१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

व्यापारघाटा नियाल्दा

आयातभन्दा निर्यात कम भएको अवस्थालाई व्यापारघाटा भनिन्छ। व्यापार घाटा नेपालको वैदेशिक व्यापारको विशेषता नै हो। तथापि अहिले यो  थप चापमा देखिन्छ। विशेषगरी वैदेशिक रोजगारी र विप्रेषणका कारण नागरिकको व्रmयशक्ति बढेकाले उपभोग्य सामग्री र विलासिताका वस्तुको माग उच्चरूपले वृद्धि भएको छ। तर त्यसलाई धान्न आन्तरिक उत्पादन बढ्न सकेको छैन। कृषि क्षेत्रमा काम गर्नसक्ने युवा जनशक्ति वैदेशिक रोजगारीमा जानाले ग्रामीण क्षेत्रका कृषियोग्य जमिन बाँझै रहनु, कृषि क्षेत्रलाई यान्त्रिकीकरण, औद्योगिकीकरण र व्यावसायीकरण गर्ननसक्दा यसको उत्पादन र उत्पादकत्व न्यून भई कृषिजन्य वस्तुको समेत आयात उल्लेख्यरूपले बढेको छ।

विप्रेषणले धानुन्जेल व्यापारघाटा भए पनि त्यति समस्या नदेखिएला तर विप्रेषण विदेशी मुद्रा आर्जनको दिगो र भरपर्दो स्रोत होइन।

आफूले उत्पादन गर्न सकिने खाद्यान्नलगायतका उपभोग्य वस्तु पनि आयात गर्ने प्रवृत्ति बढ्नु, खनिज ऊर्जाको बढ्दो आयातलाई प्रतिस्थापन गर्ने गरी वैकल्पिक ऊर्जा उत्पादन गर्न नसक्नु, उत्पादन शृंखलामा अग्र र पृष्ठ सम्बन्ध विकास गर्ननसकिनु, औद्योगिक लगानीमा भन्दा आयात व्यापारमा व्यावसायिक आकर्षण बढ्दै जानु, आयात व्यवस्थापन गर्न कानुनी व्यवस्था तथा नियमक क्षमता कमजोर हुनु आदि कारणले हाल नेपालको आयात व्यापार उल्लेख्यरूपमा बढेर गएको छ।विप्रेषणबाट प्राप्त विदेशी मुद्राले धानुन्जेल व्यापारघाटा भए पनि त्यति समस्या नदेखिएलातर विप्रेषण विदेशी मुद्रा आर्जनको दिगो र भरपर्दो स्रोत होइन। तथापि, नेपालको विदेशी मुद्रा आर्जन उल्लेख्य अंश विप्रेषणकै छ। विश्वव्यापी आर्थिक सुस्तीको प्रभावस्वरूप वैदेशिक रोजगारी र विप्रेषण आप्रवाहमा समेत कमी आउन थाले यसले नेपालको आयात व्यापारलाई धान्न निश्चय नै कठिन देखिन्छ।

निर्यात क्षेत्रको सुस्त र कमजोर प्रगति अर्को चुनौती छ। निर्यातमा कच्चा पदार्थ, प्राथमिक वस्तु र अर्धप्रशोधित वस्तुको मात्रा बढी हुनु, व्यापार तथा पारवहन लागत उच्च हुनु, द्विपक्षीय र बहुपक्षीय व्यापार सम्झौताबाट उल्लेख्य फाइदा लिन नसक्नु, उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गरी व्यापार क्षेत्रमा संरचनागत परिवर्तन गर्ननसक्नु, नेपाल व्यापार एकीकृत रणनीति, २०७३ ले पहिचान गरेका वस्तु तथा सेवाको उत्पादन र निकासी वृद्धि गर्न नसकिनु, निर्यात गरिने वस्तुको देशगत र वस्तुगत विविधीकरण तथा वस्तुको प्रमाणीकरण, लेबलिङ, ब्रान्डिङ गरी गुणस्तरीयता अभिवृद्धि गर्ननसक्नु, व्यापार कूटनीतिको उपयोग गरी प्राप्त बजार पहुँचको सुविधा उल्लेख्यरूपमा उपयोग गर्ननसक्नु निर्यात कमजोर हुनुका मुख्य कारण छन्। आयातको ठूलो आयतन र वृद्धि तर निर्यातको तुलनात्मकरूपमा अत्यन्त सानो आयतन र सोही आधारको सानो वृद्धिका कारण नेपालको वैदेशिक व्यापार दिनानुदिन घाटामा जाने व्रmम बढिरहेको छ। बढ्दो व्यापार घाटाले चालु खाता र शोधनान्तर घाटा पनि उल्लेख्यरूपमा बढेको छ। व्यापार असन्तुलन कसरी घटाउने भन्नेतर्फ तत्काल उपयुक्त कदम चाल्नु अपरिहार्य भइसकेको छ।

