१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गीतियात्राबाट वैदेशिक रोजगार चेतना

खोटाङ– वैदेशिक रोजगार सम्बन्धी सचेतना फैलाउन खोटाङमा गन्धर्व गीति यात्रा सुरु गरिएको छ । गीत–संगीतको माध्यमबाट गाउँ–गाउँमा पुगेर वैदेशिक रोजगारी सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले सुरक्षित आप्रवासन परियोजना (सामी)ले गन्धर्व गीति यात्रा थालेको हो ।

वैदेशिक रोजगारलाई सुरक्षित, उपलब्धिमूलक र भरपर्दो बनाउने उद्देश्यले गन्धर्वको सहारामा बाँझेच्यानडाँडाबाट सचेतनामूलक सांगीतिक यात्रा सुरु गरिएको परियोजनाका विद्यालय तथा आमसञ्चार कार्यक्रम संयोजक लोकमणि रिजालले बताए ।

बाँझेच्यान डाँडाबाट सुरु गरिएको सांगीतिक यात्रा निर्मली डाँडा, दोर्पाचिउरी डाँडा हुँदै नेर्पाका सबै वडामा पुगिसकेको छ । यसबाहेक सदरमुकाम दिक्तेल, दुबेकोल, डुम्रेधारापानी, ज्यामिरे, सल्ले, जलेश्वरी र महेश्वरी गाविसका चोक, टोल र बस्तीमा गीति यात्रा सञ्चालन गरिने जनाइएको छ ।

सारंगी रेट्दै गाउँ–गाउँ डुलिरहेका भोजपुरका तेजिन्द्र गन्धर्वको टोलीले वैदेशिक रोजगारसँग सम्बन्धित सीप, चुनौती, समस्या, समाधानका उपाय, महिला कामदार, सूचना केन्द्र, निःशुल्क कानुनी सहायता, मनोसामाजिक परामर्श, ठगी लगायत विषय समेटिएको गीत गाउँदै सर्वसाधारणलाई सचेत गराइरहेको छ ।

अभियान अवधिभर गन्धर्वले वैदेशिक रोजगारसम्बन्धी गीत मात्र सुनाउने छन् । बिना जानकारी, बिनासीप र तालिम विदेश पुगेर अलपत्र पर्नबाट युवालाई जोगाउन अभियानलाई केन्द्रित गरिएको रिजालले बताए ।

‘लोकलयमा आधारित गीतका माध्यमबाट हामी सकेसम्म विदेश नजाऔं, आफ्नै गाउँमा केही गर्न आग्रह गर्छौं,’ रिजालले भने, ‘विदेश जाने नै भए सूचना, सीप र तालिम लिएर मात्र जाऔं भन्छौं ।’

सारंगीको सुरिलो धुन र गन्धर्वको स्वरले सबैको ध्यान आकर्षित गर्ने भएकाले गीत संगीतको माध्यमबाट चेतना फैलाउन खोजिएको हो । ‘सारंगी र गन्धर्वको स्वरमा केटाकेटीदेखि बुढापाकासम्म झुम्मिन्छन्,’ रिजालले भने, ‘त्यही भएर गीतियात्रा विधि अपनाइएको हो ।’ वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धिमूलक बनाउन यसअघिका वर्ष सञ्चालन गरिएको सांगीतिक यात्रा फलदायी भएकाले यो वर्ष पनि निरन्तरता दिइएको हो ।

बालसेवा समाज नेपाल र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपालको साझेदारीमा खोटाङमा सन् २०११ देखि वैदेशिक रोजगारीसँग सम्बन्धित सूचना तथा परामर्श केन्द्र सञ्चालन हुँदै आएको छ ।

प्रकाशित: १० मंसिर २०७३ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App