१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बामदेव गौतमले नेकपा कमजोर भएको सावित गरिसकेः नेता पौडेल

दाङ– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका नेता बामदेव गौतमले सत्तारुढ नेकपा कमजोर भैसकेको सावित गरिदिएको बताएका छन्। 

नेपाल प्रेस युनियन दाङले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले उपनिर्वाचनमा नेकपाका नेता गौतमले हारिने डरले चुनाव लड्दैन भन्नु नेकपा कमजोर भएको बलियो प्रमाण भएको बताए। ‘बामदेव गौतम जस्तो नेताले उपचुनाव लड्दैन, मैले चुनाव हार्छु भन्नु नेकपा धेरै कमजोर भैसकेको प्रमाण हो’, उनले भने, ‘सरकारले जनहितका पक्षमा काम नगर्दा आफ्नो पार्टी धेरै कमजोर भैसकेको बामदेवजीले बुझ्नु भएको रहेछ।’ 

प्रतिनिधिसभा सदस्यका लागि रिक्त रहेको कास्कीमा आफू चुनाव लडे हार व्यहोर्ने भन्दै नेकपा नेता गौतमले चुनाव नलड्ने घोषणा गरिसकेका छन्। गौतमको उक्त भनाईलाई इंगित गर्दै कांग्रेस नेता पौडेलले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी ओलीकै अगाडि आफू चुनाव लड्ैन भनेर बामदेवले भन्नु अध्यक्षद्वयकै लागि ठूलो चुनौती खडा भएको समेत बताए।

यस्तै, कास्कीमा काँग्रेसका तर्फबाट आफ्नो पनि चर्चा चलेको भन्दै नेता पौडेलले आफू मध्यावधिक निर्वाचन नलड्ने स्पष्ट समेत पारे। ‘म मध्यावधिक चुनाव लड्दैन, तर मेरो नामका बारेमा पनि चर्चा चलेको भन्ने सुनेको छु’, उनले भने ‘मेरो ध्यान अहिले चुनावमा छैन, कांग्रेसलाई कसरी बलियो बनाउने भन्ने सोँच मात्रै मेरो छ, यसर्थ म पार्टीलाई बलियो बनाउने दिशामा मात्रै केन्द्रीत छु।’

मुलुकको निकासको प्रमुख बाधकका रुपमा अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा देखिएको भन्दै नेता पौडेलले यसको असर उसलाई आगामी उपनिर्वाचनमै देखिने समेत बताए। ‘मुलुकको निकासको प्रमुख बाधकका रुपमा अहिलेको सरकार र सरकारको नेतृत्व गरेको नेकपा देखिए’, उनले भने, ‘यसैको परिणाम बामदेव गौतमले चुनाव हार्छु लड्दैन भनेका हुन्।’

सिद्धान्त परिवर्तन गर्दै आएका कम्युनिस्टहरुलाई केका आधारमा विश्वास गर्ने भन्दै उनले प्रश्न समेत गरे। ‘पटक पटक आफ्नो सिद्धान्तलाई फेर्दै आएका कम्युनिस्टहरु अहिले शी बादको सिद्धान्तमा पुगेका छन्’, उनले भने, ‘न बोलीको ठेगान छ, न सिद्धान्तको ठेगान छ, यस्तालाई जनताले कसरी विश्वास गर्ने? अहिले यो प्रश्न खडा भएको छ।’ 

यसैबीच उनले उपनिर्वाचनका लागि नोपली कांग्रेसले तयारी गरिरहेको बताए। चुनाव नहोलाकी भन्ने आशंका नगर्न आग्रह गर्दै उनले भने, ‘मंसिर १४ गतेका लागि निर्वाचन आयोगले उपनिर्वाचन घोषणा गरिसकेको छ, चुनाव हुन्छ, र कांग्रेसले उम्मेदवार चयनको प्रक्रियादेखि अन्य आन्तरिक तयारीहरु गरिरहेको छ।’ 

प्रकाशित: ८ आश्विन २०७६ १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App