अहिलेको अवस्थामा नेपालले व्यापारघाटा कम गर्न चाल्नुपर्ने मुख्य कदम भनेको आयातमुखी उपभोगमा कमी र निर्यातमा प्रवद्र्धनको प्रयास नै हो।

अब के गर्ने ?
अहिलेको अवस्थामा नेपालले व्यापारघाटा कम गर्न चाल्नुपर्ने मुख्य कदम भनेको आयातमुखी उपभोगमा कमी र निर्यातमा प्रवद्र्धनको प्रयास नै हो। हामी कुल गार्हस्थ्य उत्पादनको ८० प्रतिशत उपभोग गछौँ। त्यो पनि अधिकांश आयातबाट। दैनिक उपभोग्य वस्तुदेखि विलासिताका वस्तुहरूको आपूर्ति आयातमार्फत हुनेगरेको छ। छिमेकी मुलुकलगायत अन्य मुलुकका वस्तुले बजारमा आधिपत्य जमाएका छन्। यसमा नेपालीको विदेशी वस्तुप्रतिको मोह र त्यसलाई समर्थन गर्ने विप्रेषण पनि जिम्मेवार छ। आर्थिक वर्ष २०७५÷७६ मा रु. २१३ अर्ब ३६ करोडको पेट्रोलियम पदार्थ, रु. ९७ अर्ब ५२ करोडको सवारी साधन, रु. ३४ अर्ब ६३ करोडको सुन र  रु.३२ अर्ब २२ करोडको चामल आयात भएको छ। पुँजीगत र उत्पादक वस्तुहरूको आयात बढ्नुलाई धेरै हदसम्म सकारात्मकरूपमा नै लिनुपर्छ। तर मुलुकमा उपभोग्य र विलासिताका वस्तुको आयात धेरै हुनुले मुलुकभित्र उद्यमशीलता बढ्न नसकेको संकेत गर्छ। जसले निर्यातको झिनो संरचना र आकार एवम् बढ्दो व्यापारघाटालाई पनि पुष्टि गर्छ।

आयातको स्थिति यस्तो छ भने निर्यातको स्थिति सन्तोषजनक छैन। विश्व व्यापार संगठन, दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र तथा बिमस्टेक जस्ता आर्थिक समूहमा प्रवेशपश्चात् नेपालको बजार पहुँच बिस्तार भएतापनि मुलुकको धरातल, हावापानी, वनस्पतिजन्य विविधताबाट प्राप्त उत्पादनका स्रोत र साधनसँग उचित प्रविधि, दक्ष जनशक्ति एवम् लगानीको संयोजन गरी निर्यात प्रवद्र्धन गर्न सकिएको छैन। गलैँचा, पस्मिना, तयारी पोशाक, दाल, हस्तकला, सुन÷चाँदीका गरगहना र जडीबुटी जस्ता केही सीमित वस्तुमा केन्द्रित छ निर्यात। त्यही पनि हालको अवस्थामा सन्तोषजनक छैन। स्वतन्त्र व्यापार अवधारणा र खुला बजार अर्थनीतिको अवलम्बन गरेयता नेपालको आयात उल्लेख्य बढेको तर निर्यात प्रवद्र्धन गर्न सिप, क्षमता, कौशल, रणनीति र प्रयास अपर्याप्त देखिएकाले व्यापारघाटा बढेको छ।

