१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्सेली रसायन कारखानामा बिस्फोट

फ्रान्स- फ्रान्सको उत्तरी क्षेत्र केएन नगरको एउटा रसायनिक कारखानामा भएको भिषण आगलागी शुक्रबार नियन्त्रणमा आएको छ। आगलागीका कारण निस्केको प्रदूषित मुस्लो धुँवाका कारण नगर क्षेत्रका विद्यालयहरु पनि बन्द गरिएको थियो।     
     
लुब्रिजोल कम्पनीको स्वामित्वमा रहेको रसायन कारखानाको गोदाममा बिहीबार बिहान २ बजेर ३० मिनेटमा ठूलो आवाज सहितको विस्फोटन पश्चात आगलागी भएको थियो। यो कारखाना अमेरिकी खर्बपति व्यापारी वारेन बफेटको स्वामित्वमा रहेको छ।     
     
आगलागीका कारण कारखानामा कार्यरत कोही पनि कर्मचारी घाइते नभएको अग्नि नियन्त्रकहरुले जनाएका छन्। कारखानाबाट निस्केको धुँवा झण्डै २२ किलोमिटर टाढासम्म फैलिएको थियो। अग्नि नियन्त्रक विभागका प्रवक्ता क्रिस चिसलार्डले कारखानाको मुख्य आगो नियन्त्रणमा आए पनि अझै कारखाना वरपर नमिठो दुर्गन्ध फैलिइरहेको बताए।    

आगो निभाउन २ सयभन्दा बढी अग्नि नियन्त्रकहरु खटाइएको थियो। यो कारखाना नगर क्षेत्रबाट नजिकै रहेकाले पनि त्यसको असर नगरबासीमा पर्ने चिन्ता व्यक्त गरिएको छ। लुब्रिजोल कम्पनीले आगलागीबाट उद्योगको गोदामघर, प्रशासनिक भवन समेत पूर्ण रुपमा जलेको जनाएको छ। आगलागीको कारण भने अझै खुलेको छैन।  

कम्पनीले नगरबासीलाई फलफूल वा तरकारीलाई राम्रोसँग पखालेर मात्र खान अनुरोध गरेको छ। फ्रान्सेली अभियोजनकर्ताहरुले कारखानाको आगलागीका बारेमा अनुसन्धान शुरु गरेका छन्। रासस

प्रकाशित: १० आश्विन २०७६ १०:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App