१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दल र दाताको छाँयामा नागरिक समाज

रोल्पा सदरमुकाम लिवाङ।

रोल्पा - रोल्पामा नागरिक समाजको भूमिका कमजोर देखिएको छ। द्वन्दकालिन अवस्थामा निक्कै सक्रिय नागरिक समाजका गतिविधि शान्ति प्रक्रियाएपछि सेलाउँदै गएका हुन्। पछिल्लो समय नागरिक समाज निष्क्रियजस्तै भएको गुनासो आउन थालेको छ।

जिल्लाका विभिन्न क्षेत्रमा भएका आर्थिक अनियमितता र बेथितिकाबारेमा आवाज उठ्नै छाडेको कतिपयको ठम्याइ छ। नागरिक समाजले खबरदारीका आवाज उठाउन छोडेपछि बेथिति झन् मौलाएको छ। विदेशी दाताको सहयोगको प्रभावमा परेर नागरिक समाज कमजोर भएको कतिपयको ठहर भने राजनीतिक छाँयाका कारण पनि कमजोर हुँदै गएको टिप्पणी समेत हुन थालेको छ।

एनजिओ र आइएनजियोले दिने विदेशी डलरको प्रभावले पनि नागरिक समाजको भूमिका कमजोर भएको आरोप लाग्ने गरेको छ। ‘प्रतिपक्ष कमजोर भएकोबेला नागरिक समाज शसक्त हुनुपर्ने हो। तर त्यस्तो भएन।’ पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने भन्छन्, ‘राज्य र निजी क्षेत्रको एकाधिकार छ। नागरिक समाजको भूमिका झन् कमजोर देखिएको छ।’

‘एनजिओका कार्यक्रम हुँदासम्म नागरिक समाज पनि सक्रिय, दाताको सहयोग सकिएपछि उनीहरु पनि निष्क्रिए।’ विभिन्न संचार माध्यमले सतहमा ल्याएका तथ्यगत समाचारप्रति समेत नागरिक समाज बेखबर जस्तै बन्न थालेको छ। ‘अहिले आवस्यकता झनै बढी छ। नागरिक समाज जिल्ला र स्थानीय तहमा शसक्क्त रुपले देखिनु पर्ने हो। पाका पत्रकार काशिराम डागी भन्छन् ‘एनजिओले ओझेल पारेकोभन्दा प्रभावितनै पारेको छ। मौलिक हकका बारेमा सचेतना दिनुपर्ने हो। चाडपर्र्व आउदै छ, कालो बजारीमा ध्यान दिनुपर्ने हो। तर नागरिक समाजले बिगतदेखिनै जनताप्रति उत्तरदायी भएर काम गरेको देखिएन।’

तर नागरिक समाजका अगुवा भने आफूहरुको भूमिका कमजोर नभएको दाबी गर्छन्। पहिले र अहिले पनि आफूहरुले खबरदारी गरिनै रहेको दाबी गर्छन्, नागरिक समाज रोल्पाका संयोजक घनस्याम आचार्य।

‘कमजोर भएको होइन भूमिका परिवर्तन बरु भएको छ। त्यो बेला बाच्न पाउनुपर्छभन्दै कराइन्थ्यो। ऋहिले त्यो अवस्था रहेन। मौलिक हकका बारेमा ध्यान केन्द्रीत गर्ने गरेका छौ।’ आचार्य भन्छन्। ‘आज पनि आवाज उठेको छ। तर अहिलेका शक्तिले हाम्रो आवस्यकतानै महसुस गर्दैनन्। सकेसम्म नबोलिदिए हुन्थ्यो जस्तो गर्छन्।’ त्यसको केही प्रभाव परेको हुनसक्छ।

प्रकाशित: १० आश्विन २०७६ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App