१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको विशाल नयाँ ‘स्टारफिस’ विमानस्थल सुचारु

चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार उद्घाटन गरेको बेइजिङस्थित विशाल विमानस्थल। तस्बिर: एजेन्सी

बेइजिङ – चीनको राजधानी बेइजिङमा ११ अर्ब अमेरिकी डलर खर्च गरेर बनाइएको विमानस्थल सञ्चालनमा आएको छ। जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति सी चिनफिङले बेइजिङस्थित डासिङ अन्तर्राष्ट्रिय विमानस्थलको बुधबार औपचारिक उद्घाटन गरेसँगै विमानस्थल सञ्चालनमा आएको हो।

सो विमानस्थल झन्डै सात लाख वर्ग मिटर क्षेत्रमा फैलिएको राज्य सञ्चालित सञ्चारमाध्यम ‘चाइना डेली’ले जनाएको छ। डासिङ विमानस्थल ९८ वटा फुटबल मैदानजत्रै रहेको बताइएको छ। एयरपोर्ट काउन्सिलका अनुसार बेइजिङको पुरानो विमानस्थल विश्वकै दोस्रो अतिव्यस्त विमानस्थल हो। संयुक्त राज्य अमेरिकाको एट्लान्टा विमानस्थल व्यस्त विमानस्थलको सूचीमा शीर्ष स्थानमा रहेको छ।

व्यस्तताको हिसाबले विश्वकै दोस्रो बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा यात्री र विमानहरुको चाप बढेकाले नयाँ विमानस्थलको आवश्यकता भएको चीनका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। राष्ट्रपति सीले बुधबार उद्घाटन गरेको डासिङ विमानस्थलको एउटै भवनमा संसारकै सबैभन्दा ठूलो टर्मिनल रहेको बताइएको छ।

यो विमानस्थल हुँदै सन् २०२५ भित्र १७ करोड यात्रु बेइजिङ आउने अपेक्षा चीनले गरिएको छ। नयाँ विमानस्थलबाट बुधबारदेखि नै सातवटा आन्तरिक विमानसेवाले उडान सुरु गर्ने राज्य सञ्चालित समाचार एजेन्सी ‘ग्लोबल टाइम्स’ले जनाएको छ। विमानस्थलबाट ‘चाइना साउदर्न एयरलाइन्स ए३८०’ ले पहिलो उडान भरेको थियो। स्थानीय समयअनुसार दिउँसो चार बजेर २३ मिनेटमा सो विमानले डासिङ विमानस्थलबाट उडेको थियो।

ब्रिटिस एयरवेज, क्याथे प्यासिफिक, फिनएअर र अन्य अन्तर्राष्ट्रिय विमानसेवाले पनि डासिङमा आफ्नो विमान चलाउने घोषणा गरिसकेका छन्। तियानानमेन स्क्वायरबाट करिब ४६ किलोमिटर दक्षिणमा रहेको नयाँ विमानस्थलको नमुना प्रसिद्ध वास्तुविद् जाहा हादिदले बनाएका हुन्।

डासिङ विमानस्थल सञ्चालनमा आएपछि बेइजिङमा पनि न्युयोर्क र लन्डनमा जस्तै दुईवटा ठूला अन्तर्राष्ट्रिय विमानस्थल भएका छन्। सन् १९५८ मा खुलेको बेइजिङ क्यापिटल विमानस्थललाई हालसम्म १० करोडभन्दा बढी मानिसले प्रयोग गरिसकेका छन्।

प्रकाशित: ९ आश्विन २०७६ ०३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App