१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नौ वर्षमा ८५ प्रतिशत काम

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले प्रथामिकतामा राखेर निर्माण गरेको ४० डबल सर्किट किलोमिटरको सिंगटी लामुसाँघु १३२ केभी प्रसारण लाइन आयोजना नौ वर्षमा ८५ प्रतिशत मात्रै प्रगति भएको छ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजना एक दशक बित्दासमेत अझैसम्म निर्माण सम्पन्न हुन सकेको छैन। प्राधिकरणले सन् २०१० मा भारतीय आरभाली इन्फ्रापावर लिमिटेडसँग सम्झौता भएको थियो। उक्त आयोजना ४२ करोड लागतमा निर्माण गर्ने सम्झौता भएको थियो।

यो प्रसारण आयोजना ठेकेदार कम्पनी आरभालीको ढिलासुस्ती, भूकम्प, नाकाबन्दी लगायत कारणले झण्डै एक दशकसम्म अलपत्र पर्दै आएको हो। सिंगटी लामुसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख  राजन ढुंगेलले ठेकेदार कम्पनीको ढिलासुस्तीकै कारणले लामो समयदेखि अलपत्र पर्दै आएको बताए। ‘भारतीय ठेकेदार कम्पनीकै कारणले लामो समयदेखि आयोजना अलपत्र परेको हो,’ उनले भने, ‘अहिले आयोजनाको काम लगभग अन्तिम चरणमा छ। आगामी डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं।’ प्रमुख ढुंगेलले आयोजनाले ठेकेदार कम्पनीलाई पाँचपटकसम्म म्याद थप गरेको बताए।

‘हामीले ठेक्का तोड्नेसमेत तयारी गरेका थियौं। ठेक्का तोड्दा पनि नयाँ टेन्डरबाट अघि बढ्न समस्या देखिने हुँदा रोकिएका हौं,’ उनले भने, ‘मुख्य ठेकेदार कम्पनी आरभाली भए पनि अहिले नेपाली प्रवद्र्धकले नै प्रसारण लाइनको निर्माण गरिरहेका छन्।’ आयोजनाका अनुसार प्रसारण लाइन निर्माण गर्न एक सय २५ वटा फाउन्डेसन बनाउनुपर्नेमा हालसम्म एक सय २० वटा तयार भएको छ। सिंगटीतर्फ १३ किलोमिटर तार तान्ने काम सम्पन्न भइसकेको छ। लामुसाँघुतर्फ दुई किलोमिटर तार तान्ने काम सकिएको छ।

आयोजनाको अहिलेसम्म सयवटा टावर खडा भएको छ। यो प्रसारण लाइन दोलखाको सिंगटीदेखि सिन्धुपाल्चोकको लामुसाँघुसम्म फैलिएको छ। आयोजना प्रमुख ढुंगेलले समयमै प्रसारण लाइन निर्माण नभए पनि जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीलाई क्षतिपूर्ति तिर्न नपरेको बताए। ‘निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकले समयमै बिजुली उत्पादन गर्न नसकेकाले क्षतिपूर्ति तिर्नबाट जोगियौं,’ उनले भने, ‘उनीहरुले चाँडै बिजुली उत्पादन गरेको भए धेरै क्षतिपूर्र्ति तिर्नुपर्ने हुन्थ्यो।’

उनका अनुसार समयमै आयोजना निर्माण सम्पन्न नहुँदा लागत नबढे पनि कार्यालय व्यवस्थापन खर्च भने बढेको छ। उक्त प्रसारण लाइनबाट २५ मेगावाटको सिंगटी जलविद्युत् आयोजना, ११ मेगावाटको तल्लो खाँडे जलविद्युत् आयोजना, ६ मेगावाटको घट्टेखोला, ४० मेगावाटको खानीखोलाबाट उत्पादित बिजुली ल्याउन सकिन्छ।

बलेफी करिडोरको इआइए प्रतिवेदन तयार

बलेफी करिडोर १३२ केभी प्रसारण लाइन आयोजानको वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएको छ। सिन्धुपाल्चोकको बलेफीदेखि बाह्रबिसेसम्मको २० सर्किट किलोमिटर प्रसारण लाइनको बोलपत्र तिहारपछि आह्वान गर्ने तयारी छ। आयोजना प्रमुख ढुंगेलले आवश्यक तयारी गरेर तिहारपछि बोलपत्र आह्वान गर्ने बताए। ‘यो प्रसारण लाइनको इआइए प्रतिवेदन तयार भइसक्यो,’ उनले भने, ‘अहिले बोलपत्रको आवश्यक तयारी गरिरहेका छौं। सम्भवतः तिहारलगत्तै बोलपत्र आह्वान हुन्छ।’ यो प्रसारण लाइनमा ६० वटा टावर निर्माण गर्नुपर्ने हुन्छ।  आयोजनाको लागि करिब ५० करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ। अहिले मुआब्जा वितरणको लागि लगत तयार पार्ने काम भइरहेको आयोजनाले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०७६ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App