यस्तो अवस्थामा व्यापारघाटा घटाउन सर्वप्रथम त पेट्रोलियम पदार्थ, सवारी साधन, सुन र चामलको आयातमा कमी ल्याउनु आवश्यक छ। मेसिनरी, पार्टपुर्जालगायत औद्योगिक कच्चापदार्थको आयातलाई चाहिँ उद्यमशीलता प्रवद्र्धन र निर्यात अभिवृद्धिका आधारको रूपमा लिनुपर्छ। तत्कालमा सार्वजनिक यातायातलाई सर्वसुलभ र सहज बनाएर त्यसप्रति सर्वसाधारणको आकर्षण बढाई निजी सवारी आयात नियन्त्रण गर्नु जरुरी छ। यसले गाडी, गाडीका पार्टपुर्जा र पेट्रोलियम पदार्थ सबैको आयात कम गर्छ। साइकल प्रयोगमा जोड, फराकिलो, कम्तीमा छ लेनको सडक फ्लाइओभर सडक तथा आकाशेपुलको व्यवस्था पर्याप्त हुने हो भने पनि सवारी जाम कम भई पेट्रोलको खपत र आयात कम हुन्छ। सुनको आयात पनि अझ व्यवस्थित बनाउनु आवश्यक छ। चामल आयातको अवस्था हेर्दा अत्यासलाग्दो देखिन्छ। मुलुकको कुल गार्हस्थ्य उत्पादनको २७प्रतिशत हिस्सा ओगटेको कृषि क्षेत्रको व्यावसायीकरण र आधुनिकीकरण गर्नसके चामललगायत खाद्यान्न आयातमा कमी आउँछ। जमिनको वैज्ञानिकतवरले वर्गीकरण गर्ने, अन्न उब्जनी हुने जमिनमा पक्की घर बनाउन नदिने, प्लटिङ गर्न नदिने, जग्गा बाँझो राख्न नदिने, एक गेडो भए पनि आफ्नो खाली बारीमा अन्न उब्जाउने जनचेतना अभिवृद्धि गर्ने, यथासम्भव, स्वदेशी वस्तुको उपभोगमा जोड दिने, विप्रेषणलाई विलासी वस्तुको उपभोगमा भन्दा लगानीजन्य व्रिmयाकलापमा प्रयोग गर्नमा जनचेतना अभिवृद्धि गर्ने, वैदेशिक रोजगारीमा जाने युवालाई स्वदेशमै टिकाइ आधुनिक कृषितर्फ आकर्षित हुने वातावरण सिर्जना गर्नु आवश्यक छ।

अर्कोतर्फ भात नै खानुपर्छ भन्ने आदतमा पनि परिवर्तन गरेर मुलुकभित्र धेरै उत्पादन हुने गहुँ, मकै, कोदो आदि खाने आदत पनि बसाउनु आवश्यक छ। वास्तवमा पौष्टिक तत्व र तागत पनि यिनैमा बढी हुन्छ। हाम्रो सामाजिक संरचनाका कारण टुक्राटुक्रा भएका जमिनमा निर्वाहमुखी खेती प्रणालीमा अल्झिनुभन्दा सबै जग्गा लिजमा लिएर ठूलो फाँट बनाएर व्यावसायिक खेती गर्न सक्दा त्यसले उत्पादन र रोजगारी दुवै बढाउँछ। साथै, भौगोलिक क्षेत्रअनुसारको खेती, बगर खेती, बेमौसमी खेती, जडीबुटी उत्पादन, पशुपालन, नगदेवाली आदि उत्पादन गर्नसकिन्छ। यसका लागि कृषकलाई सुलभ ऋण, अनुदान, बाली बिमा, रोगकीराको रोकथामसम्बन्धी तालिम, उन्नत बीउ, मल, कृषि सडक, शीतभण्डार, बजार र न्यूनतम समर्थन मूल्यको व्यवस्था भने हुनु आवश्यक छ।

