१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाली दूतावासले किन्यो बैंककमा घर

काठमाडौं- थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले १५ करोड थाई भाट (करिब ४५ करोड नेपाली रुपैयाँ) मा आफ्नो नाममा घरजग्गा खरिद गरेको छ। बैंककको सुकुम्भित रोड–७१ को २७ नम्बरमा सानाठूला तीनवटा घरसहितको पौने चार रोपनी जग्गा दूतावासले खरिद गरेको हो। बुधबार उक्त जग्गा नेपाली दूतावासको नाममा स्वामित्व हस्तान्तरण गरिएको छ।

'कम्पाउन्डमा रहेका घरमध्ये दुईतले मुख्य घरमा दूतावासको कार्यालय स्थापना गर्ने, एउटा सानो एक तले घरमा भिसा कार्यालय बनाउने,' बैंककस्थित नेपाली दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ, 'अर्को घरमा एक जना कूटनीतिक कर्मचारीको निवास बनाउने योजना छ। यसबाट दूतावास आफ्नै भवनमा सञ्चालन हुने तथा घरभाडाबापत नेपाल सरकारले व्यहोर्दै आएको व्ययभार पनि कम हुने भएको छ।'

घर जग्गामा रंगरोगन गरी दूतावासको आवश्यकताअनुसार संरचना मिलाएर सकेसम्म छिटो कार्यालय सार्ने योजना गरहेको विज्ञप्तिमा जनाइएको छ। 'स्थापना भएदेखि नै दूतावास भाडाको घरमा बस्दै आएको छ, हाल अहिले बसेको घर अत्यन्त जीर्ण रहेको तथा दूतावासलगायत सबै कूटनीतिक कर्मचारीका निवाससमेत भाडामा लिइएकाले आफ्नै भवन खरिद गरिएको थियो,' विज्ञप्तिमा घरजग्गा खरिद गर्नुको कारण खुलाइएको छ।

घरजग्गा खरिदपछि दूतावासले घरभाडा व्ययभार कम हुने बताए पनि परराष्ट्र मन्त्रालय स्रोतका अनुसार तत्काल व्ययभार घट्दैन। बैंककस्थित दूतावास भवनको भाडास्वरुप सरकारले वार्षिक ६२ लाख रूपैयाँ बुझाउँदै आएको छ। हाल दूतावास रहेको भवनलाई राजदूतनिवासको रूपमा प्रयोग गरिने हुँदा व्ययभार नघट्ने दाबी स्रोतको छ।

प्रकाशित: १६ असार २०७३ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App