१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दर्ता दस्तुर छुटपछि महिला उद्यमी बढे

लहान– घरको काममा सीमित रहँदै आउनुभएकी सिरहाको नवराजपुर–४ की सरिता कुमारी यादव यतिबेला गाउँ नजीकैको चौकमा जनरल स्टोर्स सञ्चालन गर्न थालेकिछिन्।

 गत साउन २५ गते घरेलु तथा साना उद्योग कार्यालय लहानमा सरिता जनरल स्टोर्स दर्ता गराएकी सरिता यतिबेला असल गृहणीसँगै सफल व्यापारी पनि बन्ने अभियान छिन्। 

शुरुमा श्रीमानलाई सञ्चालक बनाएर जनरल स्टोर्स दर्ता गराउने उनको सोच थियो । सरकारले दिएको छुट सुविधाका कारण आफ्नै नाममा व्यवसाय दर्ता गराएको उनले बताईन। 

कल्याणपुर नगरपालिका–७ की शोभा मण्डल पनि यतिबेला आफ्नै नाममा फेन्सी स्टोर्स दर्ता गराएर कल्याणपुर बजारमा व्यवसाय चलाउँदै  आएकी छिन्।  सरिता र शोभा मात्रै होइन, सरकारले उद्योग र व्यवसाय दर्ता दस्तुरमा महिलालाई छुट दिएपछि सिरहामा महिला व्यवसायीको सङ्ख्या बढ्दै गएको छ।

कुनैबेला महिलालाई सञ्चालक बनाएर उद्योग दर्ता गराउने सङ्ख्या न्यून रहेको यस जिल्लामा विगत केही महिना यता महिलालाई नै मुख्य सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेर गएको छ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरी महिला सञ्चालक भएको १ करोड रुपैयाँ पुँजी रहेको  उद्योग व्यवसाय दर्तामा २०० रुपैयाँ मात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि सिरहामा प्रायः महिलालाई सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र यादवले बताए। 

उनका अनुसार अचेल यहाँ दैनिक १५० देखि २०० वटासम्म नयाँ उद्योग व्यापार दर्ता हुने गरेको छ जसमा करीब ९० प्रतिशत महिलाकै नाममा दर्ता हुने गरेको छ। पुरुषको नाममा उद्योग व्यापार दर्ता गराउँदा बढी दस्तुर तिर्नुपर्छ। त्यही व्यापार पुरुषको नाममा दर्ता गर्न चाहे २५ हजार रुपैयाँसम्म दर्ता बापत दस्तुर लाग्छ। 

घरेलु तथा साना उद्योग कार्यालय लहानका अनुसार आर्थिक वर्ष २०७६÷७७ को दुई महिनाको अवधिमा सिरहामा ४९२ नयाँ व्यावसायिक फर्म दर्ता भएका छन् जसमध्ये ३५९ व्यवसायका मालिक महिला नै छन्। बाँकीको सञ्चालक पुरुष रहेको यादवले जानकारी दिए।

यस्तै, सो अवधिमा सिरहामा दर्ता भएका १५४ उद्योगमध्ये १०५ वटाको मालिक अर्थात् सञ्चालक महिला छन् भने ५८ वटाको मात्र पुरुष रहेका छन्। नयाँ दर्ता भएका व्यवसायतर्फ  अधिकाँश जनरल स्टोर्सहरु रहेका छन् भने उद्योगतर्फ अधिकाँश कृषि, त्यसमा पनि माछा तथा पशुपालन बढी रहेका छन्।  

यी आँकडाले पछिल्लो समय महिलालाई उद्योग व्यवसायको मालिक बनाउने क्रम बढेको पुष्टि गर्छ। सरकारले महिलाको नाममा दर्ता हुने उद्योग व्यवसायलाई दस्तुरमा छुट दिनु, स्थानीय प्रशासनले पनि उद्योग व्यवसायी दर्तामा कडाइ गर्नु र बैंक तथा वित्तीय संस्थाहरुले उद्योग व्यवसायलाई ऋण लिने प्रक्रिया सहज बनाइदिएका कारण पनि यस्ता घरेलु तथा साना उद्योग दर्ता गराउने क्रम बढेको हो।

विगतमा महिलालाई उद्योग व्यापारको मालिक बनाउनु हुँदैन भन्ने मानसिकता व्याप्त थियो तर, अहिले त्यो मानसिकता हट्दै गएकाले महिलालाई मालिक बनाउन थालिएको स्थानीय बुद्धिजीवीहरु बताउँछन्।  रासस

प्रकाशित: ९ आश्विन २०७६ ०९:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App