अल्पकालमा स्थानीय श्रम, सिप, कृषिजन्य कच्चा पदार्थ प्रयोग गर्ने घरेलु तथा साना उद्योग स्थापना र प्रवद्र्धनबाट पनि आन्तरिक उपभोग र निर्यात बढाउन सकिन्छ। कोरा जडीबुटी निर्यात गर्नुभन्दा त्यसलाई प्रशोधन गरेर औषधिका रूपमा निर्यात गर्न सके त्यसबाट तुलनात्मकरूपमा बढी आय प्राप्त गर्नसकिन्छ। त्यस्तै आवश्यक पार्टपुर्जा भारतबाट आयात गरेर भए पनि दैनिक उपभोग्य कतिपय वस्तुको उत्पादन देशभित्रै गर्न सुरु गर्नु अब जरुरी भइसकेको छ। खनिज ऊर्जाको विकल्पहरूको पनि स्वदेशमा नै खोजी हुनु आवश्यक भइसकेको छ। तुलनात्मक लाभ भएको अर्को क्षेत्र भनेको पर्यटन हो। यसका लागि पूर्वाधार विकास  र नेपाली पर्यटनको प्रचारप्रसारमा जोड दिनु आवश्यक छ।

सरकारले नियामक र उत्प्रेरक भई निजी क्षेत्रलाई उद्योग एवं व्यापारमा सक्रिय बनाउनु आवश्यक छ। बौद्धिक सम्पत्ति अधिकार संरक्षण गरी अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच अभिवृद्धि , तुलनात्मक लाभका वस्तु पहिचान र छनोट, वस्तु तथा सेवा व्यापारसँग सम्बन्धित नीतिगत, संस्थागत र भौतिक संरचनाको विकास र सुधार पनि जरुरी छ। निर्यातमूलक उद्योगलाई चाहिने औद्योगिक मेसिनरी, कच्चा पदार्थ आदिको आयात प्रक्रिया सरलीकरण, द्विपक्षीय, क्षेत्रीय, बहुपक्षीय व्यापार सन्धिबाट सिर्जित अवसरहरूको उपयोग, स्वदेशी तथा विदेशी लगानी आकर्षण, विशेष आर्थिक क्षेत्रहरूको विकास, परम्परागत सिप, कलाकौशल प्रयोग गरी निकासीजन्य वस्तु उत्पादन गर्न सकिन्छ। यसका लागि औद्योगिक ग्रामहरू विकास, निर्यात व्यापारको क्षेत्रगत एवं वस्तुगत विविधीकरण, वित्तीय,मौद्रिक, विदेशी लगानी, औद्योगिक, कृषि, वन, भौतिक पूर्वाधार आदि नीति र वाणिज्य नीतिबीच अग्र, पृष्ठ र समानान्तर अन्तरसम्बन्ध विकास जस्ता प्रयास निर्यात अभिवृद्धिका लागि आवश्यक छन्।

त्यसैगरी उत्पादन हुने वस्तुको गुणस्तर सुधार, बालश्रम प्रयोग नभएको सुनिश्चितता, वस्तु अनुसन्धान र विकासमा जोड, सहज करफिर्ता व्यवस्था, प्रभावकारी सूचना प्रणाली, कुशल व्यापार कूटनीतिको प्रयोग, भन्सार प्रक्रिया र क्वारेन्टाइन जाँच प्रक्रिंयामा सरलीकरण, सुक्खा बन्दरगाहको व्यवस्था, तार्किक क्षमतायुक्त प्राविधिक जनशक्ति, हड्ताल र बन्द अन्त्य, दिगो सुमधुर श्रमसम्बन्ध, आयात व्यापारमा भन्दा औद्योगिक लगानीमा व्यावसायिक आकर्षण बढाउनमा जोड जस्ताप्रयासबाट निर्यात व्यापार प्रवद्र्धन गरी हालको व्यापारघाटा सुधार गर्नसकिन्छ। कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

प्रकाशित: १० आश्विन २०७६ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App