१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पारसको कीर्तिमानी शतक

काठमाडौं – कप्तान पारस खड्काले शतक प्रहार गर्दै कीर्तिमान बनाएको दिन शनिबार नेपालले त्रिकोणात्मक शृंखलाअन्तर्गत सिंगापुरविरुद्ध ९ विकेटको फराकिलो जित निकालेको छ।

इन्डियन एसोसिएसन ग्राउन्डमा सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पारसको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर लक्ष्य भेटाएको हो। शतक प्रहार गर्दा कप्तान पारसलाई आरिफ शेखले साथ दिए। यी दुईले  १ सय ४५ रनको साझेदारी गर्दै  नेपालको जित निश्चित गरेका हुन्।

पारसले ५२ बलको सामना गर्दा ९ छक्का र ७ चौका प्रहार गरे। पारसलाई साथ दिएका आरिफ शेखले ३८ बलमा पाँच चौकाको मद्दतमा ३९ रन जोड्द अर्का ओपनर ईशान पाण्डे ९ रनमा  पवेलियन फर्किए। कप्तान पारस ट्वान्टी–२० क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। यस्तै दोस्रो इनिङ्समा शतक प्रहार गर्ने विश्वको पहिलो कप्तान बन्दा पारस सर्वाधिक छक्का प्रहार गर्ने विश्वका तेस्रो कप्तान भए। यसअघि अस्ट्रेलियाका आरोन फिन्च र भारतका रोहित शर्माले समान १०÷१० छक्का प्रहार गरेका थिए।

यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा जिम्बाब्वेविरुद्ध ५ विकेटले पराजित नेपालले आयोजकविरुद्ध निकालेको जितसँगै शृंखलामा पहिलो जित दर्ता गराएको छ। दुई खेलबाट २ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ। यता पहिलो खेलमा नेपाललाई पराजित गर्दै विजयी सुरुआत गरेको जिम्बाब्वे समान २ अंकका साथ रनरेटमा माथि रहँदै शीर्ष स्थानमा छ। सिंगापुर भने पहिलो खेलमा पराजित हुँदा अंकविहीन छ।

नेपाललाई आतिथ्य गर्दै शृंखला सुरुआत गरेको आयोजक सिंगापुरले यसअघि टस जितेर पहिला ब्याटिङ गर्दा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो। नेपालसामु मध्यम योगफल तयार पार्न कप्तान टिम डेभिडले अर्धशतक बनाए। ४४ बलको सामना गरेका डेभिड ४ छक्का  र  ३ चौकाको मद्दतमा ६४ रनमा नटआउट रहे। यस्तै उनलाई साथ दिएका जनक प्रकाश २५ रनमा नटआउट रहँदा ओपनर रोहन रंगराजन ६ रनमै पवेलियन फर्किएका थिए। अर्का ओपनर सुरेन्द्रन चन्द्रमोहनले ३५ रनको पारी खेल्दा मनप्रीत सिंह १५ रनमा बलर करण केसीको एलबिडब्लु धरापमा परे।

२२ रन जोड्दा पहिलो विकेट गुमाएको सिंगापुरले ५७ रनमा दोस्रो र १ सय २ रनमा तेस्रो विकेट गुमाएको थियो। बलिङमा मध्यम प्रदर्शन गरेको नेपालका लागि करण केसीले सर्वाधिक २ विकेट हात पार्दा ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका सुशन भारीले एक विकेट हात पारे। यस्तै सिंगापुरका तीन खेलाडीले डेब्यु गरे।

सिंगापुर, जिम्बाब्वे र नेपाल सम्मिलित शृंखलाको पहिलो खेलमा पराजित  नेपालले शृंखलाको आफ्नो तेस्रो खेल मंगलबार जिम्बाब्वेसँग खेल्नेछ। शृंखलामा आइतबार आयोजक सिंगापुर र जिम्बाब्वे आमनेसामने हुनेछन्। दोस्रो इनिङ्समा शतक प्रहार गर्ने विश्वको पहिलो कप्तान बन्दा पारस सर्वाधिक छक्का प्रहार गर्ने विश्वका तेस्रो कप्तान भए। यसअघि अस्ट्रेलियाका आरोन फिन्च र भारतका रोहित शर्माले समान १०/१० छक्का प्रहार गरेका थिए।

प्रकाशित: १२ आश्विन २०७६ ०१:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App