अवरोध

काठमाडौं – केही दिनयता बजार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीलाई व्यवसायीले अवरोध गर्न थालेका छन्। आइतबार नयाँ बसपार्कस्थित बिजी मलमा अनुगमन टोली पुग्दा त्यहाँका व्यवसायी एक्कासि सटर बन्द गरेर होहल्लामा उत्रिए।

‘अनुगमनको विरोधमा नाराबाजी गर्दै हातपात गर्न अगाडि सरे,’ विभागका निरीक्षण अधिकृत रमेशकाजी श्रेष्ठले भने, ‘स्थिति असहज भएपछि व्यवस्थापन गर्न महानिर्देशक सहित थप प्रहरी टोली अनुगमनस्थल पुग्योे।’ प्रहरीले स्थितिलाई सहज बनाएपछि अनुगमन गरिएको थियो।

अनुगमन टोलीले असहयोग गर्ने व्यवसायीलाई २४ घन्टाभित्र विभागको सम्पर्कमा आउन पुर्जी टाँसेर ११ पसललाई २० हजारका दरले जरिवाना गरेको निरीक्षण अधिकृत श्रेष्ठले जानकारी दिए। उनले यो असहयोगको दफा अन्तर्गतको कारवाही भएको र थप कारवाही फेरि अनुगमनका आधारमा हुन सक्ने बताए। अनुगमनका क्रममा मूल्य सूची नराखेका पाँच पसललाई पाँच हजारका दरले र बिक्री बिजक नराख्ने एक पसललाई दुई लाख जरिवाना गरिएको छ। आइतबारै विभागले सानेपाको दुई खाद्यान्न पसलमा अनुगगमन गरी पाँच र १५ हजार जरिवाना गरेको छ।

केही दिनअघि न्युरोड र दरबारमार्गमा पनि व्यवसायीले अनुगमनमा अवरोध गरेका थिए। ‘अन्यको तुलनामा कपडा व्यवसायीले अलि बढी असहयोग गरेका छन्,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘मनपरी मूल्य लिएर ग्राहक ठग्ने काम भएको छ। हाम्रो उद्देश्य त्यसको नियन्त्रण गर्नु हो।’

उनले अधिकांश व्यवसायीले न्यून बिजकीकरणको रहस्य खुल्ने डरले असहयोग गरेको हुन सक्ने गौचनले बताए। ‘विदेशबाट आयात गरिने कपडामा न्यून बिजकीकरणको समस्या पहिलेदेखि नै छ,’ गौचनले भने, ‘हामीले अहिले त्यो समस्या हटाउन भन्दा पनि कम्तीमा बिक्री मूल्यसूची राख मात्र भनेका हौं। तर व्यवसायीले बेवास्ता गर्न खोजे।’ उनले न्यून बिजकीकरण भन्सार विभागसँग जोडिएको कुरा भएको र यसलाई नीतिगत रुपमै सुधार्ने प्रयास भइरहेको बताए।

महानिर्देशक गौचनले बार्गेनिङ गर्न नसक्ने ग्राहकबाट मनपरी मूल्य असुल्ने काम व्यावसायिक नैतिकताभित्र नपर्ने भन्दै मूल्यसूची नराख्ने समस्या विस्तारै हल हुँदै जाने बताए।

‘व्यवसायी जे पनि गर्न पाउनुपर्छ भन्ने मान्यता राख्छन्,’ गौचनले भने ‘कहीले विभागले दादागिरि देखाएको आरोप पनि लगाए। हाम्रो उद्देश्य उपभोक्ता नठगिऊन् र व्यवसायी व्यवस्थित बनून् भन्ने हो।’

विभागले साउनदेखि मूल्यसूचीलाई प्राथमिकता दिएर काम गरिरहेकोले अनुगमनलाई त्रासको रुपमा नलिई मूल्यसूची राखेर कारोबार गर्न आग्रह गरे।

प्रकाशित: १३ आश्विन २०७६